विषको घडा

शिवलाल दाहाल
केन्टकी, अमेरिका

भोग्नेहरूले त भन्दै थिए
ऊ आउँदै छ
ऊ आउँदा सहज रूपमा आउँदैन
उथत–पुथल मच्चाएर आउँछ
पृथ्वी हल्लाएर आउँछ
सहरहरू ढालेर आउँछ
अस्पतालहरू भरिभराऊ पारेर आउँछ
घरहरू रित्तो पारेर आउँछ

हामीले त्यसलाई पत्याउनै सकेनौँ
दिन, हप्ता, महिना गन्दा गन्दै
ऊ आउँदै रह्यो
हामीले बेवास्ता गरिनै रह्यौँ
जब ऊ आफ्नै सहरहरूमा आइपुग्यो
जब ऊ आफ्नै बस्तीहरूमा आइपुग्यो
जब ऊ आफ्नै घरहरूमा आइपुग्यो
अनि मात्रै थाहा भयो
हामीलाई–
उसको भीमकाय रूपको
उसको नरभक्षी स्वभावको

बल्ल हामीले बुझ्दैछौँ
ऊ कतिसम्म हिंस्रक छ भन्ने कुरा
हिंस्रकमा ऊ चितुवाभन्दा कम छैन
बल्ल हामीले चाल पाउँदैछौ
उसले कतिसम्म ठुङ्न सक्छ भन्ने कुरा
विष उगेल्नमा ऊ गोमनभन्दा कम छैन

हे प्रलयका देवता !
पृथ्वी मन्थनबाट निस्केको यो कालकुट विष निल्न सक्ने
अरू कोही भएन
गर एकबार फेरि धर्तीमा अवतरण
र घटघट निली देऊ यो विषको घडा
तिम्रा सन्तानका निम्ति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *