यी मुर्छित हरफहरु
सविन शर्मा
हेरिस्बर्ग, अमेरिका
कविताका हरफ हेर्दै छु।
धर्ती सधैँ रातोको रातै छ
आकाश सधैँ बादलले ढाकेको ढाक्यै छ ।
युगौँसम्म पनि मौसाम फेरिएन
कवित्व-संसारमा ।
ड्रग इन्जेक्ट गरिएको छ
कुराहरू सबै बिर्सिने।
बिर्सिएपछि
सुरुदेखि सुरु हुन्छ सम्झिन
र वर्तमानसम्म आइनपुग्दै
बाटैमा घर जलाइएकोमा रुन्छन्
लखेटिएकोमा आक्रोशित हुन्छन्।
सम्झनाको भारी बोकेर थाकेका छन्
फेरि त्यही भारी बोकेर हिँड्छन्।
कविताहरू सधैँ थिचिए पिरहरुमा।
यी यातायातले मुर्छित हरफहरु
यी डसिएर विषाक्त शब्दहरू
बिना कुनै औषधी
बिना कुनै सल्यक्रिया
छोडिदिँदै छु यत्तिकै
तपाईँको हृदयको आइ सि यु मा
बाँच्न सक्लान कि भनेर…