स्केच
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
तिमी अनभिज्ञ छौ!
मेरा साना दुई औँलाले
भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला
मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ,
अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा पुग्छ।
म डराएरै
तिम्रो अनुमति बेगर
भुईँको पेन्सल बेन्चबाटै निहुरिएर टिपिरहँदा
अनादर गरेको निहुँमा
तिमीले मेरा साना हत्केलामा वेदका लौराले
ठूलो रेखाको रक्ताम्मे स्केच कोरिदिएका थियौ,
आएर हेर! त्यो स्केचमा आज
हाँगा पलाएर फल दिने भएको छ।