स्वच्छन्द
शिवलाल दाहाल
केन्टकी, अमेरिका
आज बादलको टुक्रा कतै छैन आकाशमा
पारिलो घाम लागिदिएको छ
उही हिउँदे सिक्रे रुखहरुका
थाप्ला माथि
स्वच्छन्द विचरण गर्ने चराहरुका पंखमाथि
यी चहुरका मसिना झार–पातमाथि
अझ भनौँ मध्यन्ह दिनतिर आफ्नै थाप्लामाथि पनि
यसो बाहिर घुम्न निस्कन्छु
कता कता मसिना जून–टिकी फूल फुलिदिएका छन्
मैँले प्रेमले दिएको नाम ‘भूई–फूल’
मेरी सानी छोरी हुर्र उडेर जान्छे र दुई–चार ओटा टिपेर
हाँस्तै भाग्छे पुतली जस्तै …..
कता कता अन्तस्करणमा पीडाबोध हुन्छ
कति समयको तपस्यापछि तिनीहरू फुलिदिएका छन्
उसलाई सम्झाउन मन लाग्छ देवकोटाका यी हरफहरु
‘ईश्वरको हाँसो पाएका फूल छोएर नमार’
तर ऊ मेरा भावनात्मक संवेग कसरी बुझ्न सक्छे र !
मनको आकाश जति धमिलो भए पनि
बाहिरी संसार आज कति मज्जाले उघ्रिदिएको छ
त्यो निर्मल आकाश
त्यो न्यानो घाम
आहाराको खोजीमा निस्किएका चराहरु
पाउलिन केही दिनमात्र कुरेर बसेका रुखहरु
रहर बोकेर बाहिरी संसारको अवलोकन गर्न हिँडेकी अस्मिना
वर्षको एकबार संसार सिंगार्न आएका भूइँफूलहरु
कति अबोध र प्रिय छ तिनको संसार
आज तिनकै चित्र छ छातीमा
आज तिनकै अनुहार छ आँखामा
हो त कहिले कहीँ प्रकृतिले मनको महिलो धुँदोरहेछ
आज यस्तै अनुभूतिले डेरा जमाएको छ ह्रदयमा
र कता कता मन डुलेको छ – स्वच्छन्द, स्वच्छन्द!!