शरणार्थी जीवन र शिविरभित्र फष्टाएको गजलकारिता
केशु विरही
नेपाल
आजै जस्तो लाग्छ, त्यो दिन –भूटानबाट नेपालीभाषीहरू खेदिए अरे । नेपालीभाषी भुटानीमाथि त्यहाँको सकारले पाशविक यातना दियो रे । सयौं चेलीबेटीहरू भूटानी सेनाबाट वलात्कृत भए रे…। उनीहरू भूटान छाडेर भाग्न बाध्य भए रे भन्ने जस्ता खबरहरू रेडियो तथा टेलिभिजनले प्रसारण गरेको । त्यो खबरले सबैमा तरंग नै ल्याइदियो । नभन्दै उनीहरू भूटान छाडेर हिँड्न बाध्य नै भए, विवश भए । उनीहरूको हामीसँग प्रत्यक्ष रुपमा भाषा र संस्कृतिको सम्बन्धमात्र नभएर युगयुगको सम्बन्ध थियो । भावनाको मात्र नभएर उनीहरूको रगतकै पुरानो नाता थियो नेपालीहरूसँग । उनीहरू कानुनी रुपम भुटानी भए पनि आखिर रगतले नेपाली नै थिए । हाम्रै दाजु– भाइ थिए । तसर्थ, त्यो घटनाले तमाम नेपालीलाई नराम्ररी दुखायो । नदुखोस पनि कसरी ! एउटा भाइलाई पीडा हुँदा अर्को भाइलाई नदुख्ने त कुरै आउदैनथ्यो । ठीक त्यस्तै भयो । त्यसैले धेरैले यो घटनालाई राम्ररी नियाली रहेका थिए ।
नजिकबाट नियाल्नेमा म पनि एउटा थिएँ । त्यसरी मैले नजिकबाट नियाल्नुको कारण भनेको उनीहरूसँग भाषा र संस्कृतिको नाता भनौ या भावनाको नाता मात्र थिएन । हुनसक्छ, त्यो पनि एउटा कारण थियो होला । तर अर्को कारण भनेको उनीहरू त्यहाँबाट खेदिनु भन्दा अघि मैले धेरैपटक भुटान जाने अवसर पाएको थिएँ । धेरैतिर घुम्ने अवसर पाएको थिएँ । अझ यसरी नै भनौँ न, म उनीहरूसँग विगत २०–२५ वर्षदेखि परिचित थिएँ । मैले भूटानको राजधानी थिम्पू, फुञ्छोलिङ्, सिप्सु, जयगाँउ लगायत धेरै स्थान घुम्न भ्याएको थिएँ । हामी लामो समयसम्म त्यहाँ एउटै परिवारजस्तै भएर पनि बसेका थियौं। उनीहरूले त्यहाँ हामीलाई गरेको सदभाव र सम्मान अवर्णनीय थियो । अरुभन्दा पनि उनीहरूको मित्रवत एवम् सहयोगी व्यवहार बिर्सी नसक्नुको थियो । उनीहरूमा त्यहाँ नेपाली भाषा–संस्कृति, नेपाली साहित्यप्रतिको अगाध प्रेम झल्कन्थ्यो । अगाध विश्वास प्रतित हुन्थ्यो । उनीहरूको भाषा संस्कृतिप्रतिको श्रद्धा र विश्वास देखेर यस्तो लाग्यो कि शायद त्यतिको नेपाली भाषा संस्कृतिप्रतिको मोह त हामीलाई पनि छैन होला ।
पहिला भूटान जान–आउन कुनै प्रतिबन्ध थिएन । कुनै कडीकडाउ पनि थिएन। हामी निर्वाध रुपमा आउथ्यौँ –जान्थ्यो । तर पछिल्लो समयमा भने भूटानी सरकारले त्यहाँ आवत–जावत गनर्मा अघोषित प्रतिबन्ध नै लगायो । अझै पनि लगाएकै छ ।
घटनाक्रम बढ्दै गयो । भूटानबाट लखेटिएका नेपालीलाई भारत सरकारले पासविक तवरबाट ट्रकमा हालेर नेपाली भूमिमा ल्याएर छाडिदियो । लामो समयसम्म उनीहरू विचल्ली भए । यो खबर झनै पीडादायी थियो । केहीले नेपालमा भएका आफ्ना नातेदारको सहयोग लिए भने अरु विचल्ली नै परे । तर विस्तारै दाताहरूको सहयोगमा उनीहरूलाई बस्ने र खानेको व्यवस्था मिलाइयो । क्याम्प खडा गरियो । दाताराष्ट्रकै सहयोगमा उनीहरूलाई मोरङ तथा झापा जिल्लाका विभिन्न स्थानमा क्याम्प बनाएर राखियो । सनै सनै उनीहरूको खाने–बस्नेको समस्या त हल भयो नै तर, आफ्नो देश फर्कने चहाना भने पर सर्दै गयो । बाध्य भएर उनीहरूले त्यहींबाट आफ्नो नयाँ जीवनको शुरुवात गरे । र, हालसम्म पनि गरिरहेका छन् ।
मलाई हिँजै जस्तो लाग्छ त्यो समय । आज थाहै नपाई झण्डै दुईदशक बित्न लागेछ । यो अवधिमा एउटा नयाँ युगको शुरुवात भैसकेको छ । शिविरभित्र एउटा नयाँ पुस्ताको विकास भइसकेछ । शिविरभित्रको अभावग्रस्त जीवन बिताउँदै नयाँपुस्ता नयाँ भविष्यको पर्खाइमा रहेको छ । आफ्नो जन्मभूमि फर्कने धेय पालेर बाँचिरहेको छ ।
शिविरको चौघेरोमा बसेर एउटा अनुत्पादक जीवन जिउन विवश यी कलिला हातहरू भविष्यमा आफ्नो जन्मभूमि फर्कन पाइएला भनी पुर्पुरोमा हात राखेर मात्र बसेका छैनन् । शरणार्थी भएरै पनि आफूलाई विभिन्न गतिविधिमा समाहित गराउँदै आएका छन् ।
जब मानिसमा अभाव खड्कन्छ, पीडा बर्सन्छ तब ऊ जुर्मुराएर उठ्छ । विद्रोह गर्न पुग्छ । मात्र विद्रोहलाई पोख्ने माध्यम फरक फरक हुन सक्छन् । शिविरभित्रको युवाशक्ति विद्रोहलाई साहित्य र सिर्जनामा व्यक्त गर्न सिकिरहेका छन् । फुर्सदको समयलाई उनीहरूले साहित्य–सिर्जनामा खर्चन थालेका छन् । सिर्जनाले नै मानवका वेदनालाई पखाल्नसक्छ भन्ने कुरा सार्थक रुपमा लिन थालेका छन् ।
शरणार्थी शिविरका युवापुस्तामा साहित्यका अन्य विधामध्ये गजलप्रतिको आकर्षण तुलनात्मक रुपमा बढी देखिन्छ । पछिल्लो समय नेपाली साहित्यकाशमा लोकप्रिय बन्दै गएको यो विधाप्रतिको उनीहरूको आकर्षण बढ्नुको मुख्य कारण भनेको पछिल्लो समयमा नेपाली साहित्यमा गजल अन्य विधाको तुलनामा बढी फष्टाउँनु पनि हो । गजल युवापुस्तामा लोकप्रिय बन्दै जानु र शरणर्थी शिविरभित्र एउटा नयाँ पुस्ताको जन्म हुनु पनि मुख्य कारण मान्न सकिन्छ । नेपाली साहित्य फाँटमा फष्टाउँदै गरेको यो विधालाई उनीहरूले टपक्कै टिपेर आफ्ना भावनालाई रदिफ र काफियामा समाहित गर्न सिकेका छन् ।
