सैनिक परिवेश र नेपाली साहित्यको अन्तरसम्बन्ध

लेखक

विश्वासदीप तिगेला

विकास र व्यापकतालाई हेर्दा नेपाली भाषा समृद्ध भाषा हो । नेपाली भाषाका प्राप्त लिखित ग्रन्थहरूमध्ये सर्वप्राचीन नमुनाका रूपमा ‘बाजपरीक्षा’ प्रस्तावित गरिएको छ । तर, ‘भास्वती’ १४५७ लाई हेर्दा सर्वप्राचीन ग्रन्थ मान्नुपर्ने मत पनि पाइन्छ । यस चर्चाबाट नेपाली भाषाको आरम्भ बाह्रौं–तेह्रौं शताब्दीमा भएको हो भन्ने निष्कर्ष आउँछ । त्यसपछि मात्र नेपाली भाषामा वाङ्मयिक लेखन क्रमशः विकास भएको मानिन्छ । नेपाली भाषाको प्रादुर्भाव नेपालको इतिहासको मध्यकालमा भएको तथ्य पाइन्छ । नेपाली भाषालाई पहिले–पहिले खस, पर्वते, गोर्खाली, पहाडे आदि नामकरण गरिएको पाइन्छ । आज पनि कतैकतै यस्तै भन्ने गरेको पाइन्छ । यस खस भाषालाई ‘नेपाली’ नामकरण गर्ने प्रथम व्यक्ति व्याकरयाकार जेए एटन भएको बताइन्छ । एटनबाट प्रयोगपछि पनि गोर्खा भाषा, गोर्खाली भाषा भनिएको र वि. सं. १९९० मा नेपाल सरकारले नेपाली भाषा नाम स्वीकार गरेपछि झनै समृद्ध बनेको छ । (नेपाली भाषा–साहित्यमा आन्दोलन, पेज २, सुकुम शर्मा)

विविधताले अत्यन्तै धनी नेपालमा धेरै भाषा बोलिन्छन् । विभिन्न प्रकारका लिपि प्रयोग गरिन्छन् । यद्यपि, सम्पर्कको मुख्य भाषा नेपाली (खस) भाषा हो । नेपाली दुःख, पीडा, भावना बोल्ने जुनसुकै भाषा, लिपिमा लेखिएको साहित्य नेपाली साहित्य मानिन्छ । नेपाली साहित्यभित्र सम्पूर्ण नेपालीहरूले बोल्ने भाषाहरू र त्यसको साहित्यहरू पर्दछन् । नेपाली भाषा–साहित्यभित्र खस नेपाली भाषा, साहित्य पर्दछ र हाल सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँध्ने काम यसै भाषाले गरेको छ । त्यसैले नेपाली भाषा–साहित्य र नेपाली साहित्य गोर्खा पल्टनभित्र पनि उत्ति नै फस्टाउँदै आएको छ । हुन त लिम्बू–नेपाली, मगर–नेपाली, राई–नेपालीलगायतका भाषा–साहित्य पनि मौलाउँदै नगएका होइन्न ।

भनिन्छ नेपाली साहित्यको जग घर छोडेर प्रवास पुगेका लाहुरेहरूले बसाले । कर्मक्षेत्र देहरादुन पुगेका प्रवासी लाहुरेहरूले वि. सं. १९५८ मा ‘गोर्खा सागर’ प्रकाशित गरे; जुन बेला नेपालमा पहिलो पत्रिका ‘गोर्खापत्र’ प्रकाशन सुरु भएको थियो । प्रवासी लाहुरेहरूले गोर्खा संसार, द नर्दन स्टार, द हिमालयन टाइम्स, तरुण गोर्खा, पर्वते पत्रिका सन् १९५० मा प्रकाशनको सुरु हुँदा नेपालमा पत्रकारिताको सुरुवात नै भएको थिएन । त्यसबेला प्रवासका ती पत्रपत्रिकामा निरंकुश राणाशासनको विरुद्ध कथा, कवितालगायतका सिर्जनाहरू छापिन्थे । अफ्सोस ती कुराहरूलाई अहिले कतै लेखिँदैन । मास्टर मित्रसेन थापा यस्ता लाहुरे स्रष्टा थिए जसले कथा, कविता, निबन्ध, नाटकमा कलम चलाएर नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिए । नेपाली गीतसंगीतमा समेत वहाँको ठूलो योगदान रह्यो । वहाँजस्ता साहित्य, संगीत र देश, समाजको सेवामा धेरै प्रवासी लाहुरेहरू थिए र पछिल्लो समयमा उच्च शिक्षा, सम्पन्नतासँगै झनै बढेको छ ।

एक देशले अर्को देशसँग सम्झौता गरेर आफ्नो जनतालाई जाऊँ भन्दछ र सरकारको हुकुम पालन गरी गोर्खाली सेनामा भर्ती हुनु सरकारको हुकुम पालना गर्नु हो । त्यसैले सरकारको हुकुम मान्नु देशको कूटनीतिक सेवा गर्नु हो । यसरी नेपालीहरूले गोर्खालीको नामबाट सेवा गरेको लगभग २ सय वर्ष भएको छ । श्रीमान् र श्रीमतीबीच विश्वासको संकट हुने गर्दछ तर गोर्खालीहरूलाई बेलायत, ब्रुनाई, सिंगापुर, भारत, दुबई आदि मुलुकहरूमा आफ्नो नागरिकलाई भन्दा बढी विश्वास गर्नु आफैंमा ठूलो उपलब्धि हो । यो दृष्टिकोणले पनि हेर्नुपर्दछ । लामो र गौरवपूर्ण इतिहास निर्माण तथा महत्वपूर्ण उपलब्धिहरू हासिल हुनुमा अग्रज र हाल सेवारतहरूले पनि धेरै उतारचढाव व्यहोर्दै आएका छन् ।

दोस्रो विश्वयुद्ध, मलाया इमर्जेन्सी हुँदै कन्फन्टेसन र फोकल्यान्ड युद्धपश्चात् बेलायती सेना तथा ब्रिटिस गोर्खाली पल्टनहरू फुर्सदिला भए; थोरै संख्यामा मात्र गोर्खाली चाहिने भयो तब लेखपढ भएकाहरूलाई मात्र भर्ती गर्न थालियो जसले गर्दा लाहुरघरको वातावरणमा बिस्तारै परिवर्तन हुन थाल्यो । फाट्टफुट्ट साहित्यिक पत्रिका, कृति प्रकाशन हुन सुरु भयो । सन् १९९८ मा प्रवासी वेदनाका आवाजहरू अर्धवार्षिक साहित्यिक तथा विविध पत्रिका प्रकाशन सुरु भयो । उक्त पत्रिकाको प्रधानसम्पादक विश्वासदीप तिगेला, सम्पादक ईश्वर चाम्लिङ, सुरेन्द्र इङ्नाम र विष्णु जिमी थिए । त्यो पत्रिका १० वर्षसम्म निरन्तर प्रकाशन भयो । उक्त पत्रिकाको प्रकाशन तथा सम्पादन काउन्सिलले आयोजना गर्ने विभिन्न साहित्यिक कार्यक्रमहरूमा एक साहित्यिक संस्थाको खाँचो औंल्याइयो र सन् २००१ मा बेलायतको सर्नकिल्फमा एक साहित्यिक संस्था प्रवासी नेपाली साहित्य समाजको स्थापना भयो । त्यसअघि साहित्यिक कार्यक्रम मात्र भएको इतिहासमा कतै पाइन्दैन ।

समाजले प्रवास पल्टनघरभित्र विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ । प्रत्येक वर्ष एक जना उत्कृष्ट स्रष्टालाई छनोट गरी नगदसहित पुरस्कार र एक जना उत्कृष्ट व्यक्तित्व छनोट गरी सम्मान गर्दै आएको छ । पुरस्कृत स्रष्टाहरू— सुसनबाला राई २०६२, शशि लुमुम्बू २०६३, रमेश पौडेल २०६४, कृष्ण धरावासी २०६५/६६ र गणेश रसिक २०६७ रहनुभएको छ भने सम्मानित हुनेतर्फ मेजर किशोर गुरुङ २०६२, नोर्देन तेन्जिङ भुटिया २०६३, रक्ष राई २०६४, गोरे गुरुङ २०६५, डीबी बम्जन २०६७ लाई प्रदान गरिसकेको छ । त्यस्तै, डा. चन्द्र लक्सम्बा, मास्टर राष्ट्र राई, बेलायतका प्रथम नेपाली काउन्सिलर धन गुरुङ, गोर्खाली गाथाका प्रबन्धक प्रेम बेघा, डा. कविताराम श्रेष्ठ, शिवधन राई, साहित्यकार येहाङ लावतीलगायत विभिन्न कलाकार तथा व्यक्तित्वहरूलाई प्रशंसा–पत्र प्रदान गरिसकेको छ ।

यस समाजले साहित्यिक कार्यक्रमहरूमात्र नभई प्रत्येक वर्ष विभिन्न कल्याणकारी कामहरू पनि गर्दै आएको छ । काठमाडौंको सडक बालबालिकालाई नयाँ वर्ष २०६२ को अवसरमा खाना, काठमाडौं बालबालिकालाई खाना २०६३, कोसी बाढीपीडितहरूलाई राहत लुगाफाटा वितरण २०६६, भाइटीकाको अवसरमा धरानका सडक बालबालिकालाई लत्ताकपडा वितरण तथा टीका २०६६, उधौली चाड (चासोक तङ्नाम, साकेला, सान्केवा, चासुवा, फलष्याँदर) २०६८ को अवसरमा अनाथाश्रम उदयपुर बेलटारलाई लत्ताकपडा तथा खाद्यान्न वितरणलगायत विभिन्न अवसरहरूमा सांगीतिक कार्यक्रमहरू पनि गर्दै आएको छ । समग्र नेपाली साहित्यको विकास, विस्तार र नेपाली प्रतिष्ठाका लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घ स्थापनाका लागि पूर्व अग्रसरता देखाई यस समाजले महत्वपूर्ण भूमिका निर्वाह गरयो र समाज हाल साहित्य महासङ्घमा आबद्ध छ । महासङ्घ मुख्य आयोजक र यस साहित्य समाज सहआयोजक रही अनलाइन माध्ययमबाटै ‘विश्वव्यापी अडियो खुला गजल प्रतियोगिता २०६७’ सम्पन्न गरयो । त्यस्तै, अनलाइनको नयाँ प्रविधिबाट नेपाली साहित्यको इतिहासमै पहिलोपटक व्यापक सहभागिता रहेको ‘विश्वव्यापी खुला रेडियो कविता प्रतियोगिता २०६६’ सम्पन्न गरयो ।

यस समाजले गीतहरूको संग्रह ‘सपनाको रंग २०६०’, उपन्यास ‘मृत सहर २०६०’, नियात्रा ‘गृहयुद्धका पीडा २०६१’, दुई कविको संयुक्त कविता संग्रह ‘आँसुको दोभान २०६१’, कविता संग्रह ‘सिमाहीन विम्बहरू २०६३’ लगायत झन्डै एक दर्जन कृति प्रकाशन गरिसकेको छ भने ‘प्रवासी वेदनाका आवाजहरू’ साहित्यिक पत्रिकाको पुनः प्रकाशनको जिम्मा पनि लिइसकेको छ ।

यस साहित्य समाजका केन्द्रीय नेतृत्व विभिन्न कालखण्डमा बेग्लाबेग्लै प्रकारको थियो । समाजको प्रथम सचेतक प्रेम रिबुसाल राई सन् २००१, सचेतक रामकृष्ण सुनुवार सन् २००२, सचेतक छवि लिम्बू २००३, अध्यक्ष मुलीवीर राई सन् २००३, महाअध्यक्ष गणेश राई सन् २००५, महाअध्यक्ष काजीमान लिम्बू सन् २००७, अध्यक्ष ईश्वर चाम्लिङ सन् २००७, अध्यक्ष सुरेन्द्र इङ्नाम सन् २००८ र अध्यक्ष विश्वासदीप तिगेला सन् २०११ छन् । वास्तवमा यस समाज बेलायती सेनामा सेवारत गोर्खाली समुदायको प्रतिनिधिमूलक संस्था हो । यो समाज युद्धभूमिमा साँचो र सुन्दर साहित्यको जन्म हुन्छ भन्ने विश्वास राख्दछ । नेपाली साहित्य समृद्ध बनाउन इतिहासमा गोर्खाली लाहुरेहरूको भूमिका महत्वपूर्ण रहेको कुरा माथि नै उल्लेख भइसकेको छ र उक्त कार्यलाई निरन्तरता दिँदै आएको कुरा पनि तमाम स्रष्टा, सर्जक र साहित्यका विभिन्न निकायहरूलाई प्रत्यक्ष–अप्रत्यक्ष अवगतै छ ।

पल्टनघरभित्र निजी तवरबाट नियमित प्रकाशन सुरु भएको प्रवासी वेदनाका आवाजहरू पत्रिका र साहित्यिक गतिविधिप्रति चासो राख्नुभई पटकपटक बुझ्ने कार्य तत्कालीन गोर्खा मेजर लक्ष्मीभक्त बान्तावाले गर्नुभयो । अन्ततः उहाँले पेन्सन जानुपूर्व युवाहरूको हौसला र प्रोत्साहनका लागि नगद १ हजार पाउन्ड र सिल्ड प्रदान गर्नुभयो । उक्त सांकेतिक अक्षयकोषलाई आधार मानेर प्रत्येक वर्ष समाजले पुरस्कार प्रदान गर्दै आएको हो । पछिल्लो समय लाहुरघर सेरोफेरोमा अन्य साहित्यिक संस्थाहरू पनि स्थापना हुदै गएको पाइन्छ । गोर्खा भर्तीको १ सय ९७ वर्ष लामो इतिहाससँगै लाहुरघरसंग नेपाली साहित्य र संगीतको इतिहास त्यति नै लामो छ भन्दा फरक पर्दैन । विगत दुई दशकदेखि लाहुरे स्रष्टाहरूको उपस्थिति अत्यन्तै बाक्लो र उच्चस्तरका साहित्यहरू पनि आएका छन् । यो निश्चय नै नेपाली साहित्यका लागि शुभ संकेत हो र अझ धेरै आस गर्दै ।

निष्पक्ष संविधानः समृद्ध राष्ट्र पुस्तकबाट, लेखक विश्वासदीप तिगेला, biswasdip@ymail.com

सन्दर्भ स्रोतः
१.नेपाली भाषा–साहित्यमा आन्दोलन, पेज २, सुकुम शर्मा
२. www.pravasi.com.np (Access 25 Dec 11)

Leave a Reply

Your email address will not be published. Required fields are marked *