साहित्यमा नवीनताको खोजी-१

रमेश गौतम
नर्वे

[दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.]

विषय प्रवेश
साहित्यलाई सदियौँ अघिदेखि समाजको दर्पण भनिएको छ; अद्यापि यो समाजको दर्पण रहिआएको छ। समाजको दर्पण यो अर्थमा कि समाजमा जे घट्यो, भयो त्यही कुरा दर्पणमा प्रतिबिम्बित हुनेगर्छ।  यसरी साहित्यमा हुने चिन्तन-चर्चाहरु समाज र समयसापेक्ष हुन आवश्यक हुन्छ।  त्यसैले साहित्यचिन्तन समयसापेक्ष चिन्तन हो।   यसलाई समय सन्दर्भहरुले प्रत्यक्ष प्रभाव पर्ने गर्दछन् ।  समयसन्दर्भहरु संगसंगै समाजमा गतिशील रहेका त्यस्ता अनेकन मान्यताहरु धराशयी बन्दै जान्छन् र नयाँहरुको  अभ्युदय हुँदै जान्छ।   यसरी समाज रुपान्तरणको बाटो खनिँदै जान्छ।  रुपान्तरणका अनेकन रुप हुन्छन्; मोड हुन्छन्। मान्छे अस्तित्वमा रहिआएका सामाजिक रीति, नियाम र संस्कार अपुरो भएको महसुस गर्छ र नयाँहरुको खोजी गर्न थाल्छ।  नयाँहरुको खोजीको क्रममा ऊ सबै संग साक्षात्कार गर्न अघि सर्छ र यसरी राम्रा-नराम्रा सबै कुराहरुले आतित्वमा आउने असल मौका पाउछँन्। यस्ता कार्य भाइरहँदा समाज, राजनीति र संस्कारले निर्माण र सिद्ध गरेका अनेकन् समीकरणहरु गलत ठहर्न सक्छन् र फेरि एउटा रिक्तताले जन्म पाउँछ।  रिक्तता पूर्ति हुन्छ र यसरी नै समाज चल्दै जान्छ।

यी सबै कुराहरुको प्रभाव सर्वप्रथम साहित्यमा पर्नजान्छ र त्यसैले साहित्यले हरपल नवीनताहरुलाई समेट्छ।  यतिबेला साहित्यका सन्दर्भमा लेखिरहँदा म स्पष्टत: आफ्नो स्थान खोजिरहेको छु। जटिल अवस्थामा छौँ हामी। हामी आफ्नै पुर्ख्यौली थलोमा एउटा पट्यारलाग्दो आप्रबासमा बाँचिरहेका छौँ।  हाम्रो बोलीमा प्रबासी लवज छ।  हाम्रो आचरण मा भूगोलले निर्माण गरेको अमीट छाप छ।  तथापि यतिबेला हामी परिवर्तनका असंख्य काँचुली फेर्दै साँध-सीमाहरूले रोक्न नसक्ने, भौगोलिक बनावटले मूल्यांकन गर्न नसक्ने अनि भाषिक लवजहरुलेसमेत निर्क्यौल गर्न नसक्ने एउटा फराकिलो सागरमा पौडी खेलिरहेका छौँ ।  यस्ता सन्दर्भ हरुलाई अब कोट्याउनै पर्ने समय आइसकेको छ।

म नेपाली साहित्यको केन्द्रीय मूलधारमा मिसिँदै गरेको आप्रबासी नेपाली साहित्यको एउटा खहरेको आफ्नो अस्तित्वको कुरा गरिरहेको छु र आफ्नो सम्मानजनक उपस्थितिको खोजी गरिरहेको छु।  जहाँ पनि समावेशीकरण को कुरा उठ्दै छ आज।  जहाँ पनि आफ्नो हिस्साको कुरा हुँदै छ आज र हामी कठिन मोडमा छौँ। हामीले हाम्रो उपस्थितिको खोजी हरेक ठाउँमा उत्तिकै सवालातापूर्वक गर्नु परेको छ।

हामी भूमण्डलीकरणको जटिलता आफैँ भोगिरहेका छौँ; हामी थाहै नपाई यतिबेला विश्वग्राममा बाँचिरहेका छौँ। यद्यपि हाम्रो आचरणमा त्यो परिवर्तन स्पष्ट देखिइरहेको छैन। हाम्रो लेखनमा उही मध्ययुगीन शैली रहिआएको छ। अब लेखिने साहित्यमा समावेशीकरण, भूमण्डलीकरण, विज्ञानका चमत्कार, सामाजिक रुपान्तरण, संस्कृतिक परिमार्जन, सीमान्तीकृत स्वर सबै लेखिनु पर्छ। यिनै कुराहरुको समष्टिगत रुपले नै आजको वास्तविकतालाई प्रतिनिधित्व गर्छ, उजागर गर्छ। भूटानी नेपाली साहित्यको विकास वा भावी अंगिकार गरिनु पर्ने मार्गका बारेमा उल्लेख गर्न समकालीन  नेपाली साहित्यिक परिवेश र विश्व साहित्यको वर्तमान अवस्थाका सन्दर्भमा प्रष्ट पारिनु पर्छ। यस हेतु गहन र विस्तारित छलफल, अन्तराष्ट्रिय गोष्ठी आदि गर्दै अघि बढ्नु श्रेयस्कर हुनेछ।

यस लेखमा साहित्यको गति निर्धारण गर्ने केही त्यस्ता सन्दर्भहरु निम्नानुसारका उपशीर्षकहरुमा सङ्क्षेपमा व्याख्या गर्न चाहन्छु:

()सामाजिकस्वरूप:
माथि उल्लेख गरिसकियो कि सामाजिक संरचना साहित्यको एउटा मापदण्ड हो ।  हाम्रो समाज अनादिकालदेखि विभाजित र खण्डित थियो।  यस अर्थमा हाम्रो साहित्यमा पनि त्यसैका प्रतिबिम्बहरु स्पष्ट रुपमा कोरिँदै गए। नेपाली साहित्यको विकसकालीन खण्डमा लेखिए जस्तै स्तुतिगानहरुको जन्म हाम्रो साहित्यमा धेरै पछिबाट मात्र भएको छ। यसको प्रमुख करण नै भूटानीहरु माझ सहित्य-साधना धेरै पछिबाट मात्र थालिनु हो। जतिबेला नेपालभित्र नेपालीहरुले नेपाली साहित्यले आधुनिक कालमा प्रवेश गरिसकेको शंखघोष गरिसकेका थिए त्यति बेला भूटानी नेपालीहरु भाषा सिकाइको चरणमा थिए। हाम्रो समाज पनि उही नेपाली संस्कार भित्रको समाज थियो, मुट्ठी भर हुने खानेहरुबाट असंख्य हुदाखानेहरु शासित रहने समाज। तिनै सामाजिक मान्यताहरुले जन्माएका संस्कारहरु हम्रालागी सर्वोपरि बने र तिनैहरुबाट हामी निर्देशित रह्यौँ। अझ बढी सनातन संस्कार र एक प्रकार अन्ध परम्परामा विश्वाश गर्ने विद्वानहरुको मन्त्रका बलमा समाज निर्देशित रह्यो र यही समाजको निर्देशनमा साहित्यले यही बाटो अँगाल्यो।

()युद्ध
मानव सभ्यताको विकासक्रमलाई नै चुनौती दिँदै गएको शताब्दीमा दुईवाट त्यस्ता ठूला युद्ध भएका छन् जसले मानवीय सोचलाई बदलिदिएका छन्, मानव सभ्यताको पुनर्व्याख्या गरिदिएका छन् । विश्व मानवको जीवन भोगाइको वृत्तमा यस अवस्थाले अनौठो चेतना जन्माएको छ। विश्व परिप्रेक्षमा विश्व युद्धको समाप्तिपछि चेतनाको ठूलो लहर फैलिएको छ। अब मान्छे युद्धविरोधी भएको छ।   विगतमा लेखिने साहित्य र युद्धपछि लेखिने साहित्यमा यहीनेरबाट भिन्नताले जरा गाडेको आभाष हुन्छ।  त्यसो त विश्वको जुन सुकै कुनो पनि त्रासदीपूर्ण युद्धको प्रभावबाट टाढा रहेको छैन । यो कुराले विश्व साहित्यमा ठूलो परिवर्तन ल्याएको छ। भनिन्छ, साहित्य, कला र संस्कृतिमा उत्तरआधुनिकताको प्रादुर्भाव यहीबाट भएको हो ।

