शरणार्थी

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

मलाई ब्युँझाउँछन्
कुनै कुनै शब्दहरूले
तरङ्गित गराउँछन् मेरो मानसपटल
एक तरङ्ग
कतै खुसी
कतै कसैले लगाइदिएका चोटहरू
सम्झन्छु
अनि उनीहरूको खुसीको लागि
एक मिनेट
मौन धारण गरिदिन्छु
आँखा चिम्लेर
निस्पट्ट अँध्यारोभित्रबाट

मैले देश भन्न नपाए पनि
मैले माटो भन्न नपाए पनि
देशको माया
माटोको माया
छातीभित्र टाँसेर
आगोले डढाउँदा
हुरीले उडाउँदा
नभईकन विक्षिप्त
एकनास देश भनिरहेँ
माटोको मायाले सिरानी भिजाइरहेँ

तिमीलाई प्रेम गर्न नआउँदो रहेछ
तिमीलाई माया बाँड्न नआउँदो रहेछ
र त तिमी अर्काको खिसी गर्छौँ
अर्कालाई पीडा दिन्छौ
त्यही शब्द दोहोर्‍याउँछौ
वर्षौँसम्म
अनि भन्छौ “शरणार्थी”

मलाई पोल्दैन यो शब्दले
मलाई दुखाउँदैन यो शब्दले
बरु ऊर्जा दिन्छ
जोस थपिदिन्छ
माटो सम्झनका लागि
मेरो देश भनेर गौरव गर्नका लागि

तिमीसँग गौरव गर्ने शब्द नभएर होला
तिमीसँग खुसी साट्ने वाक्य नभएर होला
खिसी गर्छौ मेरो
लडाउन खोज्छौ मलाई
होच्याउन खोज्छौ मलाई
वर्षौँ पुराना दिनहरू खोतलेर
बितेको पलहरू सम्झाएर
अनि फेरि भन्छौ शरणार्थी
अनुहार बिगारी बिगारी
मुख खुम्चाइ खुम्चाई

म सम्झन्छु
तिम्रो खुसीको लागि नरिवल चढाइदिऊँ
परेवा उडाइदिऊँ
तिम्रो सद्बुद्धिको लागि
तिम्रो सङ्कुचित शरणार्थी सोचका लागि
तिम्रो अविकसित शरणार्थी सोचका लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *