हराएको म

कथाकार
कथाकार

नेत्र आचार्य “वशन्त दिक्तेली”
फोर्ट वोर्थ, टेक्सास, अमेरिका

घरमा ठुलो, व्यस्त पसल थियो। ग्राहकको भिडाभिड । रातमा बन्द गरेको पसलको ढोका ढकढक गर्दै कोही बोल्यो-“चुरोट पाउँ न ।” हामी कोही निदाएका थिएनौं। बिरालाको चालमा गएर बुबाले हजुरआमालाई भन्नुभयो-“नबोल्नु है, हामी मस्त निद्रामा भएको जस्तो गरौँ।” ढकढक… ढकढक… ढकढक… ढकढक… धेरैबेरको ढकढक्याई र ग्राहकको आवाजले हजुरआमा बोल्नुभयो-“चुरोट छैन है, सकिएको छ।” तथानाम गाली गर्दै र अश्लील शब्द र वाक्यहरुको प्रहार गर्दै, एउटाले पसलमा एक लात कसेर हान्यो। उनीहरू सबै नशामा थिए तर होसमा थिए। छाप्रोको बसाइ भए पनि, पसलबाट राम्रो आम्दानी भैरहेको थियो। शिविरमात्र नभएर छिमेकमा रहेका गाउँलेहरू सम्म सबैले किनमेल गर्ने र बिना कुनै हिच्किचाहट बाँकी दिने हाम्रो पसल थियो। बाँसकै भाटाको घर भए पनि बाहिरबाट राम्रो देखिने हुनाले, छोटा छोटा भाटाले बुनेका थियौँ घरको एक तीरको बार। एक लातमै हाम्रो मिहिनेत माटोमा मिल्यो। हाम्रो बार भत्कियो। उनीहरू भागे। दुईवटा बाँसले बनेका मुढा छिर्ने भ्वाङ पर्‍यो। चिनेकै गाउँलेहरू थिए उनीहरू। स्वरबाटै छर्लङ्ग चिनियो। निस्वार्थता र इमानदारिता हाम्रो मुख्य धर्म थियो, त्यसैले त्यो दिनसम्म कसैले औंला उठाउन सकेको थिएन। रातभर, पसलको सुरक्षा गर्न सबै जागा रह्यौं। नेपाली भएर नेपाल र नेपालीबाटै अपहेलित हामीलाई चिन्ता हुनु स्वभाविक थियो। आफ्नो जन्मभूमिबाट लखेटिएर छिमेकी मुलुकमा आश्रय नलिई, सोझै आफ्नो पुर्ख्यौली देश आउनु हाम्रो ठुलो भुल थियो। बिहान सबेरै बाँस किनेर, भत्काइएको बारलाई पुनः निर्माण गर्‍यौँ। समयको चक्र घुम्दै गयो। यस घटनाको करिब एक वर्ष पछि, अलि धेरै कमाउने उद्देश्यले बुबा र चारजना अरू मिलेर बुधबारेका गुवा बगान ठेक्का लिई गुवा/सुपारीको व्यापार सुरु गर्नुभयो, भारी मात्रामा ऋण लिएर। अघिल्लो वर्ष समुद्रको छल्काझैं बढेको सुपारीको भाउ, अर्को साल सुकेर थोपा बन्यो। साहुको ऋणले सुरु गरेको व्यापार डुब्यो। शरणार्थी शिविरको बसाइमा एक-डेढ लाख रुपैयाँ ऋण लाग्नु चानचुने कुरा हैन। साहुले पसलबाट सामान लगेर ब्याजमा कटाउन थाले। हाम्रो पसल मासियो। पाँच मध्ये चारले क्रमिक रूपमा सालिन्ने, एक पछि अर्को गर्दै एस. एल. सी. परीक्षा उत्तीर्ण गर्‍यौँ। “मेरा हाड करङ बन्धक राखेर भए पनि मेरा छोराछोरीलाई उच्च शिक्षा हाँसिल गराउँछु” भन्ने मेरा बुबा पनि निराश हुनुहुन्थ्यो भित्रभित्रै। सकिनसकी डटेर बुबाले केही हदसम्म गर्नुभयो। मैँले एस. एल. सी. सक्दा बुबा भारतको गुजरात प्रान्तमा नोकरी गर्दै हुनुहुन्थ्यो। घरमा दमले ग्रसित बुढी हजुरआमा, आमा, दुई दिदीहरू, म र भाइ थियौँ। म र मेरो आत्मीय साथी बिर्ख कालिम्पोङ गएर उच्च मा. वि. को पढाइ गर्ने भनेर सपना बुन्न थाल्यौं। त्यही बेला बुबालाई फोन गर्दा फोन लागेन। कालिम्पोङको कलेजमा भर्ना गर्ने मिति समाप्त भएपछि फोन आयो र मैँले अब दमकस्थित सिद्धार्थ कलेजमा पढ्ने निधो गरेको बताएँ। ऋणको चिन्ता छँदाछँदै पनि उक्त महङ्गो कलेज पढ्ने कुरा बताएपछि बुबाले “कि कालिम्पोङ, कि पथरीको अन्नपूर्ण” भन्नुभयो। मैँले त्यसो भए अन्नपूर्ण भनेपछि मलाई उच्च मा. वि. को पढाइको लागि खर्च पठाउनुभयो र मैँले पढ्न सुरु गरेँ। कक्षा ११ जसो तसो पढियो। १२ पढ्नलाई पैसा थिएन। बुबाले पनि केही गर्न सक्ने उपाय देखिन। त्यसैले घरमा कसैलाई पत्तै नदिई, म सरासर मितबुबाको घर गएँ। जस्तै परिस्थितिमा पनि सहयोग गर्ने हुनाले र हामी केटाकेटीलाई समेत विश्वास गर्ने हुनाले म त्यहाँ गएँ। बुबाकै लिपि जस्तो बनाएर, हस्ताक्षरसम्म गरी, मितबुबालाई एउटा चिठी थमाएँ।

