स्याङ्ग्तेनको प्रेतात्मासँग संवाद
बुद्धमणि ढकाल
केन्टकी, अमेरिका
ऊ श्मशानबाट उठ्यो
खबरदारी गर्दै भन्यो –
‘तिमीले मलाई कहाँ छोडी भाग्यौ ‘
म झस्किएँ, अक्मकिएँ
भनेँ , ‘तिमी त नरकंकाल हौ
कहाँ हामी सँगै हिड्यौं’
हामी घर जान हिँडेको थियौँ होइन ?
तिमी अघि अघि
म पछि पछि
घरको दैलो बन्द थियो
हुलका हुल हिड्यौं हामी
छिमेकको साँगुरो गल्लीमा छलेर
उसले ब्रह्मपुर जेल भर्यो
म बन्दी थिएँ
तिमीले बाटैमा अलपत्र
फ्याँकेर हिड्यौं।
म नाजवाफ, अवाक्
ऊ सँगै मेची तरेको सम्झेँ
पन्चाई नदीको शिविर सम्झेँ
उसको जड शरीर
सडकको जुलुस
सिलिगुडीमा लाठी वर्षा
मेची पुलमा तातो गोली
मरेर पनि भिडसँगै हिँड्थ्यो
घर फर्किने बाटो खोज्थ्यो।
अस्थिपञ्जर, भयानक वेगमा काँप्यो
र भन्यो –
तिमीले मलाई घर लगेनौ
बाटोमा सेलाएर एक्लै छोड्यौ
तिमी भाग्यौ , त्यसैले
पछ्याइरहेछु म तिमीलाई।
होशमा आएर मैले भनेँ
तिमीलाई सलाम छ ,
तिम्रो बलिदानीलाई
सँगै हिँड्ने अठोट तिम्रो
सानो आँट थिएन
तथापि
क्लान्त छु म
आत्मग्लानि छ
पश्चात्तापको खरानी भा’को छु
खेद छ मलाई
बाबुराम स्याङ्ग्तेन,
तिमी प्रेतात्मा भएको
घर जाने बाटो खोज्दा
सङ्घर्षमा ढलेको
तिमी र म
घर पुगेको भए
देव-आत्मा हुने थियौ
पूज्य रहने थियौ ।
खोपडीका खपटा हल्लाएर
निराश सरि भन्यो –
तिमीहरूले सहिद भनेको व्यर्थ
घर-गाउँले खिल्ली उडाए
अरूकै घुर्यानमा
सहिदको कस्तो अर्थ र ?
भो चाहिएन तिम्रो अलङ्कार
पराइको जुठो खाएका छौ
अशुद्ध आत्माको अहङ्कारी छिटा नपरोस्
म प्रेतात्मा भएको सही।
श्मशान फर्क स्याङ्ग्तेन
तिम्रो पुण्य तिथिमा
हजार दिया बाल्ने छु
देवलोक भाक्ने छु
गोसीको गुम्बामा
तिम्रो आत्मा बसाउने छु
तिमी मरेर म बाँचेको
यही अर्थ हुनेछ
अरू सबै शेष।
मिति मई २०, २०२१