मानिस र समय
गोविन्द लुइँटेल ‘यार’
ओहायो, अमेरिका
मानिस समयलाई जित्न
कहिले बेजोडले दौडिन्छ,
कहिले चुप लागेर ढुक्छ,
कहिले डाँडामा गएर चिच्याउँछ,
कहिले मज्जाले जिस्क्याउँछ
तर पनि समयले जितेको थाहा नपाएर
हार स्वीकार छ, समयले भने ऊमाथिको विजय
मनाउँदैन!
मानिस समयलाई घचेट्न
महत्वको गुणगान गाउँछ,
अरूलाई दोषी भन्दै फकाउँछ
सङ्गीत घन्काउँछ , गीत गुञ्जाउँछ
साथीलाई सराप्छ, ‘हजुरको जय होस’ भन्छ
तर पनि समयले कोसौँ छाडेको सुइँको नपाएर
आत्मसमर्पण गर्छ, समय भने उसको पूजा स्विकार्दैन
भक्तको भक्तिमा हौंसीदैन,
जिती रहन्छ, मान्छे हारिरहन्छ
युग युग सम्म
हो युग सम्म !!