यो हो थिम्फू !
शिवलाल दाहाल
खुदुनाबारी
यो हो थिम्फू !
हाम्रो राजधानी
राजा–रानीको सहर
आजभोलि
देशको सर्वभौमिकता बेचेर
उग्राइरहेको साँढे
यो हो थिम्फू !
यो हो थिम्फू !
हाम्रो भाग्य निर्माता
चावासुमको जन्मदाता
आलुदोर्जी र फुन्छोदोर्जीको
युद्धभूमि
लडाका वीरहरुको रङ्गशाला
यो हो थिम्फू !
यो हो थिम्फू !
यो हो वेश्या
अर्काको गर्भ बोकेर
रङ्ग भेद र जाती भेद अनि
एक राष्ट्र र एक प्रजाको नीति
लङ्गडो छोरो जन्माउने
यो हो थिम्फू !
यो हो थिम्फू !
यहाँ बहुभाषा हुनु हुँदैन
यहाँ बहुजाती हुनु हुँदैन
यहाँ बहुसंकृति हुनु हुँदैन
यहाँ–
थिम्फू होस्
मात्र थिम्फू होस्
संसारको खैलाबैला विल्कुल नहोस्
देख्नेहरु कोही नहुन्
सुन्नेहरु कोही नहुन्
यहाँ एक होस्
अनेकको अस्तित्व विल्कुल नहोस्
बस्
यति हो
यो हो थिम्फू !
(सन् २००१, अक्टुबर १५ मा, भूटान जागरणमा प्रकाशित)