शहीदकी छोरीसँग

कवि
कवि

रमेश गौतम
नर्वे

नानी
तिमीलाई निश्चय थाहा
तिमी बाँचेको युग
तिमी हाँसेको परिवेश
तिमी उभिएको धरातल !

तिम्रा बाबा बाबाहरु बाँचेको समय
आकाश अँध्यारो थियो
सुनकोश धमिलो थियो
वातावरण उकुसमुकुस थियो |

उस्तै अहिलेसम्म पनि !

तिमीहरुले
दिउँसै सूर्य अपहरण गरिएको
कालो दिनको अनुभव गर्न नपरोस् भनेर
तिमीहरुले
दिनानुदिनको दमन बिभेदको
महामारीले ग्रसित हुन नपरोस् भनेर
तिमीहरुले
स्वर दबाएर बोल्न नपरोस् भनेर
तिम्रा बाबा बाबाहरुले
सपना संगालेका थिए |

धेरै युद्धहरु लडिए चाम्लिमिथाङमा
धेरै उगेन वाङ्चुकहरु राजा भए समरमा
धेरै महासुर क्षत्रीहरु जिउँदै डुबाइए समुद्रमा !

कायमै रहयो त्यो अन्धकार |

हो नि नानी
सूर्य ग्रहणले निलेका
भयग्रस्त दिनको निश्पट्टताभित्र
तिम्रो घरको दियोसमेत निभेथ्यो
तिम्रो आस्थाको केन्द्र ढलेथ्यो |

तर त्यो एउटा निस्पृहता थियो
त्यो दियो निभाइको अन्धकारसंगै
….. क्षितिजमा कतै
प्रकाशको संकेत फैलेथ्यो,
त्यो केन्द्र ढलाइको दारुणतासंगै
अपरिभाषित भविष्यको कालखण्डभित्र कतै
नवीन उत्साहले जरा गाडेथ्यो |

आज
खण्डखण्ड बाँचेका छन्
तिम्रो बाबा बाबाहरुका सपना !

सुन्कोशका प्रत्येक सुसेलीहरुमा
तिनका आवाज घन्किरहेछन् आज
जुह्मोलरी तिनकै शीरहरु बोकेर
खडा उभिएको आज
साइप्रेसको टुप्पामा बसेर
ब्ल्याक रेभन तिनलाई सम्झेर
मौन धारण गरिरहेछ आज
अनि माथि आकाशमा
तिनकै पक्षमा गर्जन गर्दै
अटल बसिरहेछ ड्रागन आज |

भनिदेऊ है नानी
तिम्रा दादा दादाहरूलाई पनि
इतिहास
बलियाहरू कै लेखिएको जहिल्यै
तर बाँचिरहने छन् तिनीहरु
युगौंयुग / जन्मजन्मान्तर !

प्रस्तुत कविता पुण्य फाउन्डेसनको अन्लाइन सङ्कलन “शहीदहरूप्रति श्रद्धाञ्जलि” मा प्रकाशित भएको थियो।

यो पनि पढ्नुहोस्:

Shahidharu prati shraddanjali

Leave a Reply

Your email address will not be published. Required fields are marked *