सोईसोईला तिमी कहाँ छौ ?

तिलक राई
बेलडाँगी, नेपाल 

तिमीलाई थाहा छ ?
तिमीले मिहेनत गरेर
उन्दै उन्दै भेङ्गुमाको प्वाँखहरू
आफ्नो हाङ दाजुको माउर बनाएर
दाजुको शीरमा त्यो सजिएको
एक झलक पनि नहेरी नै
तिमी सुटुक्क अलप भयौ
हामी पीडाले विक्षिप्त भएर
वन-पाखा र डाँडा थर्काउँदै
ढोल झ्याम्टा बजाउँदै
सोईसोईला हौ सोईसोईला भन्दै खोजी रहेका छौँ ।

तिमी गएदेखि यो भूमिमा
सबै सबै बदलिई सकेका छन्
हुरी आउँछ
हामीले समालेर राखेको
चोमोलुङमा झैँ उच्च वाबुकको शीर
उडाउने पटक-पटक प्रयास गर्छ
चैते खडेरीमा पनि पहिरो जान्छ
हाम्रो बस्ती पुरेर ध्वंस पार्न
जोगाउँदा जोगाउँदै परम्परा
भूकम्प भएर आउँछ षड्यन्त्रको अर्को झड्का
अनि पूज्य तीन चुला हाम्रो
उखेली फालिदिऊँ झैँ गर्छ
तर प्राकृतिक भूमि पूजकले
गाडेको सानो ढुङ्गा भए पनि
खुवालुङ झैँ जब्बर र दरिला छन्
यी छातीहरूमा
त्यसैले त ठाडो शीर पारेर
जगतले थाहा पाउने गरी
ढ्याङ्कुटी ढ्याङ्कुटी ढोल
र झ्याम-झ्याम झ्याम्टाको आवाजमा
तिमीलाई खोजी रहेका छौँ ।

उभौलीमा भूमाङलाई पुजेर
अन्न बाली राम्रो होस भनेर
हावा, पानी र घाम सबै
आवश्यक सन्तुलित बन है भनी
चा-सुम लावा क्षेम्बि लावा मागेर
उँधौलीमा अन्न भरेर ढुकुटीमा
चन्द्रमाको झैँ मुस्कान ओठमा च्यापेर
भूमिपुत्र किसानहरू हामी
हरेक वर्ष साकेला नाच्दै
न्वागी चढाएको हजारौँ वर्ष भइसकेछ
तर तिमीलाई कहिल्यै लागेन ?
यस्तै कुनै चाडपर्वमा माइती भेटौँ जस्तो,
अनि रूखो उनिउँहरूले माङचुङ घेरेर
खर्लप्प खान खोजी रहेको छ
फाँन्न खोज्दा माइतीहरू रक्तम्य भएका छन्
र पनि
तिमीलाई खोज्न छाडेका छैनौ
सोईसोईला ! अब भनिदेऊ
अहिलेसम्म तिमी कहाँ छौ ?

००००

१) सोईसोईला : किराँती मिथक अनुसार मानिने किराँतीहरूको चेली ।
२) भेङ्गुमा : (बान्तवा भाषा ) एक प्रजातिको चिबे जस्तो चरो ।
३) खुवालुङ : किराँती मुन्दुम र मिथकमा मानिएको महत्त्वपूर्ण पानी ढुङ्गा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *