हावा मिठाई र स्रष्टा
तुम्बेहाङ लिम्बू
हावा मिठाई जस्तो
दशवटा फोस्रो वाहवाही भन्दा
बिषालु काँडा जस्तो
एउटा तिखो आलोचना हितकर हुनेरहेछ ।
फोस्रो वाहवाहीको भेलले
बगाएर लगेका आशलाग्दा स्रष्टाहरु
अन्ततः विभ्रमताको खोँचमा जाकिँदारहेछन्
र पत्झडको सिक्रा जस्तो
त्यहीँ मुर्झाएर सुक्दारहेछन् ।
वस्तुतः आलोचना
सर्जक र सिर्जना हेतु भिटामिन रहेछ
तर वर्तमान दलाल पूँजी र कर्पोरेट महाबजारमा
निष्पक्ष आलोचना कस्तुरीको नाभी भएको छ
र कर्पोरेट बजारले बोल लाएको पुरस्कारमा
हामी तँछाड-मछाड गरिरहेका छौं ।
वास्तवमा म आह्वान गर्छु
आलोचना होइन मेरो/हाम्रो सिर्जनामा
हजारौं हजार समालोचना आओस्
तर निस्पक्ष आओस्
सत्यको जगमा उभेर लेखेको
घोच्ने पोल्ने प्रतिक्रिय तुरुन्तै डिलिट गर्ने
लाछी सर्जक नबनौं हामी
समाज र राष्ट्रमाथि कलम चलाउने आँट गरिसकेपछि
आउने आँधी-बेह्री सामु चट्टानसरह उभौं
कसैको साथ नपाए
डाँडामा उभिएको बैशाखे हुरीको एकलो रुखसरह उभौं ।।