नमस्ते मितज्यु,
म आउन पाइन। मलाई एक हजार रुपैयाँको खाँचो पर्‍यो। मैँले छोरालाई पठाएकोछु । कृपया, यसको साथमा रकम पठाइदिनुहोला। उक्त रकम, हाम्रो रासनमा कटाउनुहोला।
धन्यवाद
..हस्ताक्षर..
हजुरको मिति।

पथरी बजारमा थियो मितबुबाको घर। उहाँ नेपाली नागरिक हुनुहुन्थ्यो तर अरू नेपाली जसले हामीलाई एउटा जनावर जति पनि गन्दैनथे, त्यस्तो बिल्कुल हुनुहुन्न’थ्यो। एकदम मिजासिलो, सहयोगी र मानव भावना बुझ्ने हुनुहुन्थ्यो। त्यो दिन मितबुबामात्र घरमा हुनुहुन्थ्यो। चिठी पढिसकेर-“अहिले मीतआमा जङ्गल गएकी छ, आए पछि हामी पारी नै आउँछौ नि” भन्नुभयो। हतार हतार निराश मनले, त्रसित मनले बीस रुपैयाँ मागेर, म त्यहाँबाट हिँडे। त्यहाँबाट म सरासर मङ्गलबारे, उर्लाबारी, दमक, केरखा हुँदै डुडामारी पुगें, मेरा जेठा मामाको घर। मामल गएर माइजूसँग-म दाजुले पढाएको ठाउँमा कमाउन र ऋण तिर्न बुबालाई सहयोग गर्ने हेतुले जान लागेको, मसङ्ग भाडा छैन, मलाई पाँच सय रुपैयाँ दिनुस्, भनेँ। माइजुले छैन भन्न पनि पाउनुभएन। मैँले लिडेढिप्पी गरेपछि-“अब अब छैन भनेको सुन्नुभएन, अब मास्तिर लिम्बुनीलाई अस्ति पाठो बेचेको पैसा दिएकी छैन, एकछिन है म मागिहेर्छु” भन्दै त्यता लाग्नुभयो। मलाई शङ्कै थियो, पैसा मिल्छ मिल्दैन भन्ने त्यसैले म पनि पछिपछि लागें। माइजूले पैसा मेरो हातमा थमाएपछि “कमाएर म ब्याजसँगै दिन्छु, अहिले म जान्छु। रात छिप्पिन्छ, छुट्टै जान्छु” भनेर बाटो लागें। रात छिप्पिने कुरा त बहानामात्र थियो। म डराएको थिएँ। मितबुबा पैसा लिएर हाम्रो घर पुग्नुभयो भने, बुबा मलाई खोज्दै यहाँ आइपुग्नुहुन्छ र मलाई अप्ठ्यारो पर्छ। यो सोचले म हतासमा हावाको वेगझैं बतासिएँ। कान्छा काका पोखरामा हुनुहुन्छ भन्ने थाहा थियो तर पोखरा ठुलो ठाउँमा कसरी खोज्ने काकालाई भन्ने सोचेको सम्म थिइँन। मामलबाट दमक आएर काठमाडौको टिकट लिएँ। पाँच बजे आउने बस, छ, सात, आठ बज्यो आएन। म खुकुरी चुरोट तान्दै बस कुरिरहें। बिर्तामोडमा त्यही गाडी साहुको अर्को गाडीले मान्छे किच्याएछ र हाम्रो बसलाई पनि ढिला भएको रहेछ। साढे आठ बजे म काठमाडौको लागि बस चढें। पोखरा काठमाडौ भन्दा टाढा होला, मसँग पैसा कम छ भन्ने बिचारले मैँले काठमाडौ जाने निर्णय गरेर बस चढेको थिएँ। ठाउँ ठाउँमा घ्याच्च घ्याच्च हुँदै बस बिहान बल्खु पुग्यो ११ बजे। सानैमा बुबाले आमा, म र ठुली दिदीलाई काठमाडौ लैजाँदा बल्खुमा उत्रेर कलङ्कीसम्म हिँडेको याद थियो। मामाका छोरा माल्दाजु र काल्दाजु त्यहाँ हुनुहुन्थ्यो। त्यही बिचार गरेर बल्खुमा उत्रेर म कलङ्कीसम्म पैदल गएँ। काइला दाइको फोन नम्बर २०२०२७९ कण्ठस्थ थियो। कलङ्की चोकबाट कल गरेँ। मसँग एउटा ५ को रातो नोट र १ को पहेँलो ढक्किमात्र थियो। मैँले जम्मा दुई कल फोन गरेंछु। काल्दाजुको पसल जाने बाटोमात्र सोध्दा। फोनमा भएको कुरा प्रस्ट सुनेका पसलेले मलाई बाटो बताइदिए। “कति भयो” मैले सोधेँ, “छ रुपैयाँ” मैले सबै दिएँ। उसले मलाई पहेँलो ढक्की फिर्ता दिएर, भो लैजाउ भने। त्यो दिन म काल्दाजुकैमा बसें। हल्का पारिवारिक गफ भयो। भोलि पल्ट सबेरै उठेर म माल्दाजुको डेरा गएँ-रबिभवन। काल्दाजु व्यापारी हुनुहुन्थ्यो भने माल्दाजु रबिभवनमा अवस्थित ज्ञानकुन्ज उच्च मा वि का अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो। विश्वकप फुटबल चलिरहेको समय थियो। छोरो आकाश, सानी छोरी अस्मिता, भाउजू, माल्दाइ र मेरा अलावा पल्लो डेरामा बस्ने केही मेरा दामले साथीहरू पनि थिए, हामीसँग फुटबल हेर्ने। उनीहरू अर्घाखाँची जिल्लाबाट राजधानी पढ्न आएका विद्यार्थी थिए। माल्दाइले हाम्रो परिचय गराइदिनुभयो। म भन्दा उमेरले अलि दिदी देखिने पूजा पौड्यालले मलाई दाइ मलाई इङ्लिसको ट्युसन पढाइदिनुस् है भन्दा, मेरो छाती फुल्यो। अलि अलि पढाए झैँ गर्थें र थोरै उनको चमकदार यौवनको मात हेरेर रम्थें। आफैँलाई लाज लागेर आउँथ्यो। उनी मसङ्गै बसेर टिभी हेर्न रुचाउथिन् भने उनका दाइ भाइ सरोज र खै के, उनलाई र मलाई आँखा तर्थे। माल्दाइ र भाउजूले भने मलाई अति सोझो सम्झनुहुन्थ्यो तर जति सम्झनुहुन्थ्यो म त्यति थिइँन। सोझो भाइ मानेर “बाहिर कतै हिँड्दा पैसा बोकेर नहिँड्नु, यो विशाल सहरमा फटाहा धेरै हुन्छन्, यतै राखेर हिँड्नु, आफूलाई चाहिनेमात्र बोकेर हिँड्नु” भन्नुहुन्थ्यो। मसङ्ग एकको पहेँलो ढक्कीमात्र छ भन्ने छनकसम्म दिएको थिइँन। घरबाट एक्कासि हराएको छोरो कहाँ गयो, के खायो, कतै केही भयो कि कति चिन्ता थियो घरमा तर म कहाँ गएँ कसैलाई पत्तो थिएन। माल्दाजुकामा पुगेको दिनदेखि नै म त्यसै बस्नु हुँदैन, काठमाडौ जस्तो महङ्गो ठाउँमा पाहुना लाग्दा, घर चलाउन गाह्रो पर्छ भन्ने मनमा थियो। माल्दाजु अङ्ग्रेजी ब्याकरणका किताब लेख्नुहुन्थ्यो। मैँले पनि ३/४ वटा किताबहरू देखेको छु र पढेको छु दाजुले लेखेको। “किताब लेख्न सघाउँछु” नधकाई, निक्कै जान्ने पल्टिएर भनेँ। माल्दाइले मलाई तरिका बताइदिनुभए पछि मैँले सुरु गरेँ। एक दिन दाजुले मोबाइल कोठामै चार्जमा छोडेर जानु भएछ। मोबाइल जिन्दगीमा पहिलो पटक देखेको, क्याल्कुलेटर भन्ठानें। नम्बर दबाएको त कल भन्ने पनि लेखेको देखेँ। हत्तपत्त ०२१-५५५१९५ उद्धव दाजुको टेलिफोन नम्बर डाइल गरेर “जितबहादुर कडरियालाई बोलाइदिनु न” भनेँ, “अब आधा घण्टापछि फेरि फोन गर्नु” उत्तर आयो। आधा घण्टा नबित्तै पुनः रिङ बजाएँ। जितेले फोन रिसिभ गरे।

“जिते म काठमाडौ छु, तर घरमा पटक्कै नभन्नु ल ।”

“होइन यार, भन्नु पर्छ, लास्ट टेन्सन मानिरहनुभएको छ घरमा ।”

“भन्यौ र मैँले थाहा पाएँ भने, म यहाँबाट पनि भाग्छु। मैँले ऋण तिर्ने पैसा नकमाउन्जेल म घर आउन्न ।”
भनेपछि जितेले हुन्छ, म भन्दिन भने-भारी मन लिएर। यतिकैमा १२ दिनको दिनदेखि मेरो मन, मस्तिष्क आकाश गड्गडाएझैं गड्याङ गुडुङ गर्न थाल्यो। मैँले घर जाने निधो गरेँ तर कसरी थाहा छैन-खल्तिमा मात्र एक रुपैयाँ छ। १५ दिन भयो माल्दाजुकामा बसेको। मलाई माल्दाजु, भाउजूले एक पटक नराम्रो केही भन्नुभएन। दाजु, भाउजूले धेरै माया गर्नुभयो। १५ दिनको दिन मैँले दाजुको किताब पनि पूरा गरिदिएँ। एक दिन माल्दाजुका सहकर्मी शिक्षक जीवन खनाल सर आउनुभयो। मैँले स्पिसियल्लीलाई specially लेखेको देखेर दाजुले भएन e पनि लाग्छ अगाडि भन्नुभयो। यो कुरामा जीवन सरको र मेरो कुरा मिल्यो तर दाजुले शब्दकोष नै पल्टाएर देखाउनुभयो र तिनै जना मज्जाले हाँस्यौं । १५ दिनमा मैँले धेरै कुरा सिकें। पहिलो कुरा-जिन्दगीमा पहिलो पटक मोबाइल देखेँ र चलाउन जानें। दोस्रो-रिमोट कन्ट्रोल पहिलो पटक देखेको र चलाउन जानेको। सहर कस्तो हुन्छ, मान्छे कस्ता हुन्छन्, धेरै धेरै कुरा । १६ औं दिन बिहान सबेरै उठेर मैँले, म घर जाने कुरा बताएँ । घरको याद, बुढी हजुरआमा, बुबा, आमा, दिदी, दाजु, भाउजू, भाइ सबैको यादले पिरोल्यो ।

“भाडा छ के?”
“छ”
“पुग्छ? पुग्दैन भने भन है!”
“पुग्छ दाजु। मैँले बोकेरै आएको।”

“त्यसो भए, यो यसो चिया खाने खर्च” भनेर म फुच्चेलाई पचासको निलो नोट हातमा राखिदिनुभयो। अब घरै जानु है, कतै नजानु-माल्दाजुले।

त्यहाँबाट आफ्नो झोला बोकेर म काल्दाजुको पसल तर्फ लागें-कलङ्की। काल्दाजुकामा झोला बिसाइ-“दाजु, म आजै घर जान भनी हिँडेको ।”

“ए! ल ल, राम्ररी जानु, कतिबजेको गरेको छ टिकट? कि टिकट नगरी जाने?”

मैले भनेँ-“म एकपल्ट अफिस गएर आउँछु, अफिसमा के कुरा हुन्छ हेरौं।” निक्कै सान दिएर बोलें।

काल्दाइको पसल अगाडि अलि छलिएर, मेरो खल्तिको सानो ब्याग कोट्याएँ। त्यहाँ एल्. डब्ल्यु. एफ्. दमकका प्रोग्राम अफिसर श्री चाणक्य अधिकारी सरको भिजिटिङ कार्ड थियो । एल्. डब्ल्यु. एफ्. को मुख्य कार्यालय महाराजगन्जमा पर्दोरैछ। भोक लागेकोले र पैसा साथमा भएकोले अघि माल्दाजुले दिएको पैसा पनि अघिनै सकेको थिएँ-भरेको ख्यालै नगरी । मलाई फसाद पर्‍यो । कलङ्कीका प्रत्येक पसलहरुमा “मेरो दाजु मोडल अस्पतालमा हुनुहुन्छ, उहाँको बेड चार्ज तिर्ने पैसा पुगेन, कृपया जतिसक्नुहुन्छ दिनुस्” भन्दै माग्दै हिँडे । कसैको थप्पड, लात, गाली खाँदै मरितरी ३० रुपैयाँ जम्मा गरेर महाराजगन्ज हिडें । त्यो बेला सात रुपैयाँमा गाडीबाट नझरे उपत्यका घुमाउँथ्यो गाडीले । महाराजगन्जमा सोध्दै सोध्दै म एल्. डब्ल्यु. एफ्. पुगें। असारको महिना मुसल्धारे पानी परिरहेको थियो । चिनियाँ अन्तराष्ट्रिय रेडियो नेपाली सेवा (CRI) ले दिएको पहेँलो भेष्ट र कलेजको हरियो पेन्ट लगाएको थिएँ । भिजेको मुसोझैं भएको थिएँ । बाहिर गेटमा बसेका पालेदाइलाई -“यहाँ झापाबाट चाणक्य अधिकारी सर आउनुभएको छ, कृपया भेट्ने वातावरण मिलाइदिनुस् न” पालेदाइले- “उहाँ त हिजै गैसक्नुभयो।” “त्यसो भए मलाई यु. एन्. एच्. सि. आर्.  जाने बताइदिनुस्” पालेदाइले पैदल तथा गाडीको दुवै बाटो बताइदिनुभए पछि म अनिलकुटिमा अवस्थित यु. एन्. एच्. सि. आर्.  अफिस पुगें।

बाहिर बस्ने ठाउँसम्म नभएको अफिसमा पुगेर, त्यहाँका दुई पाले दाइहरुलाई सोधेँ-
“यहाँ किम्बर्ली रोबर्सनलाई भेट्न सकिन्छ?”
“एपोइन्ट्मेन्ट लिनुभएको छ?”
“छैन, मसङ्ग सम्पर्क गर्ने कुनै साधन छैन, म मोरङ्गमा रहेको शरणार्थी शिविरको एक शरणार्थी हुँ”
“त्यसो भए एउटा निवेदन लेख्नुस्।”
पेपर र कलम मतिर लम्काएर भन्नुभयो।
मैँले सरासर निवेदन लेखें। एकैछिनमा रुपा म्याम आएर मलाई किमकोमा लैजानुभयो र सोध्नुभयो-“अङ्ग्रेजी बोल्नुहुन्छ?” “अलि अलि”
“ल भन्नुस्, के काम थियो?”

मैँले मेरो कहानी सबै बताएँ। बिच बिचमा मेरो अङ्ग्रेजी सकिँदा रुपा म्यामले सहयोग गर्नुभयो। अन्त्यमा, मैँले म घर जान चाहन्छु तर भाडा छैन भनेपछि र म पानीको भिजाइले जाडो भएर थर्थर कामेको देखेर मलाई हिटर, ए सि भएको कोठामा राखेर, म्याम कतै जानुभयो। निक्कैबेर पछि आएर भन्नुभयो- “कारितास जानुस्, मैँले भनिदिएकी छु, आजै कारितासले टिकट गरेर घर पठाइदिन्छ।” म खुसीले गदगद भएँ। मलाई भगवान् भेटेझैं भयो। धन्यवाद दिएर म बाहिर निस्कें। त्यो जाडोले कामेको बेला, कारितासलाई रेडक्रस सुनेंछु र रेडक्रस पुगेर सोधेँ-“यहाँयु. एन्. एच्. सि. आर्. बाट कल आएको थियो?” जवाफ-“आएको छैन, हामीले शरणार्थीलाई हेर्दासम्म सम्पर्क थियो तर अहिले खासै सम्पर्क छैन, हामीले शरणार्थीलाई सहयोग गर्न छोडिसक्यौं।” खिन्न र चिन्तित अनुहार लिएर काल्दाजुको कोठा गएँ । यु. एन्. एच्. सि. आर्. मा फोन गरेर सोध्दा कारितास भनेको बुझेपछि तत्काल कारितासलाई फोन गरी भोलि बिहान आउने कुरा बताएँ। भोलि पल्ट बिहान ९ बज्नु अगावै म धोबिघाटको कारितास अफिस पुगें। अन्य अफिसहरु जस्तै पालेदाइ गेटमै हुनुहुन्थ्यो। एउटा विशाल चर्चको अगाडि रहेछ कारितास अफिस। पालेदाइलाई रिता म्याम हुनुहुन्छ मात्र के भनेथें-उहाँ त गाडी लिएर निस्किसक्नुभयो भन्नुभयो-म झस्कें, अनुहार पानी पर्न लाग्दाको बादलझैं भयो। मलाई जिस्काउनुभएको रहेछ, झट्ट बोल्नुभयो-झापाबाट आउनुभा हो? “हजुर।” यति भन्नासाथ, एकजना म्याम आएर मलाई टेबुलभरी पत्रिकाहरु राखिएको कोठामा लानुभयो र पर्खन भन्नुभयो। एकैछिनमा-रगेस तामाङ नामका सर लिएर आउनुभयो । दुवै जना भएर एउटा फारम भर्न र सही गर्न लगाउनुभयो । मैँले हल्का पढ्दै सही गरेँ। “रगेस सरले, तपाईँलाई टिकट काटिदिनुहुन्छ, पाकेट खर्च २०० रुपैयाँ दिनुहुन्छ अनि गाडी चढाएर फर्कनुहुन्छ, भरे ठिक ३ बजे आउनुस् सबै कुरा लिएर भन्नुभयो। मैँले पनि उहाँहरूले भन्नुभए बमोजिम गरेँ। रगेस सरले बाइकमा मलाई पछाडि राखेर सातदोबाटो लानुभयो र टिकट काट्दै हुनुहुन्थ्यो मैँले अलि माथिबाट मेरो साथी पदम बुढाथोकी आउँदै गरेको देखेँ। उसले म हो हैन ठम्याउन सकिरहेको रहेनछ र मैँले पनि।छेउमै आइपुगेपछि-

ओ पदम भनेको ओ नेत्र भनिहाले। बाइकमा अढेस लागेर बसेको अनि भद्र मान्छेको साथमा देखेर साथीले सोधे-“अफिसको कामले आएको?”

हैन नि, भाडा नभएर कारितासले घर पठाउन लागेको भन्दिएँ सोझै। दया लागेर होला, उसले मलाई दुईवटा रमपम किनिदिए। रगेस सरले पनि दुईवटै। गाडी आउने समय भएको थिएन र पदमसँग एकछिन गफ भयो। उसले भने-“पढेको भनेको पढेकै हो यार। हामीले त स्कुल छोडेर ढुङ्गा मुढातिर लाग्यौं।” मैँले-“किन टेन्सन मान्नु, हामीले के नै पढेको छ र, हामी उस्तै त हो नि, यो पढाइको प्रसङ्ग चाहिँ कहाँबाट निकाल्यौ?” भनेँ।

उसले भने-“म घर जाने पैसा नभएर, काम खोज्दैछु। तिमी काम नखोजेर आफ्नो बुद्धि प्रयोग गरेर घर जाँदैछौ।”

उसँग गफगाफ गरिसकेपछि रगेस सरले र मैँले एउटा होटलमा पसेर केही खानेकुरा खायौं। मेरो पेटमा पनि मुसा कुदिरहेका थिए, तिनलाई साम्य पारियो। रगेस सरलाई र कारितासलाई धन्यवाद दिई म रात्रि बसमा चढेर घरतर्फ लागें । घर पुगेको दिन म हजुरआमासँगै दिन बिताएँ। बुबा काममा हुनुहुन्थ्यो, मलाई देख्नुभएन । भोलि पल्ट कलेज गएँ । त्यो दिनभर पनि बुबाले म घर आएको पत्तो पाउनुभएन । सुत्ने बेलामा बुबा दाजुभाउजूको कोठामा आउनुभयो र सिरकमा गुटुमुटु परेको मलाई नचिनेर सोध्नुभयो, “हैन यो को हो ?” दाजु भाउजूले डराउँदै “नेत्र हो” भन्नुभयो । बुबाको खुसीको सीमा रहेन । बुबा भन्न थाल्नुभयो – मेरो गल्ती हो, मैँले यस्ता केटाकेटीको छेउमा ऋणको कुरा गर्नु नहुने थियो । अब कलेज जावोस् खुरुखुरु । धेरै कुरा भन्नुभयो । अर्को दिन बिहानै कलेज गएँ । प्रिन्सिपल साजीको हस्ताक्षर चोरेर प्राय जसो कक्षाबाट निस्कन्थें । त्यो दिन मलाई चिन्ता बढ्यो । हजुरआमालाई बुबा र बढिबा भएर रातभर रुगेंको थाहा थियो । घरमा के भयो, कसो भयो भन्ने चिन्ताले मैँले बिर्खलाई भनेँ- घरमा पक्कै केही भयो, म घर जान्छु, तिमी पनि जाने भए जाउँ । उसले शान्तवना दिँदै त्यसो नसोच भने तर मन मानेन । कक्षाबाट गङ्गालाई जबर्जस्ती मसँगै कलेज भगाएर दुवै घर गयौँ । गङ्गाको घर आयो, उनी घर गए । त्यसपछि म एक्लै भएँ । मनले के सोचेको हो कुन्नि, मन बोल्न थाल्यो एक्कासि । गिरि अन्तरे दाजुको दोकानबाट घरतिर हेर्छु – मान्छेको भिड रहेछ भने, हजुरआमा हुनुहुन्न, यदि कोही रहेनछ भने, हजुरआमा ठिकै हुनुहुन्छ, भन्ने सोच आयो । सोच्दा सोच्दै दोकान आयो । दोकान अगाडि, गिरि ठुली भाउजू उभिनुभएको रहेछ । मैँले आफ्नो घर तर्फ हेर्न नपाई भाउजू बोल्नुभयो- “भाइ कलेजबाट भर्खर आएका?”  “हो त भाउजू,” मैँले भनेँ । “ए! आमै अघि गइन् ।” मेरा आँखा रसाए । मलाई धेरै माया गर्ने हजुरआमा, मेरी प्यारी हजुरआमाले छोडेर जानुभएछ । काठमाडौबाट फर्कँदा, मैँले एक रुपैयाँ पर्ने छुर्पीसम्म किनेर दिन पाइन, पशुपतिनाथ, स्वयम्भू, दक्षिणकालीको प्रसादीको त कुरै नगरौं । मलाई यही अफ्सोस छ । म हतार हतार कुदेर घर पुगें । सवैजना हजुरआमाको वरिपरि बस्नुभएको रहेछ। कस्तै विपत्तिमा पनि नरुने मेरा बुबा रोएको देखेर मेरा आँखाबाट झरना बग्यो। काठामाडौबाट आएको दिनदेखि नबोल्नुभएको बुबाले भन्नुभयो – “कपडा फेर ।” म एक प्रकार खुसी भएँ, बुबा मसँग बोल्नुभएको देखेर तर त्यो भन्दा धेरै स्तब्ध थिएँ हजुरआमाको देहान्तमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *