स्मृतिको पानाबाट : १९९० को जनआन्दोलन

गङ्गा लामिटारे,
काेलम्बस, अमिरिका

केही मितिहरू क्यालेण्डरको पानामा लेखिएका अंक मात्र हुँदैनन्; ती जीवनका यस्ता घाउ बन्छन्, जसलाई समयले पनि मेट्न सक्दैन। वर्षहरू बित्छन्, पुस्ताहरू फेरिन्छन्, तर केही मितिहरू स्मृतिमा झन् गहिरिँदै जान्छन्। मेरो स्मृतिमा त्यस्तै भएर बसेको एउटा मिति हो—२१ सेप्टेम्बर १९९०।

त्यसबेला दक्षिण भूटानका छवटै जिल्लामा परिवर्तनका आवाजहरू विस्तारै गुञ्जिन थालेका थिए। ती आवाजमा वर्षौँदेखि दबिएको पीडा, अपमान र परिवर्तनको चाहना मिसिएको थियो। ती सबै जिल्लाका घटनाको वृत्तान्त यहाँ सम्भव नभएकाले, मैले आफ्नै आँखाले देखेको र आफ्नै हृदयले भोगेको गेलेफूको त्यो ऐतिहासिक जनप्रदर्शनलाई मात्र स्मृतिका पानाबाट उतार्ने प्रयास गरेको छु।

आज दशकौँपछि फर्केर हेर्दा त्यो दिन सम्झनासाथ मनमा गर्व र पीडा एकैपटक उठ्छ। गर्व—किनकि हजारौँ मानिसले वर्षौँदेखि मनभित्र दबाएर राखेको आवाज त्यस दिन सडकमा पोखेका थिए। पीडा—किनकि त्यस्तो ऐतिहासिक जनउभारको स्मृति समयसँगै कतै ओझेल पर्दै गएको त होइन भन्ने लाग्छ।

त्यो केवल एउटा प्रदर्शन थिएन; त्यो वर्षौँदेखि दबिएको मौनताको विष्फोट थियो। गेलेफू र सरभाङका सडकहरू मानिसको सागर बनेका थिए। हातमा ब्यानर र प्लेकार्ड, ओठमा नारा र आँखामा एउटा नयाँ भविष्यको सपना थियो।

जनताको मनमा एउटै प्रश्न थियोआफ्नै देशमा हामीले किन सम्मानपूर्वक बाँच्न नपाउने?”

त्यस दिन त्यो प्रश्न घरका चार भित्ताबाट निस्केर सडकमा आएको थियो। जनताले केवल माग राखेका थिएनन्; उनीहरूले आफ्नो सामूहिक शक्ति र साहसको परिचय दिएका थिए।

त्यहाँ कुनै भव्य मञ्च थिएन, औपचारिक नेतृत्व थिएन। कसैले सबै कुरा योजनाबद्ध गरेको पनि थिएन। वर्षौँदेखि मनमा थुप्रिएको पीडा, आक्रोश र परिवर्तनको चाहना आफैँ एउटा शक्तिमा बदलिएको थियो। जनता स्वयं इतिहासको मञ्चमा उत्रिएका थिए।

त्यस भीडमा हजारौँ अनुहार थिए, तर ती अनुहारभित्र हजारौँ कथा थिए। कसैको आँखामा परिवारले भोगेको पीडा, कसैको मुटुमा वर्षौँको अपमान र कसैको मनमा आफ्ना सन्तानका लागि सम्मानपूर्ण भविष्यको सपना। तर सबैको आवाज भने एउटै थियो—

ज्यान दिन्छौँ, प्रजातन्त्र लिन्छौँ!”
मानवअधिकारको बहाली गर!”
दमन अब सहिँदैन!”

ती नारा केवल शब्द थिएनन्; ती दबिएको जनमनका धड्कन थिए। गेलेफूको ठूलो खेलमैदान मानिसले भरिएको थियो। त्यहीँबाट राजासमक्ष शासन व्यवस्थामा सुधारको आग्रह गर्दै १३ सूत्रीय मागसहित ज्ञापनपत्र बुझाइयो। प्रजातन्त्र, मानवअधिकार र टेकनाथ रिजालको रिहाइका माग विशेष रूपमा मुखर थिए। जनताको दबाब यति बलियो थियो कि स्थानीय प्रशासनसमेत ती माग माथिल्लो निकायसम्म पुर्‍याउन बाध्य भयो।

तर प्रदर्शन सकिन नपाउँदै  प्रदर्शनकारीका मनमा एउटा नयाँ प्रश्न अगाडि आयो—अब के गर्ने?

जनता नेतृत्व र भावी योजनाको खोजीमा थिए। त्यसैबीच प्रदर्शनकारीहरूको एउटा ठूलो समूह पार्टीका कार्यकर्ताको खोजी गर्दै सीमापारि दादघारी आइपुग्यो। त्यस समूहमा भक्त घिमिरे,भोला पोख्रेल  र चन्द्र कार्की थिए । त्यसबेला हामी हेडमानको आँगनमा बसेर आन्दोलनकै विषयमा गम्भीर छलफल गरिरहेका थियौँ—म, कुलप्रसाद रेग्मी, देवकुमार लुहागुन र दादघारीका हेडमान। बाहिर शान्ति थियो, तर मनभित्र आन्दोलनको भविष्यबारे अनेकौँ प्रश्नहरू दौडिरहेका थिए।

हामीलाई के थाहा—त्यो शान्त क्षणको केही बेरमै इतिहासले हामीलाई आफ्नै कथाको एउटा निर्णायक पानामा तान्दैछ भनेर!  त्यसमूले हामी तीनै जनालाई भूटानतिर जान आग्रह गर्‍यो। हामीले अचम्म मान्दै सोध्यौँ, हामी किन जाने?”

उत्तर आयो,जुलुस त गर्‍यौँ। अब भोलिदेखि के गर्ने? आन्दोलनलाई कसरी अघि बढाउने? त्यसैका लागि तपाईंहरूलाई लिन आएका हौँ।”

हामी केहीबेर मौन भयौँ। हामी पार्टीका औपचारिक सदस्य थिएनौँ। आन्दोलनका सक्रिय स्वयंसेवक अवश्य थियौँ, तर पार्टीको तर्फबाट बोल्ने वा निर्णय गर्ने अधिकार हामीसँग थिएन। पार्टीबाट अधिकार पाएका ज्ञानु पौडेल र नन्दलाल बटुवाल पनि त्यस दिन दादघारीमा थिएनन्।

देवकुमार लुहागुनले स्पष्टसँग भन्नुभयो,हामी पार्टीका नेता होइनौँ, पार्टीको तर्फबाट बोल्ने अधिकार पनि हामीसँग छैन।”

तर भीड सुन्ने अवस्थामा थिएन। उनीहरूका लागि सीमापारिबाट आन्दोलनमा साथ दिएका हामी नै त्यस क्षण नेतृत्वका प्रतीक बनेका थियौँ।

अन्ततः हामीलाइ गाडीमा चडाएर त्यो विशाल जनसमूहमाझ पुर्याइयो। त्यो क्षण आज पनि मेरो आँखामा उस्तै ताजा छ। हामीले इतिहास लेख्ने योजना बनाएका थिएनौँ; तर इतिहासले हामीलाई आफ्नै कथाको एउटा पानामा लेखिसकेको थियो।

त्यहाँ पुगेपछि मात्र मैले भीडको वास्तविक आकार महसुस गरेँ। मैदान मानिसहरूले भरिएको थियो। चारैतिर झन्डा र ब्यानर फहराइरहेका थिए, प्रजातन्त्र र मानवअधिकारका नाराहरू गुञ्जिरहेका थिए। करिब बीस हजार मानिसको त्यो महासागरका बीच हामी तीन जना उभिएका थियौँ।

