हो म नेपालबाट आएकी हुँ

लेखिका

आचार्य प्रभा
अमेरिका

जब,जब मान्छे आफू आफ्नो ठाउँ,आफन्त वा आफ्नो भूमिबाट टाढिन्छ अनि मात्र ती चिजहरुको अभावमा पिसिएको अनुभव गर्न थाल्छ अनि ती चिजहरुको महत्वको आभाष पाउन थाल्छ | यस्तै पीडामा जोकोहो अल्झिएको हुन्छ शायद | म पनि लगभग आफ्नो भूमिबाट अलग्गिएको चार वर्ष भएछ | आफ्नो देशमा छउन्जेल मलाई आफ्नो देशबारे अर्थात आफ्नो देशको महत्वपूर्ण बस्तुबारे त्यति राम्रो जानकारी हुन सकेन केवल राजनितिक उतारचडाव र आफ्नै जिजीविषाको लागि गरिरहेको संघर्षबाहेक तर जब म अमेरिका भित्रिएँ अनि मात्र मलाई आफ्नो देशको हरेक कुरा अनि झ-झल्कोको पीडाले छोएको आभाष हुन थाल्यो |

अमेरिका भित्रिएको केही समयपश्चात एउटा रेस्टुराँमा जागिर शुरु गरें | त्यहाँ काम गर्दै जाँदा धेरै मनिसहरुसँग भेट्घाटको सिलसिला बड्न थाल्यो | ग्राहकहरुसँग कुराकानी गर्नु पर्ने काम भएकोले उनिहरुसँग कुराकानी हुँदाहुँदै धेरै अमेरिकनहरुले मेरो एशियन अनुहार देखेर प्रश्न गर्दथे | तँ कहाँकी नागरिक होस् ? म गर्वको साथ आफ्नो देश नेपालको नाम लिन्थेँ | कतिले उत्सुक्ताको साथ ”ओह !यु आर फ्रम नेपाल ”भन्थे अनि मलाई प्रश्न गर्थे ”तँलाई पोखरा थाहा छ ? मकालु हिमाल थाहा छ ? लाम्टाङ हिमाल थाहा छ ? नाम्चे बजार थाहा छ ? इत्यादी | म अनुत्तरित हुन्थेँ किन कि हामी नेपाली भएर नेपालकै प्रसिद्ध सम्पत्तिबारे अज्ञात हुनु हाम्रै दुर्भाग्यको कुरो हो र हास्यपद पनि हो | म मौन भएको देखेर उनिहरुले भन्दथे ”तैंले ती ठाउँहरुमा गएर ती चिजहरु हेर्न आवश्यक छ |”

हुन त —हामी सबैलाई चासो नभएर हो वा हामीलाई आफ्नै देशब्यापी जन्जालमा अल्झिँदा नै हाम्रो समयले नेटो काटिसकेको हुन्छ कहाँ त्यस्तो सौभाग्य ? आफ्नो देशको प्राकृतिक सौद्र्यतामा रमाउने ? अनि दुई छाकको जगेर्ना गर्ने आफूलाई सधैं आन्तरिक सोचमा समर्पण गर्दा नै समय चिप्लिसक्छ | कहिले त्यस्तो सुवर्ण अवसर आउने र आफ्नो देशको सारा बस्तुहरुको जानकारी राख्ने वा प्राक्रीतिक सौन्दर्यबारे लेखाजोखा गर्ने ? केवल —राजनैतिक चहलपहलको जानकारी र आफ्नो जिउज्यान जोगाउने ध्यानशिवाय |

यसरी म मूक बन्थेँ आफ्नै देशबाट अल्पपरिचित बनेर अनि आँफैभित्रभित्रै पश्चातापमा दुब्दथेँ | साँच्ची हामी कति निर्लज्ज र कर्तब्यविमुख जनता रहेछौँ जसलाई आफ्नै देशबारे ज्ञान छैन | यस्ता भावनाहरुले पिरोलिन्थेँ वा पिरोलिइरहेकी हुन्छु | अमेरिका यस्तो ठाउँ हो जहाँ औपचारिकता बढी निभाउनु पर्ने जसलाई भेट्यो पारिचित होस् वा अपरिचित ”तिमी कस्तो छौ ”?”कहाँबाट आएको ?” यी प्रश्नहरु भैहाल्छन् यस्तै प्रश्नहरुका क्रममा म धेरैलाई जवाफ दिन्थेँ वा दिन्छु ”तिमिलाई थाहा छ ? मा संसारको सबैभन्दा अग्लो हिमाल भएको देशबाट आएकी हुँ ” भनेर किन कि कत्तिले नेपाल भनेर ठम्याउन सक्दैनन् अनि ”सगरमाथाको देश” भन्दा खुशी हुन्छन् अनि भन्छन् ”ओ ! यु आर ग्रेट | तँ पनि सगरमाथा चडेकी छस् ?”कहाँबाट चड्नु मैंले ? उनीहरुको दिमागमा एउटा के पनि छ भने नेपाली भन्न साथ सगरमाथा चडेको भन्ने अनि कत्तिले निराश हुँदै भन्छन् तेरै देशमा होइन राजपरिवारको विभत्श हत्या भएको भनेर | यस्तै प्रश्नहरुको लस्करभित्र कहिले म अनुत्तरित हुन्छु वा हुन्थेँ कहिले निरस बन्छु वा बन्थेँ |
यस्तै क्रममा म केही समयको लागि आफूलाई अझ सक्षम बनाउन ‘स्प्रिङ्ग इन्स्टिच्युट ट्रैनिङ सेन्टरमा खेइ ज्ञान हाँसिल गर्न भर्ना भए जहाँ अमेरिकन संस्कार अनि कुनै पनि नोकरीको लागि निवेदन गर्न अर्थात काम पाउन के कस्तो तरिका अप्नाउनु पर्छ ? भन्ने विषयमा विदेशीहरुलाई ज्ञान दिइन्छ | त्यस इन्स्टिच्युटमा धेरै देशका नागरिकहरु थिए जसमध्ये सोमालियन, इथियोपियन, रसियन र अन्य देशहरुका थिए ती मध्येमा नेपाली म मात्र थिएं | ट्रेनिङको अन्तिम दिन विशाल बिदाइ कार्यक्रम थियो | सबैले आ-आफ्नो देशको संस्कार, रितिरिवाज, धर्म, चाडपर्वको परिचय दिनु थियो | एउटा ठुलो बोर्डमा आ-आफ्नो देशको झण्डाको तस्बिर बनाइएका थिएँ | म एक्लो नेपाली भए पनि त्यहाँ नेपालको झन्डा पनि थडिएको थियो त्यसमध्येबाट केही बोल्न सक्षम हुनेले आफ्नो समेत् केही परिचय दिँदै मन्तब्य दिनुपर्ने थियो | मेरो पालो आयो | मैंले पनि गर्वको साथ आफ्नो देशको झण्डातिर औँल्याउँदै म यो झण्डाको देशको नागरिक हुँ जुन देशमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ भनेर आफ्नो देशको केही बयान गरें | त्यो दिनमात्र मलाई मेरो देशको झण्डा मेरै सम्पत्ति रहेछ भन्ने आभाष भयो र यसरी आफ्नो देशप्रति गर्वित भएर देशको परिचय र वर्णन गरेको मेरो पहिलो अवसर थियो हुन त नेपालमा धेरै सभा, सम्मेलनमा सहभागी भैयो तर कहिले पनि देशप्रतिको आस्था बोकेर वक्तब्य दिने ठाउँ पाइएन वा अवसर मिलेन केवल कबिता वाचन गर्नबाहेक | कत्तिलाई त्यहिदिन मात्र ज्ञात भयो कि नेपालको झण्डाको आकृति यस्तो रहेछ भनेर | धेरै झण्डाहरुको हूलमा आफ्नो देशको झन्डा पनि देख्न पाउँदा म त्यो दिन अत्तिनै प्रफूल्लित भएं |

यस्तै क्रममा म कोलोराडो डेन्वरको हायतरिजेन्सी होटेलमा जागिरको लागि निवेदन दिन सक्षम भएं | निवेदन सफल हुनेहरुको ओरीएन्टेसन कक्षा सम्पन्न भैरहेको थियो | त्यहाँ पनि विभिन्न