मित्रहरू

कवि
कवि

खगेन्द्र गौतम
क्यानेडा

यता भाषा जलेर निस्किएको धुवाले आकाश ढाकिएको थियो
उता बिछोडको पीडामा झरेको आँसुले देश डुब्दै थियो
कतै पौरखी हातहरुमा नेल ठोकिँदै थियो
अनि काहीँ राष्ट्रप्रेमीहरु जिउँदै गाडिँदै थिए
यो हाम्रो देशको व्यवस्थाले दिएको पीडा हो
मित्रहरू!
जिउँदा आत्माहरु जमिनमुनिबाट चिच्याइरहँदा
आफन्तहरूलाई आतङ्कवादी बनाई सीमा कटाइँदै थियो
कयौँ दिनको थकित यात्रापछि,
लाखौँ नागरिकलाई खुला बगरमा शरणार्थी भनिँदै थियो
यो हाम्रो देशको व्यवस्थाले दिएको पीडा हो
मित्रहरू!
कुनै बेला गाँस, बास अनि कपास लुटिएको
भिखारीझैँ यो जिन्दगी,
कुट्दा कुट्दै सहन नसकी बेहोसिएको बन्दीझैँ थियो
रुँदारुँदै आँसु सुकेर थाकेको बालकझैँ थियो
यो हाम्रो देशको व्यवस्थाले दिएको पीडा हो
मित्रहरू!
त यता र त उता, त पहिला अनि ऊ पछाडि,
भनी अङ्ग्स बाडेझैँ,
आफ्ना सन्तानहरुको भागबन्डा हुँदा,
कति रोए होला ती आमाहरू
एउतै सन्तान कहिल्यै नभेटिनेगरी ,
सातै दिशा छरिँदा, कति तड्पिए होला ती मनहरू !
यो हाम्रो देशको व्यवस्थाले दिएको पीडा हो
मित्रहरू!

Leave a Reply

Your email address will not be published. Required fields are marked *