हातमा एउटा सानो स्पिकर थियो, तर बोल्ने कुनै तयारी थिएन।

कसले पहिले बोल्ने? के बोल्ने? कहाँबाट सुरु गर्ने? हामी एकअर्काको अनुहार हेर्न थाल्यौँ। केही क्षणअघि हामी आफैँ अन्योलमा थियौँ, अब हजारौँ आँखाहरू हामीतिर थिए। त्यो क्षण सम्झँदा आज पनि मन भारी हुन्छ। कुनै लिखित वक्तव्य थिएन, कुनै पूर्वतयारी थिएन। तर मौन बस्ने छुट पनि थिएन। त्यो भीड केवल भीड थिएन—वर्षौँदेखि दबिएको एउटा समुदायको आवाज थियो, आफ्नो भविष्यको बाटो खोजिरहेको एउटा बेचैन मन थियो।

मैले हातमा रहेको स्पिकर देवकुमार लुहागुनलाई दिँदै भनेँ, “तपाईंले सुरु गर्नुस्।”

देवकुमार अगाडि बढ्नुभयो। मैदान एकाएक शान्त भयो। उहाँले दृढ स्वरमा भन्नुभयोप्रजातन्त्र र मानवअधिकार कुनै सरकारको कृपा होइन, मानवजातिको नैसर्गिक अधिकार हो। यो जन्मसिद्ध अधिकार हो, कसैले खोस्न सक्दैन।”

उहाँका शब्दहरू मैदानभरि गुञ्जिए। त्यसपछि उहाँले अधिकारसँगै कर्तव्यको कुरा गर्दै भन्नुभयो, “अधिकार मागेर मात्र पाइँदैन, कहिलेकाहीँ त्यसलाई साहसपूर्वक प्राप्त गर्न पनि जान्नुपर्छ। आफ्नो भविष्य आफैँले निर्माण गर्नुपर्छ।”

मैदान तालीले गुञ्जियो। त्यसपछि कुलप्रसाद रेग्मी अगाडि आउनुभयो। उहाँको आँखामा वर्षौँको पीडा थियो, स्वरमा दबिएको आक्रोश। उहाँले भूटानी जनताले देश निर्माणका लागि बगाएको पसिना, श्रम र रगतको स्मरण गराउँदै भन्नुभयो, हामीले युगौँदेखि मेहनत गर्‍यौँ, पसिना बगायौँ, तर हाम्रो योगदानको सम्मान भएन। उल्टै हाम्रो अस्तित्व नै प्रश्नको घेरामा पारियो।”

केही क्षण उहाँ मौन हुनुभयो। अनि दृढ स्वरमा भन्नुभयो—स्याल भएर सय वर्ष बाँच्नुभन्दा बरु एक क्षण बाँचौँ, सिंह भएर।”

त्यो वाक्यसँगै मैदान ताली, हुटिङ र नाराले गुञ्जियो। मलाई लाग्यो—वर्षौँदेखि मौन रहेको इतिहासले त्यही क्षण आफ्नो आवाज भेट्टाएको छ।

रेग्मीले अन्त्यमा जोडदिदै दिनुभयो, “मानवअधिकार र प्रजातन्त्रको यो संघर्ष कुनै एक व्यक्तिको होइन, सम्पूर्ण भूटानी जनताको साझा संघर्ष हो। त्यसैले हामी सबै एकढिक्का भएर उभिनुपर्छ। एकताको बलभन्दा ठूलो शक्ति अरू कुनै छैन।”

म त्यो भीडको बीचमा उभिइरहेँको थिएँ। चारैतिर हजारौँ अनुहार थिए—कतै डर, कतै पीडा, कतै आशा र कतै अदम्य साहस। आज पनि त्यो दृश्य सम्झँदा लाग्छ—त्यो दिन मैदानमा मानिसहरू मात्र भेला भएका थिएनन्; आफ्नो भविष्य आफैँ लेख्ने एउटा युगको आकांक्षा भेला भएको थियो।

