सिङ् र पुच्छर

लेखक

शिवलाल दाहाल
खुदुनाबारी

मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ । मान्छे हुन के चाहिन्छ त ? यही कुराले अज्कल मेरो दिमाग तातिन थालेको छ । तपाईँले मान्छे हुन के चाहिन्छ भनेर सोध्नु भयो भने म भन्छु – सिङ् र पुच्छर । त्यसैले हरेक विहान उठेर सिङ उम्रियो कि भनेर टाउको र पुच्छर पलायो कि भनेर गुद्दद्वारतिर छाम्ने गर्छु । जब सिङ् र पुच्छर भेट्तिन म निराश हुन्छु । यो मेरो चाहना लोहोरो पाकेर खाउँला भन्ने उखान जस्तै भएको छ ।

सिङ् चाहनुको पछाडी आफ्नै कारण छन् । म सानो छँदा गाई–गोरु गोठालो थिएँ । मैंले त्यही बेला देखेको छु सिङ्को करामत । ठूला र लामा सिङ् हुनेको शान नै अर्कै हुन्थ्यो, हुङ्कार र डुक्राइ सुन्दा सबै लुगलुग हुन्थ्ये । हाम्रो एउटा तारे गोरु थियो, अरुलाई देख्नै नहुने डुक्रिइ हाल्थ्यो । सिँगौरी हान्दा हान्दा खेतका आलीहरु भत्केर टाटै–टाटे हुन्थ्ये । सिङ् भनेको पहिचान हो, सामर्थ्य हो, शक्ति हो भन्ने कुरा मैंले त्यसै ताक बुझेको हुँ । सिङ् भएको गोरु पाएर हाम्रो पहिचान, नाम र यश गाउँभरि अर्कै थियो जस्तो संसारमा अमेरिकी नागरिकको जस्तो अथवा दक्षिण एशियामा भारतीय नागरिकको जस्तो । तब किन मलाई सिङ्प्रतिको मोह नजागोस् ! संसारमा सिङ् हुनेहरु मान्छे हुन् ।

अब पुच्छरपट्टि फर्कियौं । पुच्छरहरु सिङ्देखेपछि हल्लिन थाल्छन् । तब सिङ्को विरता स्थापित हुन्छ । सिङ्को महत्ता पुच्छरले स्थापित गर्छ जस्तो गाउँका ठालुको निरीह गाउँलेले, ठूला र शक्ति सम्पन्न राष्ट्रको गरीव र साना मुलुकहरुले । संसारमा पुच्छर हुनेहरु पनि मान्छे नै हुन् भन्छु म त किन भने म त सिङ् र पुच्छर नभएको जस्तो कि भेट्नु चुट्याएको कुभिण्डो हुँ । मेरो मात्र भुँडी छ अरुले भर दिनु पर्ने जसलाई कुहिएको आलुले भरे पनि भयो, ढुँडी परेको चामलले भरे पनि भयो, ढुङ्गे कनिकाले भरे पनि भयो, फोहर पानीले भरे पनि भयो, सडेगलेको सागपात आदि जे भेटिन्छ त्यसैले भरे भयो । अघिअधि सिङ् छन् पछिपछि पुच्छर त्यसपछि म छु जस्तो कि गोरुको आच्छी खस्छ र खाउँला भनेर हिँडेको कुकुर (एक छिन कल्पना गर्नुहोस् पुच्छर नभएको कुभिण्डे कुकुर) । मान्छे हुने इच्छा त अर्का जन्मलाई सारे पनि भयो । आच्छी खाने कुभिण्डे कुकुरलाई घर पनि चाहिँदैन, भात पनि चाहिँदैन, त्यसभन्दा माथिका कुरा परै जाउन् । सिंहासन, भात र उपल्लो दर्जा पहिले सिङ्लाई चाहिन्छ त्यसपछि सिङ्को वीरता स्थापित गरिदिने पुच्छरलाई ।

सिङ्को जयजयकार गर्ने पुच्छर नै हो ।  यहाँ र सिङ र पुच्छर हुनेहरु मात्र मान्छे कहलिन्छन् । हामी कुभिण्डे हाम्रो पुच्छर पनि छैन सिङ पनि छैन । सिङ् हुनेहरुलाई ठूला आली र भित्ता चाहिन्छ न भए सिंगौरी कहाँ खेल्ने, सिङ कहाँ उद्याउने, उन्माद कहाँ देखाउने ? हामी मात्र डिस्कना जस्लाई जति सिंगौरी खेल्न मन लाग्यो उति खेले हुने । कसैको आपत्ति छैन । साडेँहरु उन्मत्त भएर सिंगौरी खेलिरहेछन् पछिपछि स्यालहरु फुर्ती साथ पुच्छर हल्लाइदिन्छन् । कुभिण्डाले सिङ् र पुच्छर खोज्नु भनेको ताच्छिइ माग्नु मात्र रहेछन् बल्ल बुझ्न थालेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *