सम्पादकीय
“असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतमगमय” भन्दै लगभग चार हजारवर्षदेखि निरन्तर असत्यका विरुद्ध सत्य, काला कर्तुत तथा इर्ष्या र घमण्डविरुद्ध ज्योतिर्मय सद्भावना, सबैका मनमा शित्तल उच्छवास प्रदान गर्ने लालसा, हृदयको अन्धकार कन्दरामा प्रकाशपूञ्ज पुर्याउने र मृत्यु अर्थात् समाप्तिलाई समेत अमृत छर्केर पुन व्युउँताउने, अस्तित्वलाई जगाएर पुनः कायम गराउने अभियानमा हाम्रो समाज लागिरहेको छ ।
हामी पनि यही समाजको बृहत् परिधिमा एउटा सानो अंश हौं । हाम्रो पनि चाहना र अभिलाषा उही हो जुन सदियौंदेखि मान्छेले खोज्दै आएको छ । तर, भेटेको छैन । र, शायद भनेजति त भेट्दैन पनि ! यो चाहनाको केन्द्रविन्दु नभेटेर नै मान्छेले संसारमा नवनिर्माण गर्छ । लगातार गन्तव्यको खोजी र अभिष्ट प्राप्तिको कसरतमै मान्छेले सृजना र निर्माण गर्दछ । हामी पनि यही यात्रामा छौं । हाम्रो यस यात्राको माध्यम हो साहित्य । साहित्यले नै मान्छेहरुको स्पन्दनलाई छुन्छ र आभाष दिलाउँछ । एक मान्छे र अर्को मान्छेको हृदयबीचमा लेनदेन गराउन सक्छ साहित्यले । समाजका हरेक गतिविधिलाई प्रकटीकरण गर्ने गरी साहित्यले ऐना देखाउँछ समाजलाई । त्यसैले ऐतिहासिक कालदेखि भन्दै आइएको छ, “साहित्य समाजको दर्मण हो ।” र, यो अभियानको यात्रा भाषाको जगमा टेकेर अघि बढ्दछ ।
भूटानको तत्कालीन सरकारले सन् १९९० ताका हामीलाई सम्पूर्णरूपमा समाप्त गराएको थियो । भाषा, संस्कृति, सामाजिक पहिचान तथा राष्ट्रियताको परिधिबाटै पाखा लगाएर हामीलाई भूटानको सरकारले ज्यूँदो लाश बनाएको थियो । तर, शरणार्थी बनेर पनि हाम्रा श्रद्धेय अग्रजहरुको लगनशीलता र जेहन्दार सचेत युवापिढीको जागरुकताले हाम्रा भाषिक-साहित्यिक स्पन्दन मर्नुपरेन. बाँच्यौं हामी अस्तित्व पहिचानको दृष्टिले ।
आज फेरि तेस्रो मुलुक पुनर्वाश भइसकेको परिप्रेक्ष्यमा हामी एकचोटि फेरि मर्नुपर्ने स्थिति आयो । तर केही सचेत युवाहरुको सक्रियताले हामी भाषिक-साहित्यिक रूपमा मरिहाल्नु परेन । फेरि पनि हामीले साइबर विश्वमा प्रवेश गर्यौं र पहिलेको तुलनामा अझ विकसित हुन सफल बन्यौं । आज www.bhutaneseliterature.com नाम गरेको हाम्रो वेबपेजमा संकलित लगभग १४ सयजति सृजनाहरुले हाम्रो समाजको वीगत, वर्तमान खोतलेर भविष्यतर्फ सचेतताको लागि आग्रह-अनुरोध गरिरहेका छन् । यस वेबपेज स्थापनाको चौथो वार्षिकीमा आज हामी तपाईंहरुका अघि उभिएका छौं, पुनः सहयोग, सद्भावना, सहृदयता र सहकार्यका लागि याचनापूर्वक हात फैलाएर ! आजसम्म सहयोग र सहकार्यमा ज-जसले हात फैलाउँदै आउनु भएको छ, उहाहरु सम्पूर्णमा कृतज्ञता अर्पण गर्दै पुनः निरन्तरताको अपेक्षा राखेका छौं ।
आजको परिवेशमा केही दृष्टिले हामी सुविधासम्पन्न देशहरुमा रहे पनि विभिन्न दृष्टिले अति कमजोर छौं । आर्थिक, प्राविधिक तथा लगनशील जनशक्तिको हिसाबमा हामी निकै नै कमजोर छौं । आदरणीय पाठक तथा शुभचिन्तकहरुमा यो अवस्थाको आँकलन गरी हाम्रो साहित्यिक स्पन्दनको बचाउखातिर निर्णायक कदम उठाइदिनँ अनुनयसहित यस सम्पादकीयका वाक्यहरुलाई यहाँ पूर्णविराम दिने अनुमति चाहन्छौं ।