शब्द शब्द

स्वप्निल स्मृति/ काठमाण्डौ नेपाल

आकाशगंगामा कति होलान्
झल्मल झल्मल ताराहरु ?
शब्दकोषमा
धेरै धेरै चम्किरहेछन्
जस्तो कि–
जो उन्मुक्त चराहरुको पखेटामा
कुँदिएको छ–अक्षरशः ।

जंगलमा कति होलान् फन्फनी माकुरे जालहरु ?
जालहरुमा कति होलान्
माऊ–माकुराका लाशहरु ?
शब्दकोषका पन्नाहरुमा
धेरै-धेरै शब्दहरु जेलिएका छन्
एउटा उदाहरण– षड्यन्त्र
जो शकुनीको हस्तरेखामा पढ्न सकिन्छ
र, महाभारत युद्धको परिणाम
पूर्व-अन्दाज गर्न सकिन्छ !

जंगबहादुरले कति फटायो होला ?
जोर लत्ता–कपडा जीन्दगीमा
शब्दकोषमा
धेरैधेरै पत्ताहरु च्यातिइसकेका छन्
जस्तो कि उप्किसकेको छ–
कथित एकीकरणको बाक्लो आवरण
कि अब जरुरी छ संरचनामा पुनर्रचना
–औधी शब्दहरुको अर्थमा परिवर्तन
–उपल्ला शब्दहरुको मूल्यमा विघटन !

कहिलेसम्म काँचो खुन पिउला
घट्घट् घट्घट् कालभैरवले ?
शब्दकोषमा
धेरैधेरै शब्दहरुले माग्दछन् ‘इरेजर बलिदान’
जस्तो कि–
लेख्नै मिल्दैन तबसम्म
जबसम्म सम्मानित हुन्छ
–मृत इतिहासको किच्कन्या खेलाउनेहरुको चरित्र
–मृत शब्दहरुको सिंहासन सिँगार्नेहरुको नियत

देश माने बधशाला
जनता माने राष्ट्रिय गधा
यसरी शब्द अर्थ घोकाइरहेछ जो,
जबसम्म अमर रहन्छ
शब्दकोषमा उसको मात्र नाम ।

समुद्रमा कति उठ्लान्
झुर्ढुङ झुर्ढुङ झडङडङ झ्वाम् झ्वाम् ज्वारभाटाहरू
शब्दकोषमा,
धेरैधेरै शब्दहरु छछल्किरहेछन्
जस्तो कि–
विद्रोह,
यही शब्द हो–प्रत्येक भुइँचालोहरुको केन्द्र
कि केही रेक्टर स्केलको सौजन्यमा
शुरु हुन्छ विनिर्माणको महोत्सव ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *