सन्नाटा
टी.आर राई (आँशु)
सबै मौन छन् आज यहाँ वरिपरि
सुन्सान ठाउँमा हिँड्दैछु म त कसो गरि ।
विरक्तिएका क्षणहरु अटाउन नसकि मनभरि
बितेका ती दिन, महिना र सालहरु सम्झी घरिघरि ।। १ ।।
आफ्नै यात्रा पनि अब निश्चित दूरीमा
समाप्त हुँदा नपर्ने भो हिँड्न हुरीमा ।
यत्रतत्र छरपष्ट भइकन हराएछ नि गरिमा
टुक्रेछन् ती आवाजहरु बुझ्दै नबुझ्ने गरी महिमा ।।२।।
वर्षौपछि यहाँ खडेरी र सन्नटा छाएका छन् ।
कला र निर्माणको काफी निशानाहरु मेटिएका छन् ।
जैविक तथा वनस्पतिहरु फस्टाउँदै गएका छन्
जन्म मरणको होडसंगै आज यहाँ यस्तै भएका छन् ।। ३।।
तर पनि सुटुक्कै वसन्त त आइहालेछ
फूलहरुलाई हंसाउन र यौवन दिन पो लागेछ ।
खोई तिमीहरुको मालीहरु? भनि सोध्न थालेछ
जवाफमा तिनीहरु त सरुवा भै सकेको पाएछ ।। ४।।
यस्तो सुन्दा वसन्त नै रुन मात्र सकेछ
टुहुरा पुष्पहरुको ख्याल प्रति गहिरो चिन्ता बढेछ ।
अल्लमल्ल तिनीहरुको महत्व धेरै घटेछ
वसन्तको अर्को आगमनमा शंकै शंका बढेछ ।। ५ ।।
जहाँ रहेपनि मालीहरु नित्य व्यस्त नै रहे
आफ्नोपनलाई नभुली कति कष्टहरु सहे ।
अनिश्चित भविष्यमा पनि सुन्दर रचना गरी गए
अर्कैको पनि आफ्नै सम्झे अन्यलाई जस्तो भए ।। ६ ।।
अनि त हुर्काउन सके ती सुन्दर फूलहरु
लटरम्म फलाउन सके ती कैयौं फलहरु ।
भग्नवशेष परिधिमा ती जिवितहरु देखें बरु
वेवारिशे ढंगमा हावा चल्दा हल्लिरहेको देखे अरु ।। ७ ।।