वि.सं. १९४० मा मोतिराम भट्टद्वारा नेपाली माटोमा भित्र्याइएर लामो समयसम्म फष्टाएको गजलकारिता उपेन्द्रबहादुर ‘जिगर’को ‘एकसय एक गजल’ गजलसंग्रह (१९९६)–को प्रकाशनपछि एक्कासी सेलाउन पुग्यो । लामो समयसम्म मौन रह्यो । झण्डै चार दशकको सुशुप्तिलाई तोड्दै वि.स.२०३६ सालमा ज्ञानुवाकर पौडेलले नेपाली गजलकारितालाई पुनः अगाडि बढाए । अर्थात गजलको पुनर्जागरण गरियो । त्यसपछि गजललेखनले व्यापकता पाउन थाल्यो । ज्ञानुवाकरले पुनः व्यूँताएको गजललाई ललिजन रावल, डा. घनश्याम न्योपाने ‘परिश्रमी’, मनु ब्राजाकी, रवि प्राञ्जल आदिले सक्रियरुपमा मलजल पुर्याए । फलतः गजल गजल भनेर चिनियो । गजलले व्यापकता पायो ।
२०४६ सालको आन्दोलनपछि त झन यसले उचाइ नै हासिल गर्यो । पचासको दशक (नेपाली गजलको विकासकाल) पछि त झन गजलले व्यपकता पायो । के बुढा, के तन्नेरी सबैजना गजलमा रमाउन थाले । आफ्ना भावनालाई गजलमै पोख्न हौसिए। थोरै शब्दले धेरै अर्थ दिनसक्ने, हार्दिक तथा कोमल विधा भएकैले अर्थात हार्दिक तथा कोमल शब्दले मुक्तकीय झटारो हान्न सकिने भएकै कारणले पनि यो विधाप्रति आकर्षण बढेको हो ।
नेपाली गजलको यही प्रभावले शरणार्थी युवाहरूलाई नछोई रहन सकेन । फलतः उनीहरूले यस विधालाई शिविरभित्र प्रवेश गराए । नभन्दै आज शिविरभित्रको गजलकारिताले व्यापकता लिन पुग्यो ।
भठटानी गजलकारिताको बारेमा कुरा गर्दा त्यहाँ प्रकाशित विभिन्न पत्र पत्रिका तथा भित्ते पत्रिकालाई भुल्नु हुँदैन । शुरुवातमा त्यहाँ केही युवाहरूको सक्रियतामा केही साहित्यक पत्र–पत्रिकाहरू प्रकाशित हुन्थे । ती पत्र–पत्रिका (भित्ते पत्रिका)–मा गजल सिर्जनाहरू प्रकाशित हुन्थे । त्यस्तै शिविरबाहिर प्रकाशित हुने विभिन्न पत्र-पत्रिकामा शिविरभित्रका युवाहरूका गजल प्रकाशित हुन्थे । यसरी नै फाट्फुट रुपमा गजल प्रकाशित हुने । गोष्ठी तथा सम्मेलनमा गजलबारे हुने, चर्चा परिचर्चा हुने । सहभागिता हुने आदिले नै भूटानी गजललाई आजको यो अवस्थामा ल्याउन मदत मिलेको मान्न सकिन्छ ।
भूटानी नेपाली गजलकारिताको प्रणेता याम थुलुङ मानिन्छन् । उनकै सकृय नेतृत्वमा शिविरभित्र गजलले फष्टाउने अवसर पाएको देखिन्छ । उनी अनवरत रुपमा गजलमा लागिरहेका छन् । याम थुलुङको वि.सं.२०५८ सालमा प्रकाशित ‘आँसुका थोपाहरू’ (गजलसंग्रह) नै भूटानी नेपाली गजलकारिताको प्रथम गजल कृति हो ।
त्यस्तै भूटानी नेपाली गजलकारिताको चर्चा गर्दा शेरु राई ‘उदास’लाई पनि भुल्न मिल्दैन । प्रकाशनको हिसाबले पछि परे पनि उनी विगत लामो समयदेखि गजल लेख्ने मध्येमा पर्छन् । रोजगारीको क्रममा उनी अन्यत्र जिल्लामा गएका हुनाले शरणार्थी शिविरमा संचालन भएका संघ–संस्थामा उनी सक्रिय नदेखिए पनि धेरैले उनलाई गजलका गुरु मानेको पाइन्छ ।
त्यस्तै याम थुलुङ, शेरु राई ‘उदास’ पछि सिवाकोटी ‘पुरानाघरे’, इट्टाघरे आदि गजलमा सक्रिय भएर लागेका देखिन्छन् । तेश्रो देशको पुनर्वासको प्रक्रियाले शिविरभित्रको गजलकारितालाई केही क्षिण त बनाएको छ तर, पनि शिविरभित्र सक्रिय रुपमा लागेका युवाहरू तेश्रो देश पुनर्वास भएरै पनि गजलकारितामा सक्रिय भएर लागिरहेका देखिन्छन् । त्यस्ता व्यक्ती मध्येमा ‘पुरानाघरे’ पनि एक हुन । यिनी शरणार्थी शिविरमा रहँदा मात्र नभएर हाल तेश्रो देश पुनर्वास भई अमेरिका पुगेर पनि गजलमा उतिकै सक्रिय देखिएका छन् । अमेरिकामै बसेर उनले नेपाली गजल वर्डप्रेस नामको व्लग र अन्य अनलाइन साहित्यक पत्र–पत्रिकाको सक्रिय रुपमा सम्पादन गरिरहेका छन् ।
भूटानी नेपाली गजलकारिताको बारेमा चर्चा गर्दा ६० को दशकपछि मात्र फष्टाएको मानिए पनि भूटानी नेपाली गजलकारिताको शुरुवात भने २०६० लाई नै मान्न मिल्दैन । शिविरभित्रका केही युवाहरूले २०५५ साल पछिका समयमा गजल लेख्ने गरेको पाइन्छ । फाट्फुट रुपमा प्रकाशित भएका पनि देखिन्छन् । २०५८ सालमा प्रकाशित याम थुलुङको गजलसंग्रह ‘आँसुका थोपाहरू’ लेनै यसको प्रमाणित गरिदिएको छ । त्यसर्थ वि.सं. २०६०लाई नभएर २०५८ साललाई नै भूटानी नेपाली गजलको आधिकारिक रुपमा शुरुवात भएको मान्न सकिन्छ । र मान्नु पर्छ भन्ने मेरो मान्यता पनि हो ।
त्यसपछिको समयमा भने शिविरभित्रको गजल लेखनको यात्रा फष्टाएको पाइन्छ। पहिलो गजलसंग्रह प्रकाशनको चार वर्षपछि केशव आचार्यको ‘परिवर्तनका छालहरू’ (२०६२), कृष्णदास भण्डारी ‘काँइलो’को ‘चौसठी चौक’ (२०६२), याम थुलुङको अर्को दोश्रो गजल कृति ‘अरक्षित यात्रा’ (२०६२) जस्ता गजलकृति प्रकाशित भएका देखिन्छन् ।
वि.सं. २०६२ सालमै ममता राई मोक्तानको ‘वेदना’ र राजु सुब्बाको ‘छालहरू’ पनि प्रकाशित भएका छन् । त्यस्तै वि.सं. २०६४ मा प्रेम मैनाली ‘चिन्तन’को ‘विद्रोही आवाज’ र इट्टाघरेको ‘वियोग’ गरी दुईवटा संग्रह प्रकाशित भएका छन् ।
प्रेम मैनाली चिन्तनको ‘विद्रोही आवाज’ (२०६४)को प्रकाशन पछि भूटानी नेपाली गजलले नयाँ फड्को मारेको बताइन्छ । यसको प्रकाशनसँगै भूटानी नेपाली गजलको नयाँ कालखण्ड शुरु भएको उनीहरूको दावी रहेको छ । त्यस्तै यसको प्रकाशनको दुईवर्षपछि वि.सं. २०६६ सालमा टंक वयलकोटीको ‘अनुभूति’ प्रकाशन भएको पाइन्छ ।
कृतिको अलावा फुटकर रुपमा गजल लेख्नेहरूको संख्या अत्यधिक रहेको छ । याम थुलुङ, शेरु राई ‘उदास’, ममता राई मोक्तान, रघु गौतम, धना शर्मा धिमाल, ‘पुरानाघरे’ सिवाटी, शविन शर्मा धिमाल, कृष्णदास भण्डारी ‘काँइलो’, टंक वयलकोटी, त्रिविक्रम न्यौपाने, पूर्ण नर्जाली, प्रकाश धमाला, केशव आचार्य, कमल खल्तीपिडित, दिल्लु राई, दुर्गा रिमाल ‘वि.एस’ प्र.प्रे, वमन राई, चन्द्र सुहाङ्ग, मणि वखिम, दिल क्षेत्री, देउदत्त पोखरेल, तारा काफ्ले ‘वन्दी’, रुपा सुब्बा, रिमेन आलोक आदि रहेका छन् ।
त्यस्तै बी.एन आचार्य, रुपा आचार्य, नारायण जलन, उमेश आचार्य, उमा दाहाल ‘खुसी’, सारदा ढुङ्गाना, गिताप्रसाद घिमिरे, प्रेम पिपलटारे, टीकामाया मिश्र, अर्जुन रसाइली, नैनासिंङ मगर, , डम्बर ओस्ती, मनबहादुर लामगाधे, मञ्जु खड्का, उमा गौतम, लक्ष्मीमाया राई, रिता चम्लागाईँ, दधिराम वादल, हरि धिमाल, गोपाल प्रवासी, भोला भुटाङ्गे, मइतराज सुब्बा ‘सानेकान्छा’ मनि एञ्जेल, पी.पी . सिवाकोटी, थुक्तेन डुक्पा, जय वान्तवा, विकास धमाला, लक्ष्मीनारायण सुवेदी, डिल्लीराम शर्मा आचार्य, तीर्थ आचार्य, केशव धिमाल, गोपाल पौड्याल, पशुपति आचार्य, घनश्याम रिमाल, चेतनाथ अधिकारी, मेघराज कार्की, रुपनारायण पोखरेल आदि रहेका छन् ।
भूटानी नेपाली गजलकारीतालाई आजको यो अवस्थासम्म आइपुग्नमा २०६१ सालमा स्थापित भूटानी गजलमञ्चको ठूलो योगदान रहेको छ । याम थुलुङको संयोजकत्वमा स्थापना भएको उक्त भूटान गजल मञ्चमा हालसम्म सयौं गजलकारहरू समाहित भएका छन् र हुने क्रममा छन् ।
शिविरभित्रको गजलकारितामा महिला सक्रियता पनि सन्तोषजनक नै देखिन्छ। शुरुवात कालदेखि नै हालसम्म पनि निरन्तर रुपमा गजलकारितामा लाग्नेको संख्या कम छैन । डोना आचार्य, ममता राई मोक्तान, धना शर्मा धिमाल, मञ्जु खड्का, उमा दाहाल ‘खुसी’, दुर्गा रिमाल ‘वि.एस’, टीकामाया मिश्र, पूर्णमाया राई, सारदा ढुङ्गाना, रुपा सुब्बा, लक्ष्मीमाया राई, तारा काफ्ले ‘वन्दी’, उमा गौतम, रिता चम्लागाईलगायत दर्जनौ महिलाहरूको सक्रिय सहभागिता रहँदै आएको देखिन्छ ।
शिविरभित्रको गजलीय माहौल झन झन बढ्दो छ । सुन्दर भन्दा सुन्दर गजल सिर्जना गर्नेको संख्या पनि कम छैन । त्यस्तै शिविरभित्रबाट सुन्दर तथा सशक्त गजल कृतिहरू पनि प्रकाशित भैरहेका छन् र हुने क्रममा छन् । आज शिविरभित्रका अत्यधिक युवाको साहित्यिक शुरुवात नै गजलबाट हुनथालेको छ । यसले पनि भूटानी शिविरमा नेपाली गजलको वर्तमान मात्र नभएर भविष्य पनि सुन्दर हुने कुरामा कसैको दुईमत हुन सक्दैन ।
आज नेपाली गजलको बारेमा चर्चा गर्दा भूटानी शिविरभित्रको गजलकारितालाई छुटाउन नमिल्ने भएको छ । यदि कसैले आफ्नो लेख वा खोजमा शिविरभित्रको गजलकारिता वा भूटानी नेपाली गजललाई छुटायो भने त्यो अपुरो हुने भएको छ । त्यो खोज अधुरै ठहरिने भएको छ ।
शरणर्थी जीवन त्यसै त कष्टकर हुन्छ । आर्थिकरुपमा पराश्रित हुनुपर्ने हुनाले शरणार्थी जीवनमा साहित्यिक गतिविधि संचालन गर्नु, कृति तथा पत्र पत्रिकाको प्रकाशन गर्नु त्यतिकै जटिल कार्य हो । उनीहरूले चाहे अनुसारको साहित्यिक गतिविधि संचालन गर्न नसक्नुको मुख्य कारण भनेको आर्थिक समस्या नै हो । तै पनि उनीहरूले ती कुनै कुराको प्रवाह गरेका छैनन् । आफ्नो गाँस खुट्याएर भए पनि साहित्यिक गतिविधिलाई अगाडि बढाउँदै आएका छन् । साहित्यिक कृति तथा पत्र– पत्रिका प्रकाशनमा लगानी गर्दै आएका छन् । त्यो चानचुने कुरा होइन ।
अन्त्यमा शिविरभित्रको गजलप्रतिको आकर्षण, लगाम आदिलाई हेर्दाखेरि यो निस्कर्षमा पुग्न सकिन्छ कि आजको भूटानी नेपाली गजलकारिता फष्टाउँदो छ । फक्रँदो र फुल्दो अवस्थामा छ । यसलाई उन्नत तथा अझ मीठो फल फलाउने जिम्मा भूटानी अगुवा गजलकारको हो ।
पछिल्लो समयमा समग्र नेपाली गजलकारितामै परिष्कारको आवश्यकता महसुस भैरहेको छ । केही गजलप्रेमीहरू परिष्कारको आन्दोलनमा समाहित भैरहेका छन् र, हुने क्रममा छन् । तसर्थ अव शिविरभित्रको गजलकारिता वा भूटानी नेपाली गजलले पनि संख्यात्म मात्र नभएर गुणात्मक पाटोलाई हेनुपर्ने बेला आएको छ । शिविरभित्रैबाट परिष्कारको आन्दोलन चालिनु वा यो आन्दोलनमा समाहित हुनुपर्ने बेला आएको छ । जदौ ।
सन्दर्भ सामग्रीहरूः
१. बराल कृष्णहरि, गजल सिद्धान्त र परम्परा ।
२. पन्थी, देवी, गजल सिद्धान्त र समालोचना ।
३. बिरही, केशु , गजलको सैद्धान्तिक परिचयः गजलका तत्व र तिनको संक्षिप्त अध्ययन ।
४. सिवाकोटी ‘पुरानाघरे’, भूटानी नेपाली गजल एक झलक ।
५. घिमिरे, भक्त, डायेस्पोरामा नेपाली गजल ।
६. भूटानबाट प्रकाशित केही साहित्यिक तथा हवाइ पत्र–पत्रिका तथा केही सामूहिक तथा व्यक्तिगत कृतिहरू ।
७. भूटानी नेपाली गजलका बारेमा लेखिएका केही आलेखहरू
keshubirahi2008@yahoo.com