मुलुक विहीन विज्ञ
डा. तारालाल श्रेष्ठ
काठमाडौँ, नेपाल
जति टुटेफुटे पनि विपद्का बेला नेपाली जुट्छन् । सिस्टम कम तर बढी सद्भावले चलेको मुलुक हो, नेपाल । नेपाली भूमिमै बसोबास गर्नुपर्दैन । भूकम्पका बेला नेपालीपन र नेपालीमन भएका जोकोहीले विश्वभरबाट सहयोग गरे । विपद्मा सघाउने नेपाली संस्कार देखाए । पुनर्वासी भुटानी शरणार्थीले गरेको सहयोग र सद्भाव अर्को एउटा उल्लेखनीय नमुना उदाहरण हो ।
जब वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा प्रलय निम्त्यायो, तब तेस्रो मुलुक पुनर्वासी शरणार्थी पनि पुर्खाको भूमि नेपाललाई सक्दो सघाउन समर्पित देखियो । शरणार्थीको पहिचान बोकेर पुनर्वासी बन्न बाध्य एक लाख नेपाली भाषीको नेपालसँग विशिष्ट सम्बन्ध कायमै देखियो । विश्वका आठ राष्ट्रमा छरिएका शरणार्थीले भूकम्प पीडितलाई विभिन्न किसिमले सघाए । सक्नेहरु राहत र उद्दारका लागि नेपालमै आए । तीमध्ये अलि अलग एक नमुना जोडी हुन्, गोविन्द रिजाल र शान्ता कार्की । जसका आफ्नै विशिष्ट कथाव्यथा छन् ।
नेपालमा गएको भूकम्पले फिलिपिन्समा महाविद्यावारिधि अर्थात ‘पोस्टडक’ अनुसन्धानरत गोविन्द-शान्ताको जोडीलाई मानसिक आघात पाऱ्यो । अनुसन्धानमा मन केन्द्रितै भएन । तिनले आफू अनुसन्धानरत इन्स्टिच्युटमा एउटा राहत कोष खडा गरे । आफूले एक हजार डलरसहित अन्यबाट पनि रकम सङ्कलनमा उनीहरु जुटे । कृषि विज्ञ यी जोडीमध्ये गोविन्द रिजाल नेपाली भाषी भूटानी शरणार्थी हुन् । उनकी जीवनसाथी डा. शान्ता कार्की भने लमजुङकी नेपाली चेली हुन् । यद्यपि नेपालमा गएको भूकम्पले यी अर्ध नेपाली जोडी दुवैलाई उत्तिकै बेचैन बनायो । अन्ततः थप सहयोग गर्न सकिन्छ कि भनेर स्थलगत अध्ययन गर्न एकमहिने छुट्टी मिलाएर उनीहरु नेपाल आए ।
त्यस जोडीसँग एउटा लामो लिस्ट थियो । आठ राष्ट्रमा छरिएका शरणार्थीले विश्व बजारका अनगिन्ती स्थानबाट सहयोग गरेको देखियो । सिड्नी, अस्ट्रेलियाबाट ११७२७ डलर, एटलान्टा, जर्जियाबाट २६००० डलर, कैर्न अस्ट्रेलियाबाट ३४८१ डलर, न्यु हेमसायरबाट ४१३६ डलर, भुटानी ढुकढुकीबाट १८३३९ डलर, क्यानडाबाट १५८२५ डलर, केनटकीबाट ६०१६ डलर, भुटनिज हेल्पिङ ह्यान्डबाट १८७७१ डलर, ड्रुक एटलान्टिकबाट २७२० डलर, डेनमार्कबाट १३११० डीकेके, मेलबर्नबाट ५००० डलर, न्युजिल्यान्डबाट ६३८२ डलर, बेलायतबाट १६०००० रुपैयाँ, शनिश्चरे शिविरबाट २ लाख रुपैयाँ, साउथ अस्ट्रिेलियाबाट ६६६००० रुपैयाँ, छ वटा भुटानी संस्था अमेरिकाबाट १९ लाख रुपैयाँ सहयोग गरेको देखिन्छ । पुनर्वासित भुटानीहरुले भुटनिज् कम्युनिटी एसोसिएसनमार्फत ओहायो एक्रोनबाट मात्रै झन्डै ८ हजार डलर भूकम्पपीडितलाई आपत्कालीन सहयोग गरेको देखिन्छ । व्यक्तिगत सहयोग गर्नेको लिस्ट पनि लामै छ ।
शरणार्थी बसेका सबैजसो स्थानबाट सहयोग आएको देखिन्छ । अमेरिकाबाट मात्रै एक दर्जन टिमले सहयोग गरेको देखिन्छ । भौतिक रुपमै नेपालमा उपस्थित भएर कतिपय पुनर्वासी विज्ञहरुले सम्वेदनशील समयमा नेपालीलाई सघाए पनि । डा. लक्ष्मी ढकाल नेदरल्यान्डबाट नेपाल आए । एक हप्ताभन्दा बढी चिकित्सा सेवा दिएर उनी कर्मथलो फर्किए । उनी त्रिभुवन विश्वविद्यालय महाराजगञ्जबाट दीक्षित डाक्टर हुन् । साउथ अष्ट्रेलिया पुनर्वासी इच्छा पौडेलको टिमले भुकम्पपछि सिन्धुलीमा राम्रै सहयोग गर्दै छ । ५० जना बुवाआमा गुमाएका टुहुराहरुलाई प्रति वर्ष सय डलर सहयोग गरी कम्तिमा १० कक्षासम्म अध्ययन गराउन सघाउने अभियानमा छन् उनीहरु, पुन्य फाउन्डेसन संस्थामार्फत । भुटानी ढुकढुकी नामको संस्थाबाट आएको सहयोग पनि उल्लेख्य देखिन्छ ।
पुर्खाको भूमिलाई सघाउने पुनर्वासी शरणार्थी वा स्पष्ट परिचय विहीन पात्रका आफ्ना पीडा पनि होलान् । मलाई जिज्ञासा लाग्यो । भुटानी शरणार्थी इतिहास र विश्व बजारमा सङ्घर्षरत जीवनका अनेक आयाम उल्लेख गर्दै अन्ततः जीवनसाथी शान्तालाई साक्षी राखेर डा. गोविन्द रिजालले आफ्नो इतिहासको पोको फुकाए । गोंगबुको ग्लोबल क्याफेमा २०७२ साल जेष्ठ महिनाको अन्तिम शुक्रबारको साँझ भूकम्पले क्षतविक्षत घरहरुलाई पृष्ठभूमिमा राखेर उनले निजत्वले ओतप्रोत इतिहासको उत्खनन गर्न थाले ।
लेद्राई गेलेफु भूटानमा जन्मिएका रिजाल कक्षा ६ देखि माथि पढ्न त्यसबखत दुई दिन मोटर बाटो लाग्ने सिब्सु पुगे, भारत र भुटान पस्दै र निस्कँदै । सिब्सुमा ७ र ८ जुनियर हाइस्कुलसम्म पढेपछि थिम्पु पुगे, कक्षा ९ र १० पढ्न । अन्तमा ११ र १२ कक्षा पढ्न सेरप्ची कलेज पुगे । त्यसबखत भुटानमा त्यही एउटै मात्र कलेज थियो । अहिले त त्यो कलेज विश्वविद्यालय बनिसकेको छ, उनी भन्छन् । कक्षा १२ मा अध्ययनरत छँदा सन् १९९२ मा उनका बुवाआमा विस्थापित भए । कसैले खेतबारी जोत्यो भने त्यस परिवारले देश नछाड्ने रहेछ भनेर सुराकीको नजरमा परिहाल्थ्यो । यातनाको शृङ्खला सुरु भइहाल्थ्यो, उनी विगत सम्झँदै भावुक भए ।
उनका शब्दमा, उसबखत भुटानमा सबैको घरबारी पहिचान नम्बरमा हुन्थ्यो । उनको घर नम्बर थियो एलआर ९६, जग्गा नम्बर ७१३, जसलाई ठाम भनिन्थो । सम्पत्तिको पहिचान नम्बरमा दिइन्थ्यो । परीक्षा सकेपछि उनी घर पुग्दा उनको घर र जग्गा नम्बर जिरो भइसके छ । उनले डिस्ट्रिक अफिस गएर भुटानै बस्न पाऊ भनी नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) का लागि निवेदन दिए । तत्कालै उनले दुई विकल्प पाए, तुरुन्त देश छोड या एक हप्ताभित्र राजाबाटै भुटान बस्न अनुमति लिनु । राजाबाट एनओसी पाउने आस थिएन । गाउँबाट दरबार थिम्पु पुग्दा एक दर्जनभन्दा बढी ठाउँमा चेकिङ हुन्थ्यो । डकुमेन्ट केही छैन, ट्राभल परमिट पनि छैन । आफ्नो घर र जग्गाको नम्बरसमेत नभएपछि गाउँमा बस्ने कुरै भएन । अन्ततः अप्रिल २३, १९९३ मा उनी एक्लै फुन्चोलिङबाट लोकल बस चढेर निर्बासिए ।
एउटा बेडिङ, हाते ब्याग र टिनको बाकसमा किताबकपी बोकेर बाबुआमा खोज्दै उनी नेपाल आए । काँकडभिट्टा आएर रिक्सा चडे, बेलडाँगी जाने भन्दै । रिक्सावालाले एक फन्को घुमाए पछि मात्रै थाहा पाए कि बेलडाँगी काँकडभिट्टामा होइन, झापामा पर्छ । रिक्साबाट झरेर उनी बस चढे । बेलडाँगी आइपुगेर शिविरमा, साँझपख । हजारौँ शरणार्थीको भीडमा बुवाआमा खोज्न थाले । आफन्त कतै देखिएनन् । एक जना चिनेजानेका मानिस आँखामा परे, एक गाउँले, अन्तरे दाजु । उनले चर्पी खन्दै गरेका बुवाआमालाई देखाइदिए, भेटाइदिए । बीस वर्षे ठिटो उनी दुई वर्ष शिविरमा बरालिए । अन्ततः स्वदेश फर्क आन्दोलन उर्लियो । सबैले सेतो कपडा पहिरिएर झापादेखि थिम्पुसम्मको पैदल यात्रा आन्दोलनको घोषण भयो । ‘अ पिस मार्च टु भुटान’ लेखिएको वस्त्र लगाएर हजारौँ शरणार्थी पुगे, मेची पुल । १४ जनवरी १९९६ मा पदयात्रा सुरु भयो । १७ जनवरीमा भारतको पानीट्याङ्की पुग्दा सबै आन्दोलनकारी पक्राउ परे । आन्दोलन रोकिएन । त्यस आन्दोलनका सक्रिय पात्र उनी अहिले उक्त असफल आन्दोलनबाट उछिट्टिएका एक उदाउँदो कृषि विज्ञ बनेका छन् ।
उही अल्लारे उमेरकै देखिने डा. गोविन्द रिजाल, जसले झन्डै ४० दिन सिलिगुडी र जलपाइगुडीमा अन्य आन्दोलनकारीसँगै जेलजीवन भोगेका थिए । जेलभित्रै ८ दिन भोक हडताल गरेका थिए । पहिलोपटक १५० जना, पछि ४ सयभन्दा बढी बन्दीमध्ये एक प्रतिनिधि पात्र । सिलिगुडीको पञ्चनदी खोला छेउमै शिविर बनाएर बस्ने आन्दोलनकारीमध्ये एक युवा । १९ ब्याचसम्म गिरफ्तारी देख्ने साक्षी, यातना भोग्ने अभागी । कलकत्ता हाइकोर्ट बहसको एक सहभागी । बरमपुर जेलमा मृत्यु भएका आन्दोलनकारी शरणार्थी बाबुराम स्याङ्देनको शव बोकेर हिँड्ने, सहिद घोषणा गरेर भुटानमा लगी समाधि गर्ने सपाना बोकी हिँडेका असफल आन्दोलनको एक अभियन्ता । भक्त घिमिरेको नेतृत्वमा भारतीय जेलमा भएको अर्को भोक हडताल इतिहासको वर्णनकर्ता । जसको दबावले पुनः भारत सरकारले सबै आन्दोलनकारीलाई जेलमुक्त गरेको थियो । भक्त धिमिरेलगायत अभियन्ताका अभिव्यक्ति इतिहासका अनेक मोडमा मुखरित हुँदै जालान् । विविध स्वरुपमा पक्कै अभिलेखीकरण हुँदै जालान् । कसैले चाहँदैमा इतिहासको अन्त्य हुँदैन । अमर चरी फोनेक्स जस्तै हुन्छ, इतिहास । मर्दै बौरिँदै गर्छ इतिहास । दमित इतिहास अझ अमूल्य हुन्छ । अन्ततः १५ अगस्ट १९९६ मा ५० जना (१४ महिलासहित) आन्दोलनकारी शरणार्थी भुटान छिर्न सफल भएका मध्ये एक पात्र थिए, गोविन्द रिजाल । उनका शब्दमा ‘गन्तव्य कि हाइकोर्ट थिम्पुमा मुद्दा दर्ता गर्ने वा राजालाई बिन्ती चढाउने थियो । दमकदेखि हिँडेरै १७ दिनभित्र थिम्पु भुटान पुग्ने योजना थियो । अन्ततः आठ महिनापछि भुटान छिर्न मात्रै सफल भयौँ ।’
डा. गोविन्द रिजालले जीवनसाथी शान्ता कार्कीको अनुहारतिर हेर्दै १९ वर्षअघिको स्वदेशफिर्ती आन्दोलनको थप वर्णन गर्न थाले, ‘भुटानको बस टर्मिनलअगाडि प्रहरीले रोक्यो । हामी ५० जना आन्दोलनकारी सिँढीमा बस्यौँ । सबै मानिसले फोटो खिच्न थाले । प्रहरीले छेकेर राखेका छन्, तिनलाई के गर्ने थाहा थिएन । इन्स्पेक्टर आएपछि सबैको क्यामेरा खोस्यो । भुटान छिर्दा १० बजेको थियो । पुलिस इन्सपेक्टर आइपुग्दा १ बजेको थियो । थिम्पु लाने भनेर लामो बस ल्याए, तर बस भारततिर फर्किएका थिए । हामी बस चढ्न मानेनौँ । पुलिसले पक्रिँदै कोच्दै गऱ्यौँ, बसभित्र । हामी झर्छौँ, जबरजस्ती । प्रहरीको थप फोर्स आयो । अन्ततः सबलाई कोचेर जयगाउँ ल्यायो । हामी चिच्यायौँ, करायौँ । नाराबाजी गऱ्यौँ । त्यही दिन भारतको स्वतन्त्रता दिवस परेछ । बेइज्जत हुने भयो भनेर भारतले पुनः भुटानै फर्कायो । खरबन्दी भन्ने ठाँउमा सेनाको चेकपोस्ट थियो । हामी सबैको नाम ठेगाना लियो । राती ८ बजे फर्काएर फोन्चोलिङ गेस्टहाउसमा ल्याएर राख्यो, सरकारी पाहुना घरमा । बाहिर कम्पाउन्डमा अन्तर्वार्ता लिन थाल्यो । सब रोए कराए । अफिसरहरु एकएक जनासँग बोल्न अलगअलग खटाइएका थिए । तिनले फन्नी प्रश्न सोधे । उनीहरुसँग गम्भीर कुरै थिएन । लामो प्रश्नउत्तर भयो । खाना दिए, राम्रैगरी । सुत्न महिला र पुरुषलाई अलग्गै व्यवस्था थियो । थाकेर लखतरान, सबै निदाए । एक घण्टामै उठाएर फेरि प्रश्न गर्न थाल्यो । निद्राले लठ्ठ थिए सबैजना । जे भने पनि हुन्छ भन्ने अवस्थामा थिए । भाषण छाँटे एक अफिसरले, सरकारी काम हो, दुई देशले मिलाउँदै छ भन्यो । फेरि सुत्न भन्यो । सुतेको केही घण्टामा फेरि उठाउँदै आर्मीका गाडीमा कोच्यो, थिम्पु लाने भन्दै । अन्ततः भारत ल्यायो । टिस्टा छेउमा ल्याएर दुई सय दिन्छु, नेपाल क्याम्प जा भन्यो । हामी मरे मानेनौँ । फेरि भुटान छिराउन खोज्यो । भात खान झर भन्यो । हामी आधा मात्रै झरेर खाना खाने भन्यौँ । पहिले महिला झर भन्यो । महिलाहरु झरे । गाडी बाँकी पुरुष लिएर हुइँकिगयो । अलि पर लगेर सबैलाई झारेछ, जबरजस्ती । रातको करिब १२ बजेको छ । औँसीको रात थियो, पूरै अँध्यारो छ । भोलिपल्ट सबैलाई खोजेर, बटुलेर घाइतेको उपचार गरियो । एउटा भुटानी सेना पनि सिग्नल नबुझेर छुटेछ । उसले नेपाली, जोङ्खा, अंग्रेजी केही नबुझ्ने रहेछ । पूर्व भुटानको सारछोप भाषामात्रै जान्दो रहेछ । हाम्रा मानिस पनि कोही बोल्दैनथे, त्यो भाषा । पत्रकार सम्मेलन गर्दा पनि बिजोक । उसलाई एक हप्ता राखेर फिर्ता पठाइयो ।’ यस्ता आन्दोलनका अनुभव छन्, उनीसँग ।
राजनीतिज्ञ बन्नुपर्ने मानिस कृषिविज्ञ पो बन्दै गरेको प्रसङ्ग औल्याउँदा उनले हाँस्दै थपे, ‘भारतको पश्चिम बङ्गालको मुख्यमन्त्री ज्योति बसुलाई भुटानी शरणार्थीको स्वदेशफिर्ती आन्दोलनका कारण आपत् पऱ्यो । बसु आन्दोलनकारी प्रतिनिधिसँग भेट्न राजी भए । भेटमा उनले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भुटानी राजालाई चिठी लेखेको छु भनी पन्छिन खोजे । निवेदन हाल्ने बेलडाँगीकी सीता गिरी र खुदुनाबरीकी अर्की दिदीले मलाई पनि लगेका थिए ।’ उनका शब्दमा, भेट्नेबित्तिकै बसुले ‘तिमीहरु कि त भुटानी नभए नेपाली हौ, किन यहाँ भारतमा आन्दोलन गरेर हामीलाई दुःख दिन्छौ’ भन्न थाले । ‘हामीले भन्यौँ, हामी भारत हुँदै निर्बासियौँ, भारत हुँदै भुटान फर्कन बाध्य छौँ’, उनी विगतका ती धुन्धला समय सम्झन्छन् । ‘उही भारतको बाटोबाट फर्किन चाहछौ, ठीक छ, तर आउँदा मोटर चढेर सुटुक्क आयौ, फर्कँदा सेतो लुगा लगाएर किन आन्दोलन गर्दै जान खोजेको ? सुटुक्क जाओ भुटान’ भन्न थाले नेता बसु ।
स्वदेशफिर्तीका लागि अनेक उपाय नखोजिएको होइन । भक्त धिमिरेका अनुसार, सन् १९९६ जुनमा कोलकता नजिकै बह्रम्पुर जेलमा बन्दी र जेल प्रहरीको विवादमा लाठी चार्ज भयो । जुन १३ मा पीडितहरु मध्ये बाबुराम स्याङ्देनको देहान्त भयो । भक्त घिमिरेलगायत त्यस जेलमा साढे चार सय भुटानी शरणार्थी आन्दोलनकारी बन्दी थिए । घिमिरेका अनुसार त्यस घटनाले जेलभित्र ठूलै विवाद निम्त्याएको थियो । जसका कारण पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुसमेत जेलमै आएका थिए (यस विषयमा भक्त घिमिरेलगायत अन्य अभियन्ताले थप कुरा भन्न सक्लान्) ।
डा. गोविन्द रिजाल भन्छन्, ‘अन्ततः स्वर्गीय बाबुराम स्याङ्देनलाई सहिद घोषणा गरियो । उनको शवलाई पञ्चनदी क्याम्पमा ल्याइयो । सिलिगुडी, दार्जिलिङलगायत सबैतिरका भीआइपीहरु उपस्थित थिए । कफिन महँगो भएर प्लास्टिकले बेरेर सहिदको शव ल्याइएको थियो । बौद्ध तथा हिन्दु दुवै धर्मअनुसार अन्त्येष्टिको पूजापाठ मात्र गरियो । आन्दोलनकारीको अन्तिम इच्छा भुटानै जाने भएपछि सहिदको शवलाई कफिनमा राखेर बाटो लागियो । सिलिगुडी र जलपाइगुडीबीच सीमामा अवस्थित महानन्द पुलभन्दा पर जान दिइएन । प्रहरीले राक्यो । गाडीबाट सहिदको शवलाई झिकियो । शवलाई बोकेरै अघि बढ्न खोज्दा ठेलमठेलपछि लाठीचार्ज भयो । राम धुलाइ भयो आन्दोलनकारी र भारतीय सहयोगीहरुमाथि । पुलको बीचमा सहिदको शव छाडेर सबै लाखापाखा लाग्न बाध्य भए । पुलको बीचमै सहिदको शव छ । गाडी पूरै बन्द छ, नेसनल हाइवे नै ठप्प छ । रातभर सहिदको शव त्यहीँ रह्यो, बेवारिसे लासझैँ, बीच बाटामा । पुलको बीचमा । भोलिपल्ट भारतीय प्रहरीले नेपाली, हिन्दी, बङ्गाली, अंगे्रजी लगायत भाषामा ‘एउटा बेवारिसे लाश भेटिएको, बिहान ७ बजेभित्र बुझिलिन’ माइकिङ गऱ्यो । अन्ततः त्यहाँका कम्युनिस्ट नेताका छोराले ‘अलि पर एउटा गुम्बा छ, त्यहाँसम्म लगेर अन्त्येष्टि गर्नेभए शव लान दिने, भुटान लान भने मरे पनि नदिने अरे’ भन्ने खबर लिएर आए । हामीले शवलाई भुटान लगेर अन्त्येष्टि गर्न दिने भए हुन्छ नत्र मान्दैनौँ भन्यौँ । अन्ततः प्रहरीले लास कता पुऱ्यायो, आजसम्म थाहा छैन ।’ यस्ता असहज इतिहासका एक साक्षी हुन्, उनी ।
दोस्रोपटक डिसेम्बरमा पुनः करिब दुई हजार शरणार्थी स्वदेशफिर्ती आन्दोलनमा होमिए । एकाध व्यक्ति मात्रै भुटानको छेउकुनासम्म छिर्न सके । धर्ना बसे, गल्छिनपाडामा क्याम्प नै बनाएर । यस विषयमा इतिहास विस्तृत रुपमा आउनु आवश्यक छ । केही हप्तापछि भारतले ऱ्यापिड एक्सन टप फोर्स परिचालन गरेर आन्दोलनकारीलाई हटायो । गाडीमा आन्दोलनकारी लोड गर्दै मेची पुलमा ल्याएर अनलोड गऱ्यो, मेची पुलै गाडीको भीडले जाम हुनेगरी । भोलिपल्ट जनवरी १, १९९७ थियो । अर्थात्, स्वदेशफिर्ती असफल आन्दोलनमा एक वर्ष स्वाहा, उपलब्धि हात लाग्यो शून्यझैँ । अनि शिविरमा अनेक टुटफुट, आरोप प्रत्यारोप, नाम बढी काम कम गर्ने संस्कार झाँगियो । उनी फुत्किए असफल आन्दोलनको संसारबाट । अघि बढे अध्ययन यात्रामा ।
१९९७ को मध्यतिर ‘आइन्टाइन जर्मन रेफ्युजी इनिसियटिभ्स छात्रवृत्ति’ पाएपछि उनी पुगे रामपुर कृषि कलेज र नेपाली चेली सहपाठी शान्ता जीवनसाथी बनिन् । अध्ययन सकिएपछि केही वर्ष काठमाडौँमा जागिरे भए । अनि दुवैजना जापान गए । पहिले शान्ता कार्की, अनि गोविन्द रिजाल । एमएससीपछि विद्यावारिधिसम्म छात्रवृत्तिमै पढे । फेरी अर्को छात्रवृत्ति हात पऱ्यो । विल गेट्स फाउन्डेसनको सहयोगमा अहिले यी जोडी फिलिपिन्सको इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटबाट पोस्टडक अनुसन्धानको अन्तिम चरणमा छन् । सी ४ राइस उत्पादनका लागि अनुसन्धानमा तल्लीन छन् । धानमा उखु, मकैको जस्तो सी ४ फोटोसिन्थेसिस समावेश गरिँदै छ । सूर्यको किरणको उत्तम प्रयोग गरी कम पानी र कम नाइट्रोजन मल प्रयोग गरेर पनि ५० प्रतिशतभन्दा बढी उत्पादन गर्न सकिने धान उत्पादन प्रविधि निर्माणमा उनीहरु सक्रिय छन् । आजसम्म यो प्रयोग सफल भइसकेको छैन । उनीहरुको अन्डरमा ३३ जना सहयोगी अनुसन्धानरत छन् । यो अनुसन्धान पूरा भएपछि यो दम्पती कृषि वैज्ञानिकको रुपमा नमुना बन्दै छ । नेपाल जस्तो कृषिमा आश्रित मुलुकका लागि यो गर्वको कुरा हो ।
विडम्बना, नेपाली भाषी भुटानी शरणार्थी पहिचान बोक्न बाध्य डा. गोविन्द रिजाल र डा. शान्ता कार्की यतिबेला यता न उताको मुलुक विहीन अवस्थामा छन् । अध्ययनकै क्रममा गोविन्द रिजालको शिविरसँग भौतिक सम्पर्क टुट्यो । क्याम्पमा शरणार्थी लिस्टबाट नाम काटियो । न शरणार्थी रहे, न कुनै देशको नागरिक । बाह्र वर्ष पुग्यो उनको नेपाली चेलीसँग बिहे भएको । तैपनि बिहेदर्ताका लागि निकै कोसिस गर्दा पनि प्रक्रिया पुग्दैन भन्दै फर्काइयो, श्रीमतीको गृहजिल्ला लमजुङ प्रशासन कार्यालयबाट । गृहमन्त्रालयसम्म उनको कागजपत्र पुगिसकेको छ, यद्यपि उनी नागरिकताको के कुरा, बिहेदर्ता विहीनै छन् । नेपालीपन र नेपाली मनका धनी, ‘अनेपाली’, ‘अर्धनेपाली’ वा ‘गैरनेपाली’ यस्ता नेपालीभाषीले अभर पर्दा कतिन्जेल नेपाललाई निस्वार्थ सघाइरहलान् ? यद्यपि, महासागर र महाबजार प्रवासी वा पुनर्वासी वा डा. गोविन्द रिजालका जोडी जस्ता पेन्डुलमझैँ पात्र पनि महामानव बन्न सक्छन् । कसैले कसैको वर्तमान बिगार्न सक्ला, भविष्य नै भत्काउन भने सक्दैन । मुलुक विहीन विज्ञहरु हजारौँ जन्मिदै छन्, जन्मनु पर्छ । जो हार्दाहार्दै जित्दैछन् । शक्ति सत्ताले उन्मत्तहरु जित्दाजित्दै हार्दैछन्, हार्नेछन् ।