रिस

जय हुमगाइ
क्यानडा
कहिले काँहि दिमागमा
रिस चढ्ने गर्छ
राम्रो होइन रिसाउन
त्यसले हानी गर्छ।
रिस चढ्दा दिमागमा
मित्र वैरी हुन्छ
साथी-भाइको सम्बन्धमा
शत्रु आफैँ हुन्छ।
रिस गर्दा ठुलो क्षति
कति ठाउँ पुग्छ
बोल्ने साथी चुप हुन्छ
आफैँ एक्लो हुन्छ।
रिस गरे सम्बन्धमा
लाग्नु चोट लाग्छ
एउटा ओछ्यान फुटाएर
बिचमा पर्खाल लाग्छ।
नाता गोता रगतको
साइनु पनि मेट्छ
दाजु-भाइ शत्रु सरि
काढेँ तारले बेर्छ।
बात गर्न न उही आउँछ
न त म नै जान्छु
उसको घरको बाटो पनि
किन मैले काट्छु।
झगडाको फूल फुल्छ
बोट रोपे रिसको
शत्रुताको फल लाग्छ
जरा घमन्डको।
स-साना कुराले
किनार लगाई दिन्छ
मन भित्र दनदनी
आगो सल्काई दिन्छ।
शत्रुताको बाँध जहिले
कसी राख्नु हुन्न
भेल आए बगाई दिन्छ
रिस पाल्नु हुन्न।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *