बिदाइको बेलाः अन्तर्निहित पीडाको एक आत्मप्रकाशन

समीक्षक
समीक्षक

शिवलाल दाहाल

हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन । कवि-लेखक पनि समाजकै अंग हुन् । लेखनमा भावनात्मकता र कल्पनाशीलताको विशिष्ट महत्व हुन्छ तर पनि एउटा लेखकले ग्रहण गर्ने विषय सामाजमा भएका घटना, क्रियाकलाप, समस्या आदिका साथै आफैंले भोगेका र अनुभूत गरेका अनेक कुराहरु तथा आफू बाँचेको सम-विसम परिस्थितिको समूल चित्रण नै हो । एकातिर समसामयिक नेपाली साहित्यिक धरातल वर्तमान युग र त्यसका अनेक चुनौति,जटिलता, आर्थिक-राजनीतिक एवं सामाजिक समस्याहरुको चित्रणमा केन्द्रित छ भने अर्कातिर वैयक्तिक निराशा, कुन्ठा, अस्तित्वहीनता एवं मानवीय संकट र वातावरणीय दुस्प्रभावको विश्लेषणमा केन्द्रित छ । यहाँ यसै पृष्ठभूमिमा कवि रमेश गौतमको “विदाइको वेला” कविताको विश्लेषण गर्न खोजिएको छ ।

भूटानी कवि रमेश गौतम हाल नर्वेमा बस्छन् र नेपालभन्दा धेरै टाढ़ा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको सायद माया मार्न नसकेरै होला नेपाली साहित्य सिर्जनमा लागि परिरहेका छन् । भूटानको सन्दर्भमा उनी साइवर युगीन साहित्यका एक प्रवर्तक पनि हुन् । कवि रमेश गौतमका धेरै कविता प्रकाशनमा आएका छैनन् तर, थोरै लेखेर गुणात्मक सिर्जना दिने कविका रुपमा उनी स्थापित भइसकेका छन् । उनका कविताको महत्वपूर्ण पक्ष अभिव्यक्तिको प्रभावकारिता, वैचारिक प्रौढता र काव्यिक सौन्दर्य-चेतना हो ।

यो पंक्तिकारको संपादनमा सन् २०१०मा प्रकाशित भूटानी स्रष्टाहरुको साझा संकलन “सम्झनाका खण्डित आकृतिहरु”-मा समाविष्ट प्रस्तुत विदाइको वेला कविता प्रथम पुरुषशैलीमा लेखिएको र आकारका दृष्टिले मझौलो आकारको कविता मान्नु पर्छ । एक शव्ददेखि बढीमा पाँच शव्दका जम्मा ९७ वटा वाक्यविन्याश रहेको यस कवितामा शव्दको मीतव्ययीता, अर्थको प्रतीकिकरण र भावाभिव्यक्तिको प्रभावपूर्ण र ओजस्वी प्रयोग सहजरुपमा देख्न सकिन्छ । यस कविताले बनाएको विषयबस्तु कवि स्वयंले भोगेको अत्यन्त विषम परिस्थिति, निकासरहित उदासीनता र तत्जन्य परिस्थितिबाट सिर्जित प्रताडना,उकुसमुकस, आत्मपीडा र अस्तित्वहीनताको तीव्र चेतले ग्रस्त मानसिक उद्वेलन हो । धरैजसो कवि पीडाको भुमरीका छट्पटाएका छन् र एकदुई ठाउँमा उन्मुक्तिको आभाष गर्दछन् तर, त्यो एक आत्मरत्ति मात्र हो ।

विदाइ भित्र एक किसिमको पीडा, सम्झना र भावनात्मक अनुभूति हुन्छ । विदाइ कहिले साथी-भाइसँग हुन्छ, कहिले प्रियजनसँग हुन्छ, कहिले घरपरिवारसँग हुन्छ, कहिले आफू बसेको स्थानसँग हुन्छ त कहिले मातृभूमिसँग हुन्छ । वास्तवमा प्रत्येक भूटानीहरुको ( विशेषतः शरणार्थी) जीवनकथा वियोगको कथा हो, विछोडको कथा हो । सन् १९९०को असफल विद्रोहपछि हजारौं भूटानी जनताले घरबार छोड्नु पर्यो, देशबाट निकाला हुनु पर्यो । यस क्रममा धेरै भूटानीहरुले आफ्ना नातेदार र प्रियजनसँग विछोडिनु पर्यो, घर- गाउँ र देशबाट विछेद हुनु पर्यो । यो एउटा आकस्मिक विदाइ थियो । सत्र वर्षसम्म नेपालमा शरणार्थीको रुपमा रहँदा देश फर्किनका लागि अनेक प्रयत्नहरु गरिए तर, ती सब अन्ततः हावामा विलाउन पुगे र शरणार्थीहरुले विकसित मुलुकहरुले प्रताव गरेको तेस्रो देश पुनर्स्थापना कार्यक्रमलाई स्वीकार गर्दै विश्वका विभिन्न मुलुकहरुमा छरिन पुगे । अचेल प्रत्येक बिहान शरणार्थी शिविरहरुमा एक थरी मान्छे विदाइ गर्न पुग्छन् र अर्को थरी मानिसहरु विदाइ भई जान्छन् । एउटै परिवारका सदस्यहरु छिन्नभिन्न हुने, नातेदार, छिमेकी र इष्ट-मित्र छिन्नभिन्न हुने यी विदाइहरु कम भावपूर्ण र अश्रुमिश्रित हुँदैनन् । विदाइ गर्ने र विदाइ भई जाने दुवै थरी मानिसहरु विछोडको पीडामा छट्पटिन्छन्, बिथोलिन्छन् र रन्थनिन्छन् । संसारमा यो भन्दा बढ्ता वियोगान्त कथा के हुन सक्छ ? कवि रमेश गौतम पनि यस किसिमको विदाइका भोक्ता हुन्, त्यसकारण उनले उल्लेख गर्न खोजेको विदाइको बेला कविताको सन्दर्भ माथि उल्लिखित विदाइका सन्दर्भहरु भन्दा पृथक पटक्कै हुन सक्तैन ।

यस कवितामा लामा-छोटा जम्मा नौवटा अनुच्छेद रहेका छन् । पहिलो अनुच्छेदमा कवि म-पात्र एउटा उष्ण बगरमा उभिएको छ । उ गतिहीन उष्ण बगरमा उभिएर माछाहरुको क्रीडा हेर्छ र माछाहरुले पनि ऊ जस्तै पीडा भोगिरहेको अनुभूति गर्दछ । यहाँ कविले एउटै समुद्रमा (समस्यामा) होमिएका र एकै किसिमको पीडा र छट्पटी भोगिरहेका शरणार्थीहरुलाई माछाका रुपमा चित्रण गरेको हुनुपर्छ ।

दोस्रोः चार हरफे छोटो अनुच्छेदमा कविले पहिलो अनुच्छेदमा उल्लेख गरेको गतिहीनताको प्रसंगलाई पानी पनि गतिहीन रहेको देखाउँदै आफ्नो जीवनको गतिहीनता र पानीको स्थिरताबीच सामञ्जस्यता स्थापना गरेका छन् । गतिहीन पानीको दह नजिकै झाडी छ जहाँ चराहरु चिर्बिराउँछन् । गतिहीन भए पनि पानी जीवनदायक हो । यी दुवै अनुच्छेदमा शरणार्थी जीवनको गतिहीनतालाई बिम्बन गर्न खोजिएको छ ।

तेस्रो अनुच्छेदमा शरणार्थी जीवन र त्यसभित्रको छट्पट्टी, उकुस-मुकुस, निराशा, निकासहीनता र गुम्स्याइहरुको अत्यन्त सफलतापूर्वक चित्रण गरिएको छ । अनुच्छेदको प्रारम्भमा प्रस्तुत ‘गोमन चालहरु’ र ‘न्याउल पीडाहरु’ लाक्षणिक रुपमा प्रयोग भएका छन् । गोमन शक्ति र न्याउल नीरिहताको प्रतीकका रुपमा आए पनि समग्रतामा यी दुवै पंक्तिहरुले शरणार्थीहरुको नीरिहता र शरणार्थी बनाउने र बनाइराख्न चाहने शक्तिहरुको चलखेल तथा जुनसुकै समयमा पनि शरणार्थीहरुको अस्तित्व विलय गर्न चाहने उनीहरुको कुकृत्यको बिम्ब खिच्न खोजिएको छ । यहाँ कविले भूगोलविहीन अस्तित्वको सन्दर्भ उठाएर आफूहरु देशबाट हराए पनि विश्वभूगोलबाट विलय नभएको तर, अनन्त पीडाका माझ भए पनि बाँचिरहेको बताएका छन् ।

गोमन चालहरु !
न्याउल पीडाहरु !
एक साथ हेरिरहेछु
मूल्यांकनका नयनहरुले
सुस्ताएको छु
निस्ताएको छु
जीवन बँचाइको
सायद् नियमित्तता-
नीसताहरु
मार्गहीनताहरु
निकासहीन गुम्स्याइहरु
आत्मदाहका सीमाहीन पीडाहरु
पोखिएका छन्
एक साथ
भूगोलहीन अस्तित्वमाथि !