(ग)परम्पराप्रतिकोगहिरोशंका
साहित्यमा परम्पराले ठूलो भूमिका निर्वाह गर्दछ । हामीले स्वीकार गरिआएका धेरै परम्पराका विज्ञान सम्मत तथ्य भेटिँदैनन। आधुनिक शैक्षिक परिपाटी अवलम्बन गर्दै फराकिलो सोच निर्माण गर्न व्यस्त आजको पुस्ता पिता-पूर्खाले चलेका पाइलाभन्दा केही अघि दगुरिरहेको छ। यो पुस्तामा निश्चय पनि हामीले पालना गरेको परम्पराप्रति गहिरो शंका छ । सतिप्रथाको अन्त्यको घोषणा, विधवालाई रातो साडी लगुना अनुरोध गर्दै गाइएका गीतहरु, दासताबाट मुक्ति पाउन नेपाली नारीले विना लोग्ने (लोग्ने मानिसको सहायताले ) सन्तान जन्माउन देखेका सपना हरु, विधवाको पुनर्विवाह गरिएका फिल्मी फ्ल्यास्ब्याकहरु, छुवाछुत प्रथाको अन्त्यकालागि गरिएका जागरण अभियानहरु, परिवारनियोजनका साधनहरुको प्रयोग र गर्भपतन, हाम्रो टिभी सेटमा देखा पर्ने अर्धनग्न युवतीहरु आदि परम्परा तोडिएका ज्वलन्त उदाहरणहरु हुन। यस मामिलामा पनि नेपाली समाजको पछिपछि मात्र हाम्रो समाज आउँछ । म यहाँनेर वर्तमान युवापुस्तामा हावी रहेको खुल्लापनालाई बढावा दिइरहेको छुइँन, म हामीले आज स्वीकार गर्नै पर्ने सत्यताको कुरा गरिरहेको छु।

परम्पराप्रति शंका गर्ने क्रममा वंश परम्पराको पनि अन्त्यको आव्हान भएको छ। कुनै समय नेपालीहरुका लागि राजा भगवान थिए।  पुस्तकमा यसै भनेर लेखिन्थ्यो; बच्चा हरुलाई यसै भनेर पढाइन्थ्यो।  राजा दयालु हुन्थे।  जनताको पीडाले उनी आहत हुन्थे र पीडामोचनकालागि तत्काल आदेश दिन्थे।  उनी सबैका भगवान थिए ।  उनी पुजिन्थे आफूजस्तै मान्छेबाट।  कतै अन्यायको कुरा सुनिँदैनथ्यो।  किताबी राजा र वास्तविक राजामा कति फरक हुदोरहेछ!  आज तिनै नेपाली जनताले राजालाई सिंहासनबाट खेदेका छन् ।  यहाँनेर हाम्रा बारेमा उल्लेख गरिनु पर्दैन।  हामी त्यही कालो मान्छेका शिकार हौँ।  यी सबै कुरा साहित्यमा आउँदा साहित्य ज्यादै गहन बन्दै जान्छ ।

(घ) सामाजिकसंरचनामापरिवर्तन:
पूर्वउदृत गरिसकियो कि समाज समयसपेक्ष हुन्छ ।  आज त्यही भाइरहेको छ। अनेकौँ कोणबाट समाजमा परिवर्तनका छालहरु विद्यमान भइरहेका छन् । एकातिरबाट मान्छे उन्मुक्तिको लडाई लडिरहेको छ भने अर्कोतर्फ ऊ थाहै नपाई एक्लो बगरमा रुपान्तरित भइरहेको छ। आजको मान्छेसंग आफ्नो सम्बन्धको वृतमा आफ्नै नजिकका मान्छेहरु मात्र छन् । विश्वग्राममा रुपान्तरित आजको समाज आफैँमा पूर्ण छ तर एक्लो छ  । घरैमा बसेर संसार हेरिरहेको छ आजको मान्छे तर आफ्नै घरको तल्लो तलमा बस्ने मान्छे चिन्दैन ऊ । विकास,उन्नति र तीव्र सहरीकरणले दिएका यिनै उपहारहरुको सहायताले आजको मान्छे यन्त्रको रुपमा परिवर्तित भएको छ  । उसले आज अनुभव गर्ने समाज भनेको आफू जस्तै मान्छेहरुको जमात मात्र हो जहाँ अर्काको पीडामा ऊ कम मात्र सामेल हुन्छ अनि अर्काको खुसीमा सरिक हुन पनि कम फुर्सद हुन्छ उसलाई। यसरी एकातर्फ मान्छे उन्नतिको गन्तव्यतर्फ उन्मुख भइरहेको छ भने अर्को तर्फ ऊ विच्छेदनको बगर बनिरहेको छ । हामीले देखेका सामाजिक संरचनामा परिवर्तनका सपनाहरु आफ्नै अस्तित्वको खोजीमा व्यस्त छन् । हुन त यो अवस्था सीमित सहरी क्षेत्रको मात्र हो तर तीव्र गतिमा शहरीकरणले आकाश चुम्दै छ र निश्चय पनि यस अवस्थाले हाम्रा मानवीय सोच र मान्यतामा ठूलो परिवर्तन ल्याउँछ। यस अवस्थाको प्रभाव हाम्रो शरणार्थी बसाइमा कम लागु हुन्छ यद्यपि यहाँ पनि परिवर्तन छन् नै । यस्तो ह्रासोन्मुख मानवीय चेतनाको गहिरो छाप शिविर बाहिरका शहरहरुमा बस्ने भूटानी शरणार्थीहरुमा स्पष्ट देखिन्छ । यसले हाम्रो समकालीन साहित्यमा पर्ने प्रभावलाई नजरअन्दाज गर्न सकिदैन।

() जीवनशैलीमाविज्ञानलेल्याएकोपरिवर्तन

यस शीर्षक अन्तर्गत संसारको व्याख्या गर्न सकिन्छ जुन यहाँ आवश्यक छैन । हामी सबै जान्दछौ कि हाम्रो जीवनशैलीमा विज्ञानले ठूलो परिवर्तन ल्याएको छ । आज छोटो समयमा संसार परिक्रमा गर्न सम्भव भएको छ  । टेष्ट्युव बेबीहरुको उत्पादन भएको छ । कृत्रिम गर्भाधान सम्भव भएको छ । मानव  क्लोनिङ् सम्भव भएको छ  । अङ्ग प्रत्यारोपण जस्ता कार्य सफलतापूर्वक सम्पन्न गरेर आज चिकित्सा विज्ञानले तहल्का मच्चाएको छ । कृत्रिम श्वास-प्रश्वासको कुरा छोडौ कृत्रिम मुटु र मृगौलासमेत उत्पादन गरी प्रयोगमा ल्याइदैछ । हाम्रा समाजमा नारीले छोरी मात्र जन्माएको वा बच्चा जन्माउन नसकेको आरोप खेपिरहेको  यो बेला १५-२० हजार डलर भए गर्भ बोक्नु पर्ने पीडाबाट मुक्ति पाउछन विश्व नारीहरुले । आफ्नै वंशानुगत गुण भएको भ्रुण अरु कसैको गर्भमा हुर्काउदै ढुक्कसंग बाच्न सफल हुदैछे आजकी नारी।  यसका निम्ति आर्काका निम्ति शुल्क लिएर गर्भाधान गरिदिने व्यावसायिक आमा (surrogate mothers) प्रशस्तै पाइन्छन आज। यस कार्यले संसारका धेरै ठाउहरुमा कानुनी मान्यता पाउदैछ ।  व्यावसायिक सरोगेसी हाम्रो आगनसम्म आइपुगेको छ । असंख्य मानिसहरु गरिवीको रेखामुनि रहेको (जसका कारण पैसाकालागि कम गर्ने नारी/आमा पाउन सजिलो हुन्छ), यसले कानुनी मान्यता पाएको र तुलनात्मक रुपमा सस्तो हुने भएकाले व्यावसायिक सरोगेसीका लागि भारत सुगम गन्तव्य बन्दैछ भने नेपालमा यसका पक्षमा आवाज उठ्दै छन् । यसरी आफूलाई माया गर्ने र अर्काको अस्तित्वको ख्यालसमेत नगर्ने कटु परम्पराको विकास हुदैछ र समयक्रमसंगै  ग्राह्य पनि हुदैछ। आज विशेष सर्जरी मार्फत यौनाङ्गसमेत प्रतिस्थापन गर्दै सेक्स हर्मोन इन्जेक्सन ग्रहण गरी लिंग परिवर्तन गर्न सकिन्छ । यी सबै कुराहरु व्याप्त छन् विश्व साहित्यमा र तीव्र रुपमा प्रयोग हुदैछ समकालीन नेपाली साहित्यमा।

प्रविधिको अपरिमित विकासबाट एकातिर संसार आजकोभन्दा करोडौ गुणा असल बासस्थान बन्नतर्फ उन्मुख छ भने अर्कोतर्फ क्षणभरमा खरानीमा परिणत हुने अवस्थामा पुगेको छ ।  आज मान्छे चन्द्रलोक, मङ्गल ग्रह वा त्यस्तै अरु कसैलाई मानव बस्तीमा रुपान्तरित गर्न सकिन्छ कि भनी खोजिरहेको छ।  प्रयोगसालामा निर्मित यन्त्रमानवहरुमा विवेक र उत्तेजनासमेत आरोपण गर्न प्रयासरत वैज्ञानिकहरुले इलेक्ट्रोनिक्स, जेनेटिक्स र साइकोलोजीको सफल सहकार्यबाट चेतनाको केन्द्र र चेतनाका सङ्केतवाहक तन्तुहरुको विशेष अध्ययन बाट मान्छेको दिमागमा मेमोरी चिप प्रतिस्थापन गर्न सकिने कुरा गरिरहेका छन्।   भोलि यी कुराहरु वास्तविकतामा परिणत भए भने पनि हामीले अचम्मित हुनु पर्ने छैन।   यी कुरा सफल भए हामी कल्पना गर्न सक्छौ हाम्रो संसार कस्तो हुनेछ।  यी सन्दर्भहरुले साहित्यमा व्यापक स्थान पाएका छन्।   नेपाली सहित्याले पनि यी कुराहरुलाई राम्ररी समेट्दै छ र हाम्रो साहित्यले पनि यस्ता कुराहरुलाई समेट्न सक्नु पर्दछ ।

() साइबरसंस्कृति:
विज्ञानले उपभोक्तामाझ ल्याएका अधिकांश चीजहरु वरदान सावित भएका छन् र केही अभिशाप पनि । बीसौ शताव्दीबाट प्रयोगमा आएका रेडियो, टिभी, कम्प्युटर आदि हाम्रा निम्ति वरदानसिद्ध भएका छन् ।  रेडियो, टिभी वा कम्प्युटर प्रविधिका कारण आज असम्भव मानिएका कुराहरु सम्भव भएका छन् । विशेषत  : दूरशिक्षाका क्षेत्रमा यिनीहरुले पु-याएको योगदान विशेष उल्लेखनीय छ।
तर आज यति मात्र होइन कम्प्युटर मार्फत हामी संसारै भरि डेरा गरेर बसिरहे जस्तो भएको छ । इन्टरनेटले ल्याएको तहल्का व्याख्या गरी साध्य छैन । सपनामा समेत नदेखिएका दुर्गम गाउ बस्तीहरु आज सुगम गन्तव्य भएका छन् । संसार दश औलाबीच मै नाचिरहेको आभाष हुन्छ । रौतहटकी बुढी चौधरी आमै सदरमुकामको एउटा साइबर क्याफेमा बसेर चीनमा एम.वि.वि.एस.अध्ययनरत आफ्नो छोरासंग भिडियो च्याट गर्दै छोरालाई ऊ दुब्लाएको सङ्केत दिन्छिन् र खानामा ध्यान दिन सम्झाउछिन्।   गोकर्णको साइबर क्याफेमा बसेर दश वर्षे फुच्चे संसार परिक्रमा गरिरहन्छ । यस्तै क्याफेहरुमा युवा-युवातीहरु अनलाइन डेटिङमा व्यस्त हुन्छन् वा च्याटमा मस्त रमाइरहेका हुन्छन्। अध्ययनशीलहरु संसार भर प्रकाशित पत्रिकाका नया अङ्कहरुमा सयर गरिरहेका हुन्छन्।

अनलाइन वा अफलाइन म्यासेजहरु र सामाजिक संजालका साइटहरुमा अंग्रेजीमा लेखिने नेपाली भाषा विचित्रको छ।  द्रुत गतिमा प्रवाह हुने यी सन्देशहरुले हामीलाई आफ्ना अतीतका चिठीपत्र आदान प्रदानका कठिनाइहरुलाई बिर्साइदिएका छन् ।  घन्टौसम्म हामी विदेशमा रहेका आफ्ना आफन्त वा आत्मीयहरुसंग न्युन शुल्कमा गफ गर्न सक्छौ ।  इन्टरनेट चलाउनै नजान्नेहरुका लागि इ-फोनले सहयोगी भएको छ।  तर दु:ख लाग्दो कुरा- यी सबै पूर्वाधारहरुबाट हाम्रो समाज अझै निकै टाढा छ। उता भूटानमा सन् १९९९ मा इन्टरनेटको प्रयोग कानुनसम्मत भएपछि भूटानले यस क्षेत्रामा गरेको उन्नति निकै स्मरणयोग्य छ।  यी सबै कुराहरु हाम्रा माझ आइसकेपछि हाम्रा शास्त्रीय मान्यताहरुले विदा पाउनु कुनै अनौठो कुरा हुने छैन।  यसरी हाम्रासामु हाम्रो आफ्नो सनातन संस्कृतिलाई कम महत्वपूर्ण बनाउदै नया संस्कृतिले जन्म पाएको  छ र त्यो हो साइबर संस्कृति।  यसका बारेमा जति लेखे पनि थोरै हुन्छ।  यस उपशीर्षकको आशय नै यिनीहरुका बारेमा साहित्यमा धेरै लेखिनु पर्छ भन्ने हो।

अझ धेरै छन् लेखिनु पर्ने कुराहरु।   तीव्र रुपमा बढ्दै गएको शहरीकरण र भूमण्डलीकरण, यसबाट सिर्जित ग्लोबल वार्मिङको समस्या र चिन्ताहरु, बारुदी सुरुंगले सजिएको संसार, रासायनिक प्रदुषणले निलेको हाम्रो वायुमण्डल आदिका कारण आज मान्छेको अस्तित्व सङ्कटमा परेको छ।   यी सबै कुरा साहित्यमा लेखिनु पर्छ।

राजनीति, मानवशास्त्र, समाजशास्त्र र क्रमविकास अनि परिवर्तनशील सांगीतिक उतारचढावले साहित्यमा पर्ने प्रभावलाई पनि ध्यानमा राखिनु पर्दछ। उपरोक्त सबै सन्दर्भहरुले साहित्यमा ठूलो हलचल मच्चाएका छन्। नेपाली साहित्यमा पनि उत्तरआधुनिक चेतना, नारीवादी चिन्तन, अपरम्पारिकता, मुक्त दर्शन, सीमान्तीकृत लेखन आदि सबल भएर देखा परेका छन्। यी विषयमा व्यापक छलफल र अन्तरक्रियाको जल्दोबल्दो आवश्यकता छ।  साहित्यको नेतृत्व आफूलाई सम्झनेहरु, साहित्य सिर्जना गर्नेहरु, साहित्यलाई माया गर्नेहरु, साहित्य मन पराउनेहरु आदि सबैले यस सन्दर्भलाई अलिकति फुर्सद मिलाएर सोच्ने पर्ने भएको छ।  प्रत्येकको सङ्क्षिप्त विश्लेषण गर्ने मन थियो।  समय अभावका कारण त्यो थाति राखेको छु।

क्रमश: अर्को अङ्कमा….

सन्दर्भ स्रोतहरु:

१. भट्टराई डा. गोनिन्दराज, उत्तरआधुनिक ऐना, रत्न पुस्तक भण्डार, काठमाडौँ

२. Ruland, Richard and Bradbury, Malcolm, From Puritanism to Postmodernism, Penguin Books

३. www.worldliterature.com

४. www.wikipedia.org

५. गरिमा, साहित्यिक मासिक (विभिन्न अङ्क) साझा प्रकाशन, काठमाडौँ

६. समकालीन साहित्य, साहित्यिक त्रैमासिक (विभिन्न अङ्क), नेराप्रप, काठमाडौँ

७. Daiches, David, A Critical History of English Literature, Allied Publishers Private Limited

८. भूटानी कोपिला, वार्षिक मुखपत्र (विभिन्न अङ्क) नेपाली साहित्य परिषद, भूटान

One Reply to “साहित्यमा नवीनताको खोजी-१”

Leave a Reply

Your email address will not be published. Required fields are marked *