म भयानक कस्मिक क्राइसेसमा छु !
शिवलाल दाहाल
खुदुनाबारी, नेपाल
म चाकाचुली खेलिरहेको छु
वर्तमानको किलामा
जीवनलाई तेर्स्याएर
नियन्त्रण खोज्दै
म फुक्न खोज्दा–खोज्दै
बाँधिन्छु,
एउटा सानो चौघेरामा
एउटा संकीर्ण परिधिमा
जहाँ मेरा आकांक्षाहरू
आत्मदाह गर्दछन् ।
अभाव र गरिबीको सांग्लामा बाँधिएर
नजिकैको सिसौको झ्याङमा
यी गुम्स्याइरू, यी अन्योलहरु
यी उकुसमुकुसहरू, यी कुरुपताहरु
निल्न खोजिरहेछन् ।
मेरा सम्पूर्ण प्राप्तिहरु
मेरा जीवनका रंगिन सपनाहरु
म भयानक कस्मिक क्राइसेसमा छु !
वरिपरिका भित्ता र थुम्काहरु
घर, टहरा र झुप्राहरु
बोट विरुवाहरु
यावत कुराहरु
अभ्यस्त छन्,
मसित परिक्रमा गर्न
म चाकाचुली खेलिरहेछु
म भयानक कस्मिक क्राइसेसमा छु !
मैले हेर्दा–हेर्दै
मेरो पहाड
विस्फोट हुन्छ र
महासागर पुरिन्छ
मेरो आकाश घोप्टिन्छ र
सृष्टिको प्रलय हुन्छ
म भयानक कस्मिक क्राइसेसमा छु !
अप्रिल १,२००१