चौथो अनुच्छेदमा कविले शरणार्थी अवस्थाको लामो, पट्यारलाग्दो र दयनीय जीवन भोगाइपछि तेस्रो मुलुक पुनर्स्थापना हुन पाउनु वरदानका रुपमा लिएका छन् र त्यसलाई नमिठो जीत भनेका छन् । यद्यपि राष्ट्र, राष्ट्रियता, जातीय पहिचान एवं न्याय र स्वतन्त्रताको सन्दर्भलाई हेर्ने हो भने यो दीर्घकालीन हार नै हो ।

लामो समयको तपस्यापछि
प्राप्त वरदान-
नमीठो जीत
जीवनका भोगाइमा
उन्माद-उमंगमाथिको आक्रमण
दीर्घकालीन हारहरु !

कविले यतिखेर आफूलाई आत्मसमर्पण गरेको गुरिल्ला जस्तै पाएका छन् , उनीभित्र एक किसिमको अन्योलता, अन्तद्वन्द र असहजता बढिरहेको छ । हरेक क्षणहरु स्मृतिमा डुबेर बित्छन् र पीडामा पोखिन्छन् ।

आत्मसमर्पण गरेको एउटा गुरिल्ला जस्तै
निन्याउरो अनुहार लिएर
आक्रमणकारीका सामु
निदाएको छु एउटा जर्जर निद्रा-
दिवास्वप्नमा निमग्न बनेर
हर क्षण भिज्ने गरेका अभिशप्त रातहरु
सडकजस्तै पीडाहरु
आत्मग्लानिहरु
एक साथ
पोखिएका छन्
जीर्ण-रुग्ण मानसिकतामाथि ।

छैटौं अनुच्छेदमा कविले चिल, गिद्ध र बाघजस्ता हिंस्रक पंक्षी तथा वन्य जन्तुहरुले हाम्रो अस्तित्वमाथि प्रहार गरिरहेको कुरा व्यक्त गरेका छन् । जसका विरुद्धमा पहिले कवि तथा उनका स्वदेशी जनहरु उठेका थिए र जसका विरुद्ध संघर्षका कार्यहरु लक्षित गरेका थिए-आज एकाएक निरर्थक बनेका छन् र ती सबले कविलाई व्यंग्यपूर्वक हेरिरहेका छन् । त्यसकारण कविका लागि यो क्षण अग्निपरीक्षाको क्षण झैं लागिरहेको छ । एकातिर पूर्वघोषित सबै कार्यहरुलाई तिलाञ्जली दिनु परेको छ भने अर्कातिर ती जो हिजो आफूविरुद्ध खनिएका थिए- अहिले पनि अस्तित्व निमोठ्न सक्रिय रुपमा लागि परिरहेकै छन् । यहाँ विद्रोह छ कविको अभिशप्त रातहरुसँग, आत्मग्लानि र जर्जर्ताहरुसँग । बाघ, गिद्ध र चिलहरुको अस्तित्वमाथिको आक्रमण कविलाई सह्य छैन ।

सातौं, अनुच्छेदमा कविले विश्वका जुनसुकै ठाउँमा पनि शान्ति नभएको उल्लेख गरेर आत्मासन्तोष गर्न खोजेका छन् । उनी आस्थाको केन्द्रका रुपमा रहेका शिवालय, मन्दिर र चर्चहरुभित्र पनि त्रास फैलिइरहेको देख्तछन् । वर्तमान युग नै अनेक किसिमका हिंसा, द्वन्द र अशान्तिले ग्रस्त छ, जहाँ पनि त्रासको वातावरण फैलिएको छ ।

त्रसित–त्रसित एउटा विस्तृति
बाँचिरहेछ
शताव्दि-सन्दर्भहरु !

यो त्रासद वातावरणबाट कवि आजित छन् । यद्यपि बाँच्नु परेको छ मरुभूमिमा एक ग्लास पानीको जस्तो आस्था जमाएर । अगम्य र अस्पष्ट सुखानुभूतिको कल्पना गरेर भए पनि मानिसले बाँच्नु पर्दोरहेछ । यहाँ काव्यिक सौन्दर्य सिर्जना पराकाष्ठामा पुगेको छ, जीवनका खास-खास सन्दर्भहरुलाई भावनात्मकता प्रदान गरेर मूर्तदेखि अमूर्ततातर्फ लग्दा कविता आफैं सुन्दर बन्दो रहेछ ।

बाँचेको छ एउटा पल
मरुभूमिको एक ग्लास पानी
एउटा अमूर्त मुस्कान
अगम्य-अस्पष्ट स्वर्ग सुखानुभूतिहरु
दूर क्षितिजमा चम्कने तारा-सुन्दरताहरु
खण्-खण्ड बाँचेका छन् ।

आठौं अनुच्छेदमा कविले कविताको आरम्भको सन्दर्भलाई जोडेर कविताको अर्थ र गतिलाई भौंतारिनबाट रोकेका छन् । यहाँ समाजका अगुवा हूँ भन्नेहरुलाई व्यङ्य गर्दै उनीहरुको आवाजलाई भ्यागुत्ताहरुको ट्वार्र-ट्वार्रसँग तुलना गरिदिएका छन् ।

शीर्षकमा उद्धत बिदाइको बेलाको प्रसंग अन्तिम अनुच्छेदमा आएर मात्र खुलाइएको छ । यसरी हेर्दा यस अघिका अनुच्छेदहरु पृष्ठभूमिका रुपमा आएका छन् । यी सन्दर्भहरुले बिदाइको क्षणलाई अझ सारपूर्ण र मार्मिक बनाउन मद्दत पुर्याएको देखिन्छ । अन्त्यमा कविले यो विदाइको क्षणलाई आफ्नै मृत्युसँग गाँसेर हेरेका छन् । किनभने त्यो विदाइमा उनका परिवारका सदस्यहरु-आमा, दिदी, भाइ सबै एक साथ रोएका छन्, मानौ स्वयं कविको नै मृत्यु भएको थियो । विदाइको अन्तिम क्षणमा सबै परिवारजन भावविह्वल भएका छन् ।

यही समय
शंख बजेको छ एकोहोरो
सायद् कसैको मृत्यु भएको हुनुपर्छ–
म तर्सन्छु–
मेरी आमाको क्रन्दन सुनेर
म आत्तिन्छु-
मेरी दिदीको रोदन सुनेर
म डराउँछु-
मेरो भाइको चिच्याहट सुनेर
सायद्
मेरै मृत्यु भएको हुनुपर्छ…

परिस्थितिको जटिलता र वातावरणको स्थीरतामा कुनै परिवर्तन छैन । यसै बखत कवि बिदाइको अन्तिम हात हल्लाएर त्यस बगरबाट सदाका लागि बिदा हुन्छन् ।
कविता पढ्दा आरम्भदखि जुन रुपमा पाठकको ध्यान केन्द्रित हुन्छ त्यसमा कुनै कमी नआई कविताको अन्त्य हुन्छ । अन्तरात्मादेखिको पीडाको आत्मप्रकाशन गर्ने प्रस्तुत कविता यथार्थ भइकन पनि भावनात्मक, सहज भइकन पनि कलात्मक, मूर्त भइकन पनि अमूर्त हुनपुगेको छ । कविता प्रतीकात्मक अनि विद्रोहात्मक पनि छ । निकैवटा प्रसंगहरु जोडेर अगाडि बढेको यो कविता अनेक विषम परिस्थितको चित्रण र पीडाको प्रकाशनमा केन्द्रित छ र यसभित्र आक्रोश र विद्रोहको स्वर कलात्मक रुपमा प्रस्तुत छ । अति सहजता र हार्दिकताका साथ प्रस्तुत गरिएको यो कविता मर्मस्पर्शी हुनका साथै समकालीन भूटानी समाजले भोगिरहेको जीवनको यथार्थ चित्र खिच्नमा पनि सफल छ । समकालीन नेपाली कविता लेखनको सन्दर्भमा पनि यस कविताले कविलाई आफ्नो बेग्लै पहिचानका साथ कवि व्यक्तित्वका रुपमा स्थापित गरिदिएको छ ।

रचनाः सितम्बर ९, २०११, विर्तामोड

बिदाइको बेला कविता पढ्न यहाँ क्लिक गर्नुहोस

2 Replies to “बिदाइको बेलाः अन्तर्निहित पीडाको एक आत्मप्रकाशन”

  1. प्रकाश धमाला

    शिवलाल सर को यो लेख मलाइ सारै सुन्दर लाग्यो । सुन्दर लेखको लागि धन्यवाद। रमेस दाइ को लाइ पनि सलाम ।

  2. Dom N. Kafle

    शिवलाल दाजुको यो लेख र उठान गरिएको कविता-मलाई दुवै मन परेl हुन त उक्त कविता समाबिस्ट गरिएको कृति (सम्झनाका खण्डित आकृतिहरु) नै पनि निक्कै राम्रो छl आफुलाई निक्कै मन परेको साथै- समय सान्दर्भिक र खासगरिकन बिस्थापित भुटानीहरुको साझा परिस्थिति, अन्यौलपूर्ण यो/त्यो घडीको गुम्श्याई, भोगाईहरुको भाव बोकेको यो कबिता मलाई निक्कै मर्मस्पर्सी र पारिलो लाग्छ l उसोर क्रितिनै लगेर Radio Adelaide101.5fm को studio बाट यो कविता लगायत त्यसभित्रका केहि कबिताहरु पढदाको मज्जा मैले अझै बिर्सेको छैन.

Leave a Reply

Your email address will not be published. Required fields are marked *