सम्झँदा
नारायणशरण कोइराला
मेलबर्न अस्ट्रेलिया
सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो
भन्थे हाम्रा बाऊ बाजे
ज्यानको बाजी राखेर खोलेको बाटो ।
नपत्याए सोध ती पसिनाका थोपाहरूलाई
कति घुम्ती पार गरी खनिएछ
फुञ्छोलिङ देखि थिम्पुसम्मलाई ।
कम्मरमा नाम्लो र दाम्लो बाँधेर रूखमा
मूल सातो जान्थ्यो ब्लाष्टिनले ढुङ्गा फोर्दामा ।
घरधुरी गन्ती झार्लाङ्गेमा हाजिर हुनुपर्ने
किर्ना र भुसुनाको टोकाई
सर्दार र बैदारको हप्काई सहनु पर्ने ।
महिनौँ समय ती पहरा र
भञ्ज्याङ्गलाई सुम्पिएर
बल्ल बाँचियो भन्दै घर फर्किन्थ्यौँ
खाली हात लिएर ।
शिविरको अवस्था छाप्रोको बसाइमा
दिन गन्थे बाऊ बाजे स्वदेशफिर्ति पर्खाइमा ।
आशाको ती त्यान्द्राहरू सुकेर गए
खुन पसिना बगाउने ती बाऊ बाजे परम्पद भए ।
Thank you so much Bhutanese Literature. Com