त्यही बेला तेस्रो वक्ताका रूपमा मलाई अगाडि उभ्याइयो। रेग्मीजीले हातमा रहेको स्पिकर मेरो हातमा थमाइदिनुभयो। मैले कामदै माइक समातें। तर मुखबाट शब्द निस्केनन्।

केही क्षण म मौन उभिरहेँ। मेरा आँखाअघि विगतका अनेकौँ रक्तरञ्जित दृश्यहरू एकपछि अर्को गर्दै नाचिरहेका थिए। वर्षौँदेखि मनको कुनै अँध्यारो कुनामा दबिएर बसेका पीडा, अन्याय र सम्झनाहरू एकैचोटि जागेर आएझैँ लाग्यो। हजारौँ मानिसका आँखाहरू मतिर थिए, तर मेरो मन भने विगतका ती दिनहरूतिर फर्किसकेको थियो।

कहाँबाट सुरु गरूँ? के बोलूँ? म आफैँभित्र अलमलिइरहेको थिएँ। त्यही बेला अचानक कवि भूपी शेरचनका त्यो क्रान्तिकारी  कविताको  एउटा पङ्कित मेरो स्मृतिमा चम्कियो—

हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए।”

मैले ती हरफहरू माइकमा उच्चारण गरें। ती शब्दहरू माइकबाट निस्किएर मैदानभरि फैलिँदा वातावरण नै एकाएक बदलियो। क्षणभरमै हजारौँ मानिसको भीडमा एउटा नयाँ ऊर्जा सञ्चार भयो। केही बेरअघिसम्म थकित देखिएका अनुहारहरूमा फेरि चमक आयो। दबिएर बसेको आक्रोश फेरि सल्बलायो।

मलाई लाग्यो—ती दुई हरफले वर्षौँदेखि मौन रहेका हजारौँ हृदयका ढोकाहरू एकैचोटि खोलिदिएको छ। मैदान तालीको गडगडाहटले गुञ्जियो। त्यो तालीले मलाई त्यतिमै रोकिन दिएन। मभित्र पनि अदम्य उत्साह जागिसकेको थियो। मैले गम्भीरतापूर्वक महासुर क्षेत्रीको दर्दनाक हत्याको प्रसङ्ग उठाएँ। प्रजाराजका समर्थक महासुर क्षेत्रीलाई जीवितै छालाको थैलोभित्र बाँधेर सुनकोसीको खड्कुडे दहमा फालिएको त्यो अमानवीय घटनाको स्मरण जनतासामु राखें।

त्यसबेला मेरो स्वरमा पीडा थियो। शब्द–शब्दमा आक्रोश थियो। त्यो घटना सम्झँदा आज पनि मन भारी हुन्छ। मैले बोल्दै गर्दा मैदानमा एउटा अनौठो परिवर्तन आयो। केही क्षणका लागि नाराहरू रोकिए। तालीका हातहरू रोकिए। विशाल मैदानमा एउटा असह्य मौनता छायो। मानौँ हजारौँ मानिसका आँखाअघि त्यो निर्मम घटना फेरि दोहोरिइरहेको थियो।

तर इतिहासका घाउहरू त्यतिमै सकिएका थिएनन्। मैले साम्चीका दालचन गुरुङका छोरा गर्जमानको योजनाबद्ध हत्याको प्रसङ्ग पनि उठाएँ। लोकतन्त्रका पक्षमा उभिएका चाग्ये, जाम्बे र महासेनानी ब्रिगेडियर छ्याब्दालाई चाम्लिथाङ मैदानमा गोली हानी मृत्युदण्ड दिइएको कारुणिक इतिहासबारे पनि अवगत गराएँ।

एकपछि अर्को घटना बोल्दै गएँ। हरेक घटनासँगै लाग्थ्यो—जनताको मनभित्र वर्षौँदेखि गाडिएका पीडा, अपमान र आक्रोशका तहहरू विस्तारै उघ्रिँदै छन्।

म बोलिरहेको थिएँ, तर एकछिनपछि मलाई आफ्नै आवाजजस्तो लाग्न छाड्यो।

मलाई लाग्यो—त्यहाँ मेरो मात्र आवाज बोलिरहेको छुइन।  वर्षौँदेखि बोल्न नसकेका मानिसहरूको आवाज बोलिरहेको छु। हराइएका मानिसहरूको आवाज बोलिरहेको छु। अन्याय सहेर मौन बस्न बाध्य बनाइएका परिवारहरूको आवाज बोलिरहेको छु। इतिहासका पानामा दबाइएका असंख्य पीडाहरू आज जनताको बीचमा आफ्नै भाषामा बोलिरहेका छु।

विगतका जनआन्दोलनहरू कसरी निर्ममतापूर्वक दबाइए, परिवर्तनको सपना देख्ने हजारौँ नागरिकहरू कसरी देशनिकाला हुन बाध्य भए र राज्यले आफ्नै जनतामाथि कसरी अन्यायको पहाड खडा गर्‍यो—ती सबै घटनाहरू मैले एकपछि अर्को गर्दै जनतासामु राख्दै गएँ।

मैदानमा उभिएका मानिसहरू चुपचाप सुनिरहेका थिए। कसैले टाउको झुकाएका थिए।
कसैका आँखामा आँसु टल्किएका थिए। कसैका मुट्ठी कस्सिएका थिए।

त्यो केवल भाषण सुनिरहेको भीड थिएन। त्यो आफ्नै इतिहास सुनिरहेको एउटा मौन आक्रोश थियो।

अन्त्यतिर पुग्दा मेरो स्वर अझ गम्भीर भयो। आन्दोलनको उत्साहसँगै त्यसमा लुकेको जोखिमलाई सम्झाउँदै मैले भनेँभूटानी शासक धूर्तहरूको एउटा संगठित समूह हो। यो मानवताविरोधी गठबन्धन हो। यसले कुनै पनि बेला आक्रमण गरेर आन्दोलनको घाँटी निमोठ्न सक्छ। हामीले आफ्ना मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाइसकेका छौँ। अब सरकारको प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ।”

मैले फेरि सबैलाई सम्झाउँदै भनेंआजको सफल प्रदर्शनलाई अन्तिम विजय ठानेर ढुक्क बस्ने भूल कसैले नगरोस्। यो त संघर्षको प्रारम्भ मात्र हो। परिवर्तनका लागि अझ कति वर्ष लड्नुपर्छ, कसैलाई थाहा छैन। जस्तोसुकै परिस्थिति आउन सक्छ।”

मेरा यी शब्दले केही क्षणका लागि सबैलाई गम्भीर बनायो। किनकि त्यो दिनको उत्साहभित्र पनि भविष्यको एउटा अनिश्चित डर लुकेको थियो। हामीले जितको स्वाद चाखेका थियौँ, तर अगाडिको बाटो कति कठिन छ भन्ने आभास पनि उत्तिकै थियो।

मैले फेरि भनेँ,भूटानी शासक यत्तिकै चुप लागेर बस्नेवाला छैन। यो अरिङ्गालको गोलो हो, जुनसुकै बेला खनिन सक्छ।”

मैले भीडलाई पुनः संयमित हुन आग्रह गरें।म सबैमा अनुरोध गर्दछु—अब आ–आफ्ना घर फर्किनुहोस्। आउँदै गरेका महान् चाड दसैँ–तिहार शान्तिपूर्वक मनाउनुहोस्। संयम राख्नुहोस्। धैर्य राख्नुहोस्। पार्टीले समयअनुसार मार्गदर्शन अवश्य गर्नेछ।”

यी शब्दहरू उच्चारण गरिरहँदा मेरो मनमा पनि अनेकौँ कुरा खेलिरहेका थिए। मलाई थाहा थियो—यो विशाल भीड केहीबेरपछि आ–आफ्ना घर फर्किनेछ। मैदान खाली हुनेछ। नाराहरू बिस्तारै सुनिन छाड्नेछन्। तर मैले बोलेका शब्दहरू उनीहरूको मनबाट कहिले पनि हराउने छैनन्।

अन्त्यमा मैले भनें—यहाँहरूको साहस, त्याग र धैर्यले एकदिन भूटानमा नयाँ इतिहास लेख्नेछ। र आजको यो ऐतिहासिक जनप्रदर्शन त्यो नयाँ इतिहासको पहिलो अध्याय बनेको छ।”

केही क्षण मैदान निःशब्द रह्यो। त्यसपछि एकाएक तालीको ठूलो गडगडाहट उठ्यो।

हजारौँ हातहरू एकैपटक बज्न थाले। नाराहरू फेरि आकाशतिर उक्लिए। त्यो तालीमा उत्साह थियो, विश्वास थियो, पीडा थियो र अनिश्चित भविष्यतर्फ अघि बढ्ने साहस पनि थियो।

मैले भीडतिर हेरेँ। हजारौँ अनुहारमा आशा थियो। हजारौँ आँखामा परिवर्तनको सपना थियो। हजारौँ मुटुमा नयाँ भोलिको धड्कन सुनिन्थ्यो।

 त्यस दिन केवल एउटा प्रदर्शन सम्पन्न भएको थिएन। वर्षौँदेखि दबाइएको आवाजले बोल्न सिकेको थियो। डरले थिचिएका मानिसहरूले एकअर्काको हात समात्न सिकेका थिए। मौनताले विद्रोहको भाषा प्राप्त गरेको थियो।

आज यति वर्षपछि पनि त्यो दिन सम्झँदा लाग्छ—इतिहास सधैँ ठूला घोषणाबाट मात्र जन्मिँदैन रहेछ। कहिलेकाहीँ इतिहास हजारौँ मानिसको सामूहिक सासबाट जन्मिँदो रहेछ। एउटा भीडको धड्कनबाट जन्मिँदो रहेछ। पीडाले भरिएका आँखाहरूमा पलाएको एउटा सानो सपनाबाट जन्मिँदो रहेछ।

त्यो दिन पनि त्यस्तै भएको थियो। मैदानमा हामीले केवल भाषण सुनेका थिएनौँ।
हामीले आफ्नो विगत सुनेका थियौँ। आफ्नो पीडा सुनेका थियौँ। र सम्भावित भविष्यको आवाज पनि सुनेका थियौँ।

त्यसैले २१ सेप्टेम्बर १९९० मेरो स्मृतिमा एउटा प्रदर्शनको मिति मात्र बनेर बसेको छैन।

त्यो दिन आज पनि मेरा आँखाअघि उभिन्छ—हजारौँ मानिसहरूको भीड बनेर,नाराहरूको गुञ्जन बनेर,आँखाका आँसु बनेर र परिवर्तनको सपनाले धड्किरहेका हजारौँ मुटु बनेर।

कहिलेकाहीँ म आफैँलाई प्रश्न गर्छु—त्यो दिन म बोलिरहेको थिएँ कि समय बोलिरहेको थियो?

सायद उत्तर आज पनि उस्तै छ—त्यो दिन मेरो कण्ठबाट इतिहास बोलिरहेको थियो। र त्यस इतिहासले पहिलोपटक आफ्नो कथा हामीलाई नै सुनाउँदै थियो,मौन नबस, तिम्रो आवाज पनि इतिहास हो।” 

त्यसैले, मेरो स्मृतिमा २१ सेप्टेम्बर १९९० केवल एउटा आन्दोलनको दिन थिएन; त्यो एउटा युगको मौनता भङ्ग भएको दिन थियो,जनताले आफ्नो आवाज आफैँ चिनेको दिन थियो र संसारले पहिलोपटक त्यो आवाज सुनेको दिन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *