मृत्युको मैदान
एल.बि रिखाम मगर
उत्तर क्यारोलिना, अमेरिका
धुँवाको मुस्लोसँगै
एक पोको भविष्य
अलिकति बाँच्ने आशा
सन्दुकीमा कैद छ
मृगतृष्णा –
जो भौँतारिरहेछ
युगौयुगको अस्तित्व बचाउन
मृत्युको मैदानमा
यतिखेर
हजारौँ सपनाहरू
पर्खालले किचेका छन्
भग्नावशेषभित्र पुरिरहेका छन्
अनि पुकारिरहेका छन्
आप्mनो ईश्वर
मर्न अघिसम्म पनि
आप्mनो नैतिक अधिकार
अर्कैको मुठीमा
मृत्यु पर्खेर छट्पटाइरहेछ
मानव वधशालानै हो–क्यार
जताततै रगतका छिटाहरु
सडक,चोक र गल्लीहरुमा
भित्ता र पर्खालहरुमा
होली मनाइरहेछ
नकाबधारी जल्लादहरु
विजयोत्सव मनाउँदै
अझ युद्धको उत्घोष गरिरहेछन्
आमाको काखमा
हरेक बिहान
उज्यालो हुन नपाउँदै अस्ताउँदछ
अनि
समवेदनाको जुलुस निस्किन्छ
मनभित्रको चोकचोकबाट
कहीँ घाँटी रेटिन ठिक्क छन्
कहीँ पिंजडाभित्र आगोमा छट्पाइरहेछन्
हो तिनीहरू
मृत्युसँग जीवन साट्न चाहन्छन्
मृत्यु बराबर जीवन
कसरी हुन सक्छ ?
छाडेर जानेहरु
मात्र बल्झिरहने
सम्झना छाडेर जान्छन्
आँसुको नुनिलो महासागरमा
पौडिँदा–पौडिँदै थाकेका अनुहारलाई
मुस्कान बोकेर
भोलिको यात्रा तय गर्न
साह्रै कठिन हुँदोरहेछ
त्यसैले !
आऊ हामी सबै
उत्सव मनाऔँ
बाचौँ अनि
अरूलाई पनि बचाऊँ