हाम्रा पुर्वज र जीवनशैली
दुर्गा गुरागाईं
अस्ट्रेलिया
हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै
पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै !
न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल
न लुगै किन्न पाइन्थ्यो विचरा मात्र थ्यो बल ।। १
पाल्दथे गाइ र भैँसी हाल्दथे सब त्यो मल
मोटो र कसिलो हुन्थ्यो सप्रन्थ्यो अन्नको नल।
गाउँकै भेषमा हुन्थे नगर्थे ती कतै छल
कुलको वृत्ति जान्नाले परेनन् कहिल्यै तल ।। २
भिरेर खुकुरी नाम्लो खोला बाढी तरे कति
डोको र कुम्लोका बल्ले जोड्दथे घर संपति ।
खालिनै खुट्टाका भरमा भञ्ज्याङ पाखा कटे कति
रोगको उपचार गर्थे समूल घरमै बसी ।। ३
कम्मरमा पटुका कस्थे टोपी चै शीर हर घडी
उच्च विचार भएकाथे घर थे बरू झोपडी।
समय जान्नको निम्ति कुखुरो बन्थ्यो त्यो घडी
जोसिला हकिला हुन्थे नाग्दथे शत्रुका गढी ।। ४
खान्थे ती मूलको पानी खान्थे त्यै रसिला फल
औषधी अन्नमै मिल्थ्यो तेजिला बुद्धि र बल।
बोक्दथे पिठमा भारी पुग्दथे पहाडै परि
बल्या थे जोसिला फुर्ति आज हामी कठै बरी—‘ ।। ५
गोठको सरुवा गर्दै खेतमा मल छर्दथे
गाईको रखवार गर्दै हर्पेमा घिउ भर्दथे।।४८।।
दुँदेरा कुराउँनि कोर्थे गोठधूपै पनि गर्दथे।
ठेकीमा मदानी हाली जोडले खुब तान्दथे ।। ६
घिउ त्यो तयारी बन्थ्यो राम्ररी खुब तार्दथे।।
नौनीलाई अग्निमा ढाली सुगन्धित घर पार्दथे ।
जब भो खेतीको बेला खर्कको खोज गर्दथे
गाउँका गोठाला मिल्दै दूरमा गोठ सार्दथे ।। ७
वनका निगुरो खाँदै गौ सेवा चाकरी गरी
भुटुन मही त्यहीं हाल्थे भूनेमा घरलाई भरी ।
दहीमा पानी हालेर घरलाई मही टार्दथे
दहीनै बोकेर ल्याउनु किन मही त्यहिँ पार्दथे ? ।। ८
वैद्य झैं मन्त्र र तन्त्र उनले सब जान्दथे।।
वनको औषधी खान्थे वनकै देवी मान्दथे ।
लिङ्गा र पताका राखि मार्ग होस् भनी मङ्गल
चढाई वनको फूल देउराली गरी भाकल ।। ९
समाल्दथे बैंश र त्यो जवानी
स्वधर्म मान्थे कुलधर्म ठानी ।
विश्वासिला र दृढशक्ति भाका
ढाका सधैं थ्यो शीर टोपी लाका ।। १०
नित्यै थ्यो पूजा क्रिया कर्म काज
धन्यै समाज थ्यो तव धन्यवाद ।
मीठो छ भाषा रसिलो छ भावना
पवित्र मन थ्यो शुभ भाव देवमा ।। ११
दौरा सुरुवाल थे हुने भापो चप्पल
पुरानो चिन्तन नकतै थ्यो नक्कल।
घोडा सवार थ्यो शीरविन्दु लाका
अक्षुण्य भक्ति बल दक्ष पाका ।। १२
जन्मै र मृत्यु जब बारबार
यो देहको धर्म गरे विचार।
तत्वै बुझेथे भव सार पार ।
अजेय ठान्थे विषय विकार ।। १३
दशैँ तिहार ती सब चाड मान्थे
बेला बेला चहिॅ मठ तीर्थ जान्थे।
तिथि र योगमा बल चन्द्र भानु
ज्ञान राख्थे सबको फल भाव जानु ।। १४
अमृत सरि थ्यो दुध मोई पानी
विशुद्ध घरको फल अन्न खाने ।
जडीबुटी थे सब बोट झाङमा।
ठूला र अग्ला गतिला थे आङमा ।। १५
खान्थे रसिला हर सत्त्व गुणका
अभक्ष त्याग्थे बरु खान्थे ठुन्का ।
खइ कहाँ म पाउँ अब तिम्रो रूप
दर्शन दिइयोस् हे मुनि स्वरूप ।। १६
कर्मै थ्यो विश्वास न कतै विवाद
स्वधर्म मान्थे कूल धर्माचार ।
सिद्धान्त एउटै न कतै थ्यो वाद
बहु एकतामै रमेथ्यो समाज ।। १७
मीठो स्वर गरी छन्द र लय भरी राम्रो सिलोक गाउँथे,
नेपाली घर गाउँका चलनको पोषाक पनि लाउँथे ।
लाएको छ सुरवाल कोट सबले दौरा पटुका कसी ।
सादा जीवन उच्च भाव मनका बस्ने पल्याँटी कसी ।। १८
शुभाशीर्वाद भन्दै शुभ र दिन ती पाँच भरिको
दही अक्षताले सरोवर गरी माथ भरीको।
टीकाटालो गर्थे सब जन बडा वर्ष दिनमा।
शरद कालको त्यै हो कतिपय अरू मास मीनमा ।। १९
न हारे है कैले दशरथ बडा पुत्र जसरी
ल ऐश्वर्य पाऊ सुख सयल पाऊ अझ अरू।
अशान्तिलाई त्याग्नु गति मति सबै स्थीर कसरी
गरे है यो चोला सकल भवमा सारस भरी ।।२०
आयु लामो हवस बलैमा बलवान् कीर्ति रहोस् हर घडी
देउता दाहिने हउन् पिशाच दूर होस् लक्ष्मी बसुन् शीर चढी ।
भन्दै आशीष दिन्थे आज विचरा घुम्दै होलान् कहिँ कता।
सम्झन्छु दिन-रात आज मत यो पग्लेर आउँछ घत।। २१
गए कता हो किन आज छैनन्
भुलेकि क्या हो किन आउँदैनन् ।
गर्दैछौं अर्पण सब पिण्ड पानी
स्वीकारीयोस् है खुसिसाथ मानी ।।२२
हरायो कथा त्यो हरायो कहानी
अब सम्झना देऊ सबै बाल ठानी।
दोधारमा छौं कुन बाटो जाने
दयाहोस तात! पुकार्दैछौं हामी ।। २३
चाड-बाड तिहारमा कुकुरको गोरू अनि भाइको
लक्ष्मी साथ झिलिमिली घरघरै गर्थे पूजा गाईको।
भैली देउसी गरी घुमी नगरमा गर्थे बडो रम्झम
मालालाइ बजाई वादन कतै नाच्थे जतै छम्छम ।। २४
चेली भाइ रमाउँथे घरघरै उत्सव बडो देउसीले
रोटी थाल भरी जतै मखमली कालो छ रात औंसीले।
कालो कार्तिकमा घुमी घरघर प्रचार गरी दानको।
गाथा गान गरी पुर नगरमा दानी बली दैत्यको ।। २५
यस्तो देख्न र सुन्न पाउँ कहिले यो संस्कृति खइ कता
यस्तो दिव्य अनन्त सार महिमा हाम्रो अपार सभ्यता ।।२६
दान धर्म गर्न उनले सिकाए
मान सान राख्न उनले सिकाए ।
कता गए खइ किन आज छैनन्
भुले कि क्या हो किन आउँदैनन् ।। २७
चाड पर्व मान्न उनले सिकाए
कूल चाल चल्न उनले सिकाए।
भाषा र साहित्य अझै बढाए
संस्कार मान्न अभिमान चलाए ।। २८
ज्ञान धर्म-शास्त्र भनी पाठ पढाए
जप ध्यान गर्न उनले सिकाए।
दर्शनको इच्छा गरें आज छैनन्
भुले कि क्या हो किन आउँदैनन् ।। २९
स्वधर्म मान्न उनले सिकाए,
कुल वृत्ति थाम्न उनले सिकाए।
छ विन्ति हाम्रो सुनियोस् पुकार
पुनः नमस्ते छ पुनः नमस्कार ! ।। ३०
स्वप्न सरी भो किन आज छैनन्
भुले कि क्या हो किन आउँदैनन् ।
सुम्पेर जाने कुल धर्म सारा
पुनः नमस्ते छ पुनः नमस्कार ! ।।३१
गोडेर खेतमा ती टुसुक्क बस्थे
नियम त्यो राम्रो थ्यो गरे नमस्ते ।
नृत्यै न खेल् थ्यो घर बाघ चालन
न लोक गीतै थे भजन र बालन।। ३२
चिन्तन थ्यो पैले भव पार तर्ने
सन्तानले चहिॅ सब ग्राम भर्ने।
आनन्द मान्थे सब देख्न पाको
हेर्दा त्यो हेर्दै अब विस्व ढाको।। ३३
विश्वाशीला थे सब साथ सङ्गी
न त्यो कतै थ्यो कवै भावभङ्गी ।
गरें तिनैलाई नमस्कार बार् बार्
पुनः नमस्ते छ पुनः नमस्कार ।। ३४