सप्रतिबन्धित जीवन

डेञ्जोम साम्पाङ
नेपाल-

सुकेको पात जस्तो-
निस्फिक्री,
निश्चिन्त,
निसंकोच,
कहाँ सक्छु
हावासँग,
बताससँग,
दिशाहीन उड्न,
कहाँ सक्छु,
जता लाग्यो त्यतै
पानिमाथि बग्न !
म सप्रतिबन्धित छु
जीवनसँग,
स्वतन्त्रताको अभाव जीवन हो-
मैले हुँदैन भन्नु पर्छ,
मैले नियम बनाउनु पर्छ,
मैले बिरोध गर्नु पर्छ ।
सूर्यको किरण जस्तो
निराकार,
निर्विरोध,
निकानन्द भएर
कहाँ सक्छु
फूलमा पनि,
काँडामा पनि
प्रकाश पुर्याउन,
कहाँ सक्छु
जहिलेसुकै
पृथ्वीमाथि उदाउन !
मेरो जन्मको अस्तित्वलाई आकार दिन
म निषेधित छु,
परतन्त्रमा हुनु म बाँच्नु हो-
मैले मैना चरी झैँ बोलिदिनु पर्छ,
मैले छेपारोले झैँ रङ्ग फेर्नु पर्छ,
मैले गोहिले झैँ आँसु झार्नु पर्छ,
असत्यको सिहांसनबाट
निर्देशित छु-
हो,
आफैं भैरहने,
नगरिकनै स्वत: हुने कुराहरुलाई
अस्वीकारनुको बाधामा छु
त्यसैले ;
कहाँ सक्छु
आकाश जस्तो,
आवाज जस्तो,
सबैमा फैलिन-
कहाँ सक्छु
हिमाल, तराई
जहाँसुकै उम्रन !
(स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *