“शहीदहरुप्रति श्रद्धाञ्जलि”मा प्रतिध्वनित स्रष्टास्वर
रमेश गौतम
नर्वे
पृष्ठभूमि:
साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास र विश्वीकरण, मानव चेतनाको अभ्युदय, सनातन परिपाटीमा ग्रसित सामाजिक संरचनाको विनिर्माणको घोषणा र नवीन सामाजिक पद्धतिको परिकल्पना आदि सबै साहित्यमार्फत नै भएका छन् | चाहे त्यो रुसी पृष्ठभूमिको “आमा” होस् या चिनियाँ जनक्रान्तिको “यूवाहरुको गीत”, चाहे त्यो अमेरिकी प्रजातन्त्रको उत्कर्षको व्याख्यान “अमेरिकामा प्रजातन्त्र” होस् या पुंजीवादको सूक्ष्म विश्लेषणको आलेख “दास क्यापिटल”, चाहे त्यो क्रिश्चियन धर्मको मार्गदर्शक “बाइबल” होस् या हिन्दूचेतना र जीवनदर्शनको गहन खुराक “भागवत गीता”, यी सबै समयसन्दर्भसँगै प्रतिस्थापित महान साहित्य हुन् जसले मानवीय, सामाजिक र राजनैतिक चेतनाको संवाहकको भूमिका निर्वाह गरेका छन् |
भूटानी परिवेशमा साहित्य यति उचो भएर उभिन सकेको छैन | यस देशमा भाषिक चेतनाको विकाससंगसंगै भाषाको गला दबाइएको छ | एउटा जातिको सभ्यताको निर्मम हत्या भएको छ | “एक देश-एक जनता” नीतिको खास्टोभित्र स्वतन्त्रताका सेनानीहरुको चिहान त छिपेको छ नै, संगसंगै यो देशमा जातीय अस्तित्व र आफ्नोपना विलयोन्मुख छ |
विषयप्रवेश:
“शिक्षा र सशक्तिकरणमार्फत न्यायको खोजी”लाई आफ्नो मूल दृष्टिकोण मान्दै यातना, हत्या, पुर्पक्षरहित नजरबन्द र कैद अनि बेपत्ता (गराइनु) का बिरुद्ध आवाज उठाउने र संसारभर भइरहेका अमानवीय र क्रुर गतिविधिका बिरुद्ध संघर्ष र शिक्षामार्फत अधिकाररहित आम बालबालिकाहरुलाई सशक्तिकृत गराउने लक्ष्यका साथ स्थापित पुण्य फाउन्डेसनले भाषा र साहित्यको उन्नति र विस्तारका क्षेत्रमासमेत आफ्नो उपस्थिति स्थापित गरेको छ | सन्दर्भ हो यसले गत वर्ष प्रकाशित गरेको “शहीदहरुप्रति श्रद्धाञ्जलि” नामक साहित्यिक संगालोको |
सन्दर्भ: शहीदहरुप्रति श्रद्धाञ्जलि:
यस संगालोमा अंग्रेजी र नेपालीमा गरी जम्मा १४ वटा लेखहरु प्रकाशित भएका छन् जसमध्ये ८ वटा लेख रचनाहरु नेपाली भाषाका छन् | यस आलेखमा भने नेपाली भाषामा लेखिएका ती लेख-रचनाहरुमा सुसेलिएका धुनहरुलाई स्पर्श गर्न प्रयास गरिएको छ |
हुँदैन विहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
(भूपी शेरचन)
त्यही देश बनाउने संकल्पसहित, देशमा व्यक्ति स्वतन्त्रताको विकास, जातीय गौरवको रक्षा, आम जनताबीच समानताको सुनिश्चितता आदि सपना बोकी सदियौंदेखि विच्छेदनको ओडारमा लुकेको भूटानमा समयका विविध कालखण्डमा स्वतन्त्रताका स्वर गुन्जिए | कसैले देखेन त्यहाँभित्र के भो, कसरी दबाइए यी स्वरहरु, कहाँ पुगे ती कर्मठ भूमिपुत्रहरु | “शहीदहरुप्रति श्रद्धाञ्जलि” संगलोभरि यिनै वीरहरुको स्तुतिगान गरिएको छ | तिनीहरुको हिम्मतको प्रशंसा गरिएको छ | तिनीहरुका बालबच्चाहरुसँग एकालाप गरिएको छ अनि सुदूर भविष्यका लागि एउटा सपना सांचिएको छ | कवि रमेश गौतमको यो कवितांश हेरौं:
सुन्कोशका प्रत्येक सुसेलीहरुमा
तिनका आवाज घन्किरहेछन् आज
जुह्मोलरी तिनकै शीरहरु बोकेर
खडा उभिएको छ आज
साइप्रेसको टुप्पामा बसेर
ब्ल्याक रेभन तिनलाई सम्झेर
मौन धारण गरिरहेछ आज
अनि माथि आकाशमा
तिनकै पक्षमा गर्जन गर्दै
अटल बसिरहेछ ड्रागन आज |
(शहीदकी छोरीसंग)
सत्रौँ सताब्दीको सुरुमा बिरानो भूमिलाई आफ्नो मान्दै भूटान छिरेका नेपाली मूलका यी सोझा मान्छेहरुले देशको सीमा सुरक्षा मजबुत बनाउनुसाथै देशको उन्नति र विकाशमा ठूलो योगदान पुर्याए | अर्जुन प्रधान आफ्नो लेख स्वतन्त्रताको एक ज्योतिमा भन्छन्:
राज्यले नेपालीभाषी भूटानी नागरिकले गरेको प्रजातान्त्रिक पहलकदमीलाई विश्वास नगरी बन्दुके शासन जमाएर भूटानी अग्रजले देखाएको बाटोलाई पहिलाएर आज विश्वमा चम्किरहेको छ । हरेक चम्किला तारामा हाम्रो खुन पसिनालगायत शीप, जाँगर अनि हाम्रा शहीदहरुको बलिदानी कथा छ ।
(स्वतन्त्रताको एक ज्योति)
देश त एउटा अमूर्त वस्तु जस्तो भइदियो सबैकालागि | यहाँ बेजोडको प्राचीनता छ | राजालाई भगवान मानिन्छ यहाँ | फूलपातीका साथ पूजा हुन्छ राजाको यहाँ | इतिहास पनि तिनै राजाहरुको लेखिन्छ | देशलाई उनीहरुको पेवा सम्पत्ति मानिन्छ | शहीदहरुले गरेको योगदानको कद्दरको कुरा त पर राखौं उनीहरुको स्मरण गर्नुसमेत अपराध हुन्छ | तर इतिहास त जनताको लेखिनु पर्ने हो | तर देशको भूगोल त जनताको हुनु पर्ने हो | यस्तै लाग्छ कवि बुद्धमणि ढकाललाई:
सालिक चाहिँदैन उसलाई
सुनका अक्षर पनि
इतिहास जनताको लेखिनुपर्छ
देशको भूगोल जनताको हुनुपर्छ
उसको अधूरो सपना
यी सन्ततीले पूरा गर्नु छ
(शहादत)
समय परिवर्तित भयो | स्वतन्त्रताको चाहनाको हुँकारमा राज्यआतंक मिसिँदा भयावह अवस्थाको सिर्जना भयो | यातना र हत्याको शिकार हुनबाट लाखको संख्यामा देशबासीहरु देश त्याग्न बाध्य भए | दुई दशकको अन्धकारभित्रको जीवनयापन पश्चात आज हामी छरिएका छौं संसारभरि | शहीदको सपना एकातिर छ; जीवन बाँच्नका लागि गरिनु पर्ने संघर्ष अर्कोतिर | कवि के.बी. चौहानका शब्द सापटी मागेर हेरौं:
शहीदको सपना बिर्सी, घमण्डले अनेकता । बाटो हराएको पथिक झैँ, हामी भयौँ कत कता ।। ५ ।।
भूटान हाम्री जननी हुन्, त्यसकै निम्ति शहीदहरु । ती स्वप्नालाई साकार पार्नु, ठूलो कर्तब्य हो बरु ।।६।।
(भुटानी शहीदहरुप्रति)
हाम्रो सोच नै फरक | हाम्रो अवस्था नै फरक | हामी त केही नभएका मान्छे | हामी त आफ्नो देशसमेत न भएका मान्छे | देशको निम्ति जीवन आहुती दिने शहीदका सन्तान भोक-भोकै बाँचिरहेछन् अनि उपचारको अभावमा अकालमै मृत्युवरण गरिरहेछन् | कवि डोम काफ्ले भावुक छन् यतिबेला :
प्रत्येक वर्ष चाडपर्व आउँदा ,
गाउँबस्तिमा रौनक छाउँदा
भित्ताको तिम्रो तस्बिरलाई
सोध्छन् तिम्रा भोका सन्तान,
सोध्छन् तिम्रा नाङ्गा शुभचिन्तक,
सोध्छन् तिम्रा शिष्यहरु,
अब हामीलाई मने मर्यो
गीत कसले सिकाउँछ?
अब हामीलाई अमर भूटान
गीत कसले सिकाउँछ?
(शहीदफूल)
पाटी-पौवा बनाउँने परम्परा त अब बिस्तारै आदिम बन्दैछ | के हुन सक्छ र सुनका अक्षरहरुको महत्व ? मनमुटुभित्रै सजिएको सिंहासनभन्दा अनुपम अरु के हुन सक्छ र ? कवि यतिराज अजनबी भन्छन्- अब तिम्रो आकृतिलाई भूगोलले सीमांकित गर्न सक्ने छैन:
मनमा पस्ने, बस्ने र अटाउने
कौशल भएकोलाई
किन चाहियो सुनका अक्षरहरू?
कंगारूको देशमा छन्
तिम्रा सालिकहरू,
उत्तर अमेरिकादेखि युरोपसम्म
फैलिएकाछन् तिम्रा प्रशंसकहरू,
तिम्रो बलिदानको तरङ्ग
सुनकोशदेखि कन्काई
कन्काईदेखि मुर्रे अनि
मिसौरी, मेकेंजी, भोल्गा हुँदै
महासागरहरूमा विस्तारित भैरहेछ आज |
(शहीदहरुप्रति)
समय बलवान ! कति शक्तिशाली सश्त्र प्रयोग भएछ समरमा ! नारी अस्मितामाथिको प्रहार | आज पनि त्यो घाउ त्यतिकै दुखिरहेकोछ | प्रतिकात्मक भाषामा बोल्न सिपालु हुन्छन् कविहरु | कवि प्रकाश धमालाको यो कवितांश:
बिचारी मेरी जननी रुँदै, कराउँदै, हिकहिकाउँदै
बलात्कार स्वीकार्न बाध्य थिइन्
त्यतिखेर
समय निश्चित परिधिभित्र कैद थियो
जञ्जिरमा, यातनामा, बलात्कारमा, गोला-बारुदमा
लठ्ठीमुंग्रीमा |
(समय, शहीद अनि सन्तान)
समय विरोधाभाषपूर्ण भएर जन्मियो | एउटाको खुसी अर्काको दु:ख ! कति मुटुरहित हुन्छ सत्ता ! आँखा भएर पनि अन्धो हुन्छ | हृदय भएर पनि भावशून्य हुन्छ | संगालोको अन्तिम कवितामा कवि लक्ष्मीप्रसाद ढकाल भन्छन्:
धमिल्यो आँखाको ज्योति तिनको सूर्य उदाउँदा
सल्लाह गर्न विवश देखिए तिनी सूर्य लोप हुँदा
निक्लियो तीतो नीति मेरो देशको माया देख्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा
(परिवर्तन खोज्न खोज्दा)
यसरी यी सबै भावहरुको पृष्ठभूमिमा “शहीदहरुप्रति श्रद्धाञ्जलि” साहित्यिक संगालो एकातिर वियोग गीतजस्तो भएकोछ, अर्कोतिर भोलिको सुमधुर खोजीजस्तो भएकोछ | अनेकन भावहरु एकै चोटी मुखरित भएका छन् यहाँ | विश्लेषण जति गरे पनि पूर्ण हुँदैन | कविताका प्रत्येक अंशमा फरक प्रकारका भोगाइ छन्, दर्द छन्, प्रतिकूलता छन्, आशा छन्, वितृष्णा छन्, क्रोध छन्, आक्रोस छन् अनि काल्पनिक भए पनि क्रूरताका विरुद्ध उभिएका पूर्ण कद आकृतिहरु छन् जसले सावधान गराइरहेछन् कि परिवर्तन अटल छ |
उपसंहार:
भाषा साहित्यको विकास र विस्तारलाई आफ्नो योजनामा राख्ने धेरै संस्थाहरुमध्ये पुण्य फाउण्डेशन पनि एक हो | स्थापनाको छोटो अवधिभित्रै एउटा साहित्यिक खुराक पस्किएर यस संस्थाले साहित्यप्रतिको आफ्नो झुकावलाई मूर्त रुप दिएकोछ | यद्यपि यो पूर्णता होइन | भूटानी शरणार्थीहरुको ठूलो समूह पुनर्बासमा गएपछि भाषा-साहित्यको विकास धरापमा परेको छ | यस अवस्थालाई न्यूनीकृत गर्न फाउण्डेशनले गतिला योजना लिएर आओस्, अपेक्षा गरौँ |
One Reply to ““शहीदहरुप्रति श्रद्धाञ्जलि”मा प्रतिध्वनित स्रष्टास्वर”