स्वर्ण जयन्ती

यतिराज अजनबी
एड्लेड, अष्टालिया

तिमी र मैले जिन्दगीको घामपानी
सधैं सँगै काट्ने सम्झौता गरी
दसीस्वरूप दिलको साटासाट गर्दा
सँगै बसेर सुन्तला खाएको दिनको
स्वर्ण जयन्ती हो आज ।
आरूडाँडा र आँपडाँडाको भन्ज्याङमा
माघको मध्यान्नको घाममा
तिमीले छोडाएर दिएको
सुन्तलाको केस्राले जोडेको थियो हामीलाई ।
हामीले खाँदा भैंमा खसेका सुन्तलाका दिउलहरू
रुख भएर उठेका थिए,
भरिला रसिला दाना लाग्दै थिए
गोठालोलाई स्याउला चाहिएको थियो
गोठमा छहारी हाल्न,
पाताङले उसका औंलाहरू काट्यो
काटिएका प्रत्येक औंलाबाट
अर्को साल ददश औंलाहरू पलाए ।
गोठालोलाई टाट्नो बनाउनुथ्यो
उसले सबै हातहरू छिनाल्यो,
छिनालिएका प्रत्येक हातबाट
पलाए पाँच-सात जोर नयाँ हातहरू,
यसपाली गोठालाले
त्यही रुखका हातको बिँड
लगाएको बन्चरोले ज्यानै ढाल्यो
उसलाई गोठको खाँबो फेर्नु थियो,
पछिल्लो पटक भने गोठालोले अचम्मै गर्यो
नयाँ शरीर पलाउनु अगावै
माटोमा गाडिएका खुट्टा समेत
झिक्यो खन्तिले भैं खनेर,
मानौं ऊ आफैंलाई खान तरुल खन्दैछ
तर चौपायाका लागि कुँडो पकाउन
उसलाई दाउरा चाहिएको रहेछ ।
एउटा रुखको आयु
उसका खुट्टाका औँलाहरूले
माटो चेपुन्जेल मात्र रहेछ ।
माटोसँगको बिछोड भनेको त
मासिनु पो रहेछ ।
धन्न आज पनि एकर्काको आसपास
बसिराखेका छौं हामी
जिन्दगीको भन्ज्याङमा उसैगरी,
त्यसैगरी समय छोडाएर दिंदैछ्यौ मलाई
र त मगमगाएको छ वरिपरिको वातावरण,
तिमीले उसबेला सुन्तला तास्दा
स्प्रे हुने अत्तरझैं ।
हाम्रो हातबाट खसेकाछन्
यहाँको माटोमा पनि
समयका केही दिउलहरू
म विश्वस्त छु
पुस्तौंसम्म रहिरहनेछन्
तिनका रुखहरू किनकि यहाँ गोठालो छैन ।

Don't have a Facebook account? Please, use the form below with other options!