समय, सिरी र गोपनीयताका सङ्कथनहरु

शिवलाल दाहाल
केन्टकी, अमेरिका 

म यतिखेर गुगल पहाडमा उभिएको छु
र हेरिरहेछु आफैँलाई
र हेरिरहेछु आफु उभिएको धरातललाई
खासमा भन्नु पर्दा म आफैँलाई नाप्तै छु
सिउँडीका काँडाले जिन्दगीको एकएक कण
यो लम्बाइ यो चौडाइ
यो उच्चाइ, यो आयतन, यो घनत्व
प्रत्येक मेरा क्रियाकलापहरू
प्रत्येक पलपलका मेरा खोजीहरू
प्रत्येक क्षणक्षणका मेरा जिज्ञासाहरू
मेरा चित्रहरू, मेरा सम्बन्धहरू
मेरा व्यवहारहरू, मेरा रुचिहरू
मेरा कथाहरू, मेरा गतिविधिहरू
मेरा यात्रा, भ्रमण,प्रियजनसँगका भेटहरू
सबका सब म देख्छु यो पहाडको थाप्लोबाट

अँ हिजो
राति बाह्रबजे गुगलकी सिरीले सोधेकी थिई
‘तपाईं, भोलि कतिबजे उठ्ने,
बिहान ६.३९ बजे ?’
‘हजुर’
बिहानको ६ बजे नै म बिउँझिन्छु
समयको आतङ्कले
र ‘अलाम’ बन्दगरिदिन्छु
हिँड्ने तयारी गर्न थाल्छु
चियाको गिलास हातमा लिएर गाडीसम्म पुग्छु
सिरी सोध्छे, ‘के विश्वविद्यालय जाने हो ?
१० माइल छ, २१ मेनेटमा पुगिन्छ’
बाटामा ‘स्टप’ साइन आएपछि
चियाको एकदुई घट्का निल्छु
विश्वविद्यालय पुगेपछि सिरी भनिदिन्छे
‘तपाईँ गन्तव्यमा पुग्नु भयो’
कक्षाबाट बाहिर निस्केपछि सिरी अगाडी सर्छे फेरि
‘तपार्इँ आफ्नो निवास जाने हो ?
१० माइल छ, २३ मिनेटमा पुगिन्छ’
घरमा आउँछु
झोला फ्याँकेर हतार हतार खाना खान्छु र
अर्को यात्राको लागि बाहिर निस्कन्छु
पार्किङ लटमा पुगेपछि
फेरि सिरी भन्छे
‘के तपाईं ब्यास्फोडम्यानर जाने हो ?’
सिरीलाई सब कुरा थाहा छ
म कहाँ जान्छु
म के खान्छु
म कुन बाटो हिँड्छु
म कति समयमा कहाँ पुग्छु
त्यसैले म यतिखेर समयको तमासा हेरिरहेको छु
गुगलको पहाडमा उभिएर
अनि सम्झिरहेको छु दिउँसो विश्वविद्यालयमा
प्राध्यपक जोनले कोरलेका गोपनीयताका संकथनहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *