हृदयको दूरी

रमेश गौतम 
नर्वे 

केही दिनदेखि
तिम्रो हृदयको एक कुनामा
चुपचाप लुकेर
तिमीलाई नै हेरिरहेछु
एकोहोरो !

देखिरहेछु
आजकल तिमी हराइरहन्छ्यौ
बेहद उदासीहरूमा !
असीम बेचैनीहरूमा !!

बगैँचामा उडिरहेका
रङ्गीचङ्गी पुतलीहरू देखेर
किन मुस्कुराउँदैनन् तिम्रा मृदुल ओठहरू !
एकान्तमा तिम्रै लागि गुञ्जिरहेको
यो मोहक धुन सुनेर
किन गुनगुनाउँदैन तिम्रो कोकिल कण्ठ !
किन हराएको छ चमक
तिम्रो देदीप्यमान चन्द्रवदनबाट !!
किन अँध्यारो भएको छ
तिमी उभिएको धर्ती !!
किन व्यथित भएको छ
म लुकेको हृदय !!

केही दिनदेखि
यसरी नै टिपिरहेछु
तिम्रो आँखाबाट झर्दै गरेका
मोतीका दानाहरू!

तिमीले एक दिन सोधेकी थियौ-
आफूसँगै हिँडिरहे जस्तो लाग्ने यो सूर्य
किन आफूसँग हुँदैन हँ?
त्यति टाढा बसेर यो सूर्य
किन सबैको हृदय छोइरहन्छ हँ?
मान्छेलाई चलायमान बनाइराख्ने यी गतिशीलताका कुराहरू
मान्छेलाई टाढा बनाइराख्ने अथाह दूरीका यी दुर्दान्त आभासहरू
सबै भावनात्मक हुन् भनेको थिएँ मैँले ।

तिम्रो आफ्नै हृदयमा लुकिरहेको मलाई
किन भेटिरहेकी छैनौ तिमी !
तिम्रै हृदयमा बसेर पनि
किन तिमीसम्म पुग्न सकिरहेको छैन म !
तिमीलाई थप पीडाबोध हुने भयले
किन काँपिरहेछन् मेरा हातहरू
तिम्रा आँसु पुछ्न !

तिमीलाई थाहा छ?
कहिलेकाहीँ
एउटा हृदयदेखि
अर्को हृदयसम्म पुग्न
कैयन् प्रकाश वर्ष दूरी
पार गर्नुपर्दो रहेछ सानु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *