म धर्मी कि अधर्मी

ढर्मेन्द्र तिम्सिना ‘क्षितिज’

धर्मेन्द्र तिम्सिना ‘क्षितिज’
ओहायो, अमेरिका

म ब्राह्मणको छोरो हुँ
म तिमीले नै भनेको उपल्लो जातको हुँ
म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतीक हुँ
म जनाइ लगाएर गायत्री जप्नुपर्ने योग्यताको हुँ
तर न मलाई उपल्लो जातको हुँ जस्तो लाग्छ
न गीता र वेद पढ्नै पर्ने श्रेष्ठ हुँ जस्तो आभास हुन्छ
मैले बेलाबेला मात्र जनाई लगाएको छु
अनि गायत्री मन्त्र सुनेको मात्र छु
तिम्रा नियमानुसार
मैले गीता पढ्नै पर्ने हो
वेद घोक्नै पर्ने हो
गायत्री मन्त्र जप्नैपर्ने हो
तर मैले जपेको पनि छैन
अनि घोकेको पनि छैन
अब म धर्मी कि अधर्मी
के अब म धर्मी कि अधर्मी?

मैले गीताको सार अलिअलि बुझेको छु
रामायण दुईचार अध्याय पढेको छु
भागवत पनि अलिअलि घोकेको छु
म पूर्ण केहीमा छैन
अपूर्ण छु जस्तो पनि लाग्दैन
कछाड बेरेर खाना खाएको छैन
बरु छालाको जुत्ता लगाएर खाएको छु
मैले नवग्रह शान्ति भन्दै पानी समाएको छैन
बिहानै उठेर जय श्री राम भन्दै
टाउकाबाट एक अम्खोरा पानी खन्याएको छैन
मैले ठुली र सानी एकादशीको व्रत बसेको छैन
मैले पन्थ मारेर धार्मिक कथाहरू सुनेको छैन
मैले मादल बजाएर भजन गाएको छैन
मैले रामायणलाई सम्मान गरेको छु
वाल्मीकिलाई साहित्यकारको रूपमा हेरेको छु
सबैसँग घुँडा जोडाएर खाएको छु
मैले ग्रहको अर्चना गर्नुभन्दा वैज्ञानिक अनुसन्धान गरेको छु
अब म धर्मी कि अधर्मी ?
के अब म धर्मी कि अधर्मी?

मैले विचारको बिस्कुन लगाएको छैन
मैले धर्मको बजार थापेको छैन
मैले कुनै आस्थालाई ठूलो
अनि कुनैलाई सानो ठानेको छैन
सबै समान छन् मेरा लागि
सबै एकै हुन् मेरा लागि
मैले आस्थाको खोल ओढेको छैन
म सधैँ स्वतन्त्र छु
सधैँ म, म नै भएर बाँचिरहनेछु
मैले म भएर बाँचिरहँदा
मैले कुनै धर्मको शरण नलिँदा
अधर्मी हुन्छु भने
म अधर्मी नै हुन चाहन्छु
म तिम्रो लागि अधर्मी नै भएर बाँच्न चाहन्छु
तर त्यसभन्दा पछाडि
त्यसभन्दा पर
सबैलाई सम्मान गर्ने म अधर्मी कि
सबैलाई समान देख्ने म अधर्मी कि
अर्काको स्वतन्त्रतामाथि खिल्ली उडाउने
अर्काको अधिकारमाथि औँलो ठड्याउने
तिमी अधर्मी
अब भन्नुस्
म अधर्मी कि तिमी अधर्मी?

मैले बाइबललाई माया दिएको छु
कुरानलाई प्रेम गरेको छु
गीता वेद र उपनिषदहरूलाई सम्मान गरेको छु
तिमीलाई मन परोस् या नपरोस्
तिमीलाई चित्त बुझोस् या नबुझोस
गीता कुरान र बाइबललाई एउटा दर्जामा राखेको छु
येशु ख्रिस्ट, प्रोफेट मोहम्मद, कृष्ण अनि बुद्धलाई
क्रीस्चियन, मुस्लिम, हिन्दु अनि बुद्धिष्टलाइ
एउटै दृष्टिले हेरेको छु
एकै नजरले देख्ने गरेको छु
हिन्दुलाई श्रीमान्नारायण भनेको छु
मुस्लिमलाई सलामालिकुम भनेको छु
क्रीस्चियनलाई जय मसिहा भनेको छु
अनि बुद्धिस्टहरुलाई माने पद्मे हुँ पनि भनेको छु
मैले सबैलाई समान देख्दा ईश्वर रिसाउलान् त ?
मैले सबैलाई एकै नजरले हेर्दा अधर्मी बनुँला र ?
अब भन्नुस्
म धर्मी कि अधर्मी ?
के म धर्मी कि अधर्मी?

म कसैको पीडामा हाँस्न सक्दिन
कसैको दुखलाई टुलुटुलु हेर्न सक्दिन
अरूको आँसुमा रुने बानी छ मेरो
अरूको खुसीमा अझ धेरै खुसी थप्ने बानी छ मेरो
कसैलाई सहयोग गर्नुपर्दा
कसैको पीडामा मलम पट्टी लगाउनुपर्दा
बाइबल पल्टाएर हेर्दिन म
वेदका ॠचाहरुले अभिषेक गर्न जान्दिन म
कुरान पढेर अल्लाहलाई पुकार्न सक्दिन म
सकेको गरिहाल्छु
नसकेको सहयोग लिन्छु
कसैको दुखलाई
आस्थासँग लगेर जोड्दिन म
विश्वाससँग लगेर जोड्दिन म
अर्को धर्मको भनेर कान ओछ्याउँदिन म
अर्को सम्प्रदायको भनेर मुन्टो बटार्दिन म
मात्र मानवता सम्झन्छु
मानवता नै सबैभन्दा ठूलो धर्म ठान्दछु
अब भन्नुस्
म धर्मी कि अधर्मी ?
के म धर्मी कि अधर्मी ?

One Reply to “म धर्मी कि अधर्मी”

  1. Regmi Govinda

    जनै धारण गरी गायत्री मन्त्रको जप गर्नु, गीता पाठ गर्नु, दैनिक रूपमा वेदको आवृत्ति गर्नु तथा सन्ध्यावन्दन गर्नु केवल धर्म वा अघर्मको विषय नभई सनातन परम्पराअनुसार पालन गर्नुपर्ने नित्यकर्म हुन्।

    जीवनमा यस्ता सबै आचार–व्यवहारलाई अक्षरश पालना गर्नु प्राय सम्भव हुँदैन। त्यसैले यस्ता विषयहरूलाई धर्मर अधर्मको दृष्टिकोणबाट नभई व्यक्तिको जीवनशैली, अवस्था र आश्रमअनुसारको आचरणका रूपमा बुझ्नु उपयुक्त हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *