म हराएको सूचना

कवि
कवि

बृजेश गौतम
डेनमार्क

मलाई थाहा छ यो कुनै खबर बन्दैन
आफू हराएको विज्ञापन छापेर
आफैँलाई खोज्ने जाँगर पनि म गर्दिन
म छु तर छैन !
म हुँ तर हुँइन !

गुगलमा मेरो नाम खोज्दा
०.४ सेकेन्डमा १००० नतिजा देखिन्छन्
मेरो फेसबुकबाट स्थिति सम्प्रेषण भइरहेकै छ
मेरो स्मार्ट फोनले
हरेक पाइलाहरुको गणना गरिरहेकै छ
सडकभरि यत्र तत्र छिपाइएका
गुप्त क्यामराहरुबाट
मेरो चालको विश्लेषण हुँदैछ
मेरा रुचि अनुसारको विज्ञापन मेरो स्क्रीनमा
ठिक्क पुर्‍याउन विज्ञापन एजेन्सीहरु
मेरोपछि लागेका पनि छन्
कृत्रिम!!!

अचेल आफूलाई आफैँ खोज्छु,
भेट्छु पनि तर मैँले भेटेको म, म होइन,
को हो ? त्यो पनि उत्तर छैन मसँग !
एक कुरा पक्का थाहा छ,
म हराएको छु,
नभेटिने गरी!!
कृत्रिमता वास्तविकताभन्दा मीठो छ,
किन खोज्छु म सत्यता?

Leave a Reply

Your email address will not be published. Required fields are marked *