समयको जन्म
रमेश गौतम
नर्वे
समय
एउटा भौडीमा जन्मियो
शायद एउटा ओडारमा जन्मियो।
समय
आस्था भएर फैलियो
विश्वासको / सपनाको
झरना भएर मौलायो।
आँखाभरि
अनन्त भविष्य नचाएर
काखभरि
मृदु कामना सजाएर
हृदयभरि
करुण भावना फुलाएर
एउटा नीलिमा चम्कियो !
गौँडाहरूमा / भौडीहरूमा / ओडारहरूमा
शायद उन्यु फुल्थे
अमिबा, बेक्टरिया फैलन्थे
वा शायद
बाघ-भालु गर्जन्थे;
उन्युको फूलसँगै
अमिबा, बेक्टरियाको फैलावटसँगै
वा
बाघ-भालुको गर्जनसँगै
एउटा समय जन्मियो ।
जे होस्
समय जन्मियो
परिश्रमका पसिनाहरूमा
सपनाका बिम्ब-प्रतिबिम्बहरूमा
अलिकति आशा बोकेर
साँच्चै
अलिकति विश्वास जन्माएर
आफूसँगै ।
प्रतिस्पर्धा र होडबाजीहरू
जीवन बन्न सक्थे भविष्यमा
बाहिर उड्ने जुनकिरीको
दृष्यावलोकन गर्न विवशतामा
समय जन्मियो ।
समय
प्रतिकूलता चिरेर जन्मियो
अलिकति दयाको भिखारी बनेर
अलिकति (शायद) कर्तव्यको सम्पादक बनेर
जे होस्
जन्मनै पर्ने सत्यता जन्मियो;
रवि-किरणको सुन्दर लालिमासँगै
एउटा प्रभात जन्मियो
अनन्त भविष्यको सपना देखाएर
एउटा शाश्वतता जन्मियो ।
अँध्यारो ओडारभित्रबाट
जुनकिरीको चम्काई हेरेर
कालो पर्दाभित्र
समय मुस्कुरायो
एउटा मुस्कुराउनै पर्ने बाध्यता !
समय
जीवन पाउने आशामा जन्मियो
आस्थाका पारिजातहरू
वा
कामनाका लालीगुराँसहरू
फुलाउने सपनामा जन्मियो ।
२७ जुलाई २००२
हात्तीसार, धरान