मेरी आमा

रिमेन आलोक
अल्बरी, अस्ट्रेलिया

मेरी आमा
बिहानको झिसमिसेमा
भालेको पहिलो डाकसँगै
चुलामा दाउरा, सोते र आगोलाई
गफमा भुल्याउँदै….लामो सास फेर्दै
भाँडो र पानीमा चामललाई नुहाउँदै
हाम्रो पेट भर्नु हुन्छ
दिनै पिछे…..
मेरी आमा !

पेटमा भाइलाई बोकेर
काखीमा बहिनीलाई च्यापेर
दिदीलाई हातले डोर्‍याउँदै डोर्‍याउँदै
मलाई गफमा भुल्याउँदै
ठूल्दाइलाई फकाउँदै फुल्याउँदै
हाम्रो पेट भर्नु हुन्छ
दिनै पिछे…..
मेरी आमा !

बाको गालीमा लुकामारी खेल्दै
अनेकौँ बिघ्न बाधालाई झेल्दै
सासूको कचकच पनि सहनै पर्‍यो
ससुराको गालीमा रमाउनै पर्‍यो
दु:ख सुखलाई साथी बनाउँदै
हाम्रो पेट भर्नु हुन्छ
दिनै पिछे…..
मेरी आमा !

सन्तानको खुसी खोज्दै
आफूभन्दा धेरै ठुलो भारी बोकेर
पैसा कमाउन बजार पुग्नु हुन्छ
थोरै सब्जी….अलिकति फलफूल
हामीलाई बराबर बाँड्दै
हाम्रो पेट भर्नु हुन्छ
दिनै पिछे…..
मेरी आमा !

2 Replies to “मेरी आमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *