हिरोसिमा

दिल भूटानी
बेलडाँगी, नेपाल
त्यतिकै कसैले छोड्छ र !
आफू जन्मिएको देश
एक क्षणलाई मानिलिऊ
कसैले स्वेच्छाले छाड्यो रे
तर रातो-रात हजारौँले छाड्छ र ! देश ।
यसरी हजारौँ हजार
जनता उच्छेद गर्नेले पनि
जनता भुट्नेले पनि
जनता कुट्नेले पनि
हिरोसिमा !
‘अडर अफ राइजिङ्ग सन’ पाउँछ र ?
भो भो खिल्ली नउठाऊ
न्याय माग्ने आवाजहरूको
स्वतन्त्रता सेनानीहरूको।
म पनि भद्दा मजाक गर्छु
हगि ! हिरोसिमा ।
हिरोसिमा!
मलाई त तिम्रो पदक देखेर
खित्का छोडी छोडी हाँस्न मन छ
तर म नाथे शरणार्थी न हुँ
हगि!
ऊ त शासक  हो शासक
जे गरे पनि हुन्छ हगि !
मसँग उसका असङ्ख्य कर्तुतहरू भएर के भो
आफ्नै नागरिकलाई देश छोड्न उर्दी होस्
या निहत्था जनलाई कत्लेआम
उसकै लिङ्गले चिथोरी चिथोरी
साइली मगर र थुक्पावली मारिए पनि
उसकै गोली र यातनाले
मने र गोन्छेनहरु मारिए पनि
हिरोसिमा तिमीलाई के फरक पर्छ र !
जतिसुकै अपराधी भए पनि
ऊ त शासक हो शासक
उसले नै पाउनु पर्छ पदक
होइन र ! हिरोसिमा ।
सोच्नु, नसोच्ने सोच्छु म पनि
उसलाई पुरानो दुर्योधन सोच्छु
उसलाई नयाँ हिट्लर सोच्छु
हिरोसिमा!
म त उसलाई हेगको कठघरा उभिरहेको देख्छु
हैट ! मेरो सपना पनि कस्तो ?
यो दुनियाँबाट न्याय झिकिदिने हो भने त
यो पृथ्वीबाट मानवता फाल्दिने हो भने त
देऊ ! तिम्रो पदक उसलाई नै देऊ !
म जाबोको त्यत्रो तागत कहाँ छ
तिम्रो निर्णय बदल
तर
प्रश्न त उठाउन/उठाइरहन सक्छु नि ?
हैट!
तिम्रो पदकको मूल्य त्यति नै हो नजाने म
उसलाई नै सुहाउँछ त्यो पदक भन्न नसक्ने म
हिरोसिमा म पनि

भद्दा मजाक गर्छु  हगि !!

[Note: थुक्पावली र साइली मगर दुई महिला हुन, जसलाई सेनाले सामूहिक बलात्कार गरेर  क्रमशः ९० र ९१ मा मारेको थियो – कवि ]
कवि भूटानीको फेसबुकबाट साभार – सम्पादक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *