साइबरी गाउँमा
सञ्चमान खालिङ
अमेरिका
हाई
ए. एस. एल ?
इमेली भाषा नबुझेर प्रष्ट्याइ मागेँ
उत्तर—
एज, सेक्स, लोकेशन
दुःख लाग्यो
यान्त्रिक घर्षणमा
गठिला भाषा खिइएर
होचा, पुड्का हुँदा रहेछन्
अनि
मागेको तथ्याङ्क पेसेँ
नाङ्गुते शब्दमा गाली गर्यो
नौ मुरी तोरी उखाली दिए जस्तो
डराउँदै अर्कालाई उही तथ्याङ्क पेसेँ
विपरीत लिङ्गी परिछिन्
स्वागत गरिन्
परिचय भयो
घाम डुबेकी गाउँकी मित्रसंग
सम्झिएँ
के के न गहन बात होला
विषय रोचक होला
तर यौवन भोगेका कुराहरु
नग्न तस्वीरका प्रदर्शनी सिवाय
अरु केही भएन ।
वेवकयामाराको माध्यमद्वारा
उत्तेजक भाव-भङ्गीहरु
देखाइरहिन्
म ङिच्च हाँसिरहेँ
कतै यस , कतै नो
भने हुँला
यति बेला
आफैंलाई एउटा प्रश्न सोधिरहेँ-
च्याट संस्कृतिले
नयाँ पुस्तालाई कहाँ पुर्याउला ?
त्यसलाई जाँच्ने कसी के ?
नाप्ने यन्त्र के ?
श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट