लाखे है !
माराम्लोङ साम्पाङ उत्तम राई
सिन्सिनेटी, अमेरिका
हौ नानी !
कहाँ हो कता हो… ?
तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ
कहीँ कतै तिमीसँग
पक्कै भेट भा’कै हो मेरो-
अँ !
आइतबारे हटियामा
सेकुवा र कोदोको जाँड दन्काउँदै गर्दा
चारो बटुल्दै आइपुगेकी’थ्यौ होइन ??
निक्कै बेर आँखा जुधेको हो
म हार्न चाहिनँ
तिमीले जित्न सकिनौ
गाला रातो पारेर अन्तै फर्केकी’थ्यौ…..
ए होइन…. होइन रहेछ !
त्यो गालामा यस्तो डिम्पल थिएन
तर… तिमीलाई कहाँ देखेकै हो मैले ??
लाखे है!
तल…. लिवाङटारमा
उँभौलीको बेला
ढोल-झ्याम्टाको तालसँगै
माङलाङ् केलाङ नाच्दा पो
भेट भा’को हो की ??
झुक्किएर ठोकिँदा पनि
खुब आँखा फुकालेर हेरे’थ्यौ
तर…..
होइन जस्तो लाग्यो मलाई
त्यो आँखा यस्तो नसालु कहाँ थियो र ??
कहाँ भेटेँ…… कहाँ भेटेँ
कहाँ भेटेको हो हौ नानी हामी ??
ए….. साँच्चि त
हाम्रो लुङ्गा धोजवीरको विवाहमा
लोकन्ते बनेर आँउदा
गलाले थाम्नै नसक्ने
तमर्केको माला लगाइदिएर
खोर्सानीको हुक्का तनाउदै
सिस्नुको आसनमा बस्न लगाउने
तिमी नै त हौ त….
लु हो……. पक्कै हो….
हो हो तिमीलाई त्यहीँ देखेको हो मैले-
हेर सोल्टिनी !
आधा जिन्दगी खेर गै’गो
अब आधा बाँकी छ
मिठै खुवाउँला, राम्रै दिउँला
घर बसाउने आँट छ
सानो घर छ चिटिक्कको
कमाई खाउँला पाखैमा
आऊ बस काखैमा…
हिम्मत छ ??