वसुधा रोएको बेला

रमेश गौतम 
नर्वे 

यति बेला
विश्वास च्यातिएर
अभिशप्त छ समय ।

वसुधा
आहत बनेर
यही अभिशप्तताले
आँसु पुछ्छे-
समयको बर्बरताले
पिल्सिएको छ वर्तमान !

‘मान्छे’हरूको सपना
आजको संसार
संवेदनाको सागरमा
डुबेको छ यति बेला !

मान्छेको बासलाई
वरदान मानेर
वसुधा
कुनै समय मुस्कुराउँथी
हृदयभरि
सन्तुष्टिको जलाशय जमाएर
काखभरि
बुद्ध, क्राइस्ट अनि सोक्रेटिजहरू
गान्धी, मन्डेला अनि मार्टिन किङ्गहरू
खेलाएर
साँच्चै वसुधा
जीवनहरूको सवाल बाँच्थी
आस्थाहरूको मन्दिर हाँस्थी ।

आज तोराबोरा-कोसोभो रोएको छ
आज रोल्पा-मंगलसेन रोएको छ
आज न्यु योर्क-वासिंटन रोएको छ
आज प्यलिस्टाइन-जाफना रोएको छ ।

मान्छे
वधित अस्तित्व बोकेर
वधित मानव सभ्यता डोर्‍याएर
दिशाहीन दौडेको छ
आस्थाको खोजीमा
जीवनको खोजीमा
सजीवताको खोजीमा !

आज
वसुधा रोएकी छे ।

६ मार्च २००२ 
हात्तिसार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *