यात्रा
जलन भण्डारी
एडिलेड
जीवनको यात्रा जन्मबाट हुन्छ,
जन्म एक जिर्ण बीजबाट,
ताते गर्न नजान्ने गोडाहरू,
स्वच्छ-सुन्दर-सफा हृदय
एउटा सेतो कागजको पानाझैं,
जसले जे कोरे पनि सही,
जसले जे रोपे पनि सही,
यसरी एउटा निर्दोष बालक,
यो कलुषित रणभूमिमा,
भोलिको स्वर्णिम सपना बोकेर,
आजैबाट यात्रा शुरु गर्छ ।
साथी, यो जीवनको यात्रा हो,
यो यात्रा लामो छ भन्ने कुरा,
केवल आमाले पिलाएको स्तन,
बाबाले दिलाएको जीवनको कर्म
र भोक प्यासको विलासितामा,
उसको यात्रा सीमित छ,
उ एक्लो छ हजारौ सहयात्रिमा,
उ रित्तो छ भरिपुर्ण भएर,
उ मौन छ कोलाहल भित्र
र व्यस्त छ बिना कुनै लक्ष्य,
अन्योल छ उसको गन्तव्य,
अनि जान्दैन कुनै कर्तव्य !
यात्रा उसको निरन्तर छ,
हिमशिखरमा हिउँ पर्दा
उ सिमलको भुवा सम्झन्छ,
बर्षायामको उर्लंदो भेलमा
उ उफ्री-उफ्री रमाउँछ,
मरुभूमिको तातो हावामा
उ न्यानो निन्द्रा झुल्छ,
विश्वयुद्ध नै शुरु भए पनि
उ बन्दुकको नाललाई लट्ठी सम्झन्छ,
उसलाई डर, त्रास रत्तिभर छैन,
भोक, प्यास आफन्तले बोके पुग्छ,
भन साथी यस्तो यात्रा कस्तो हुन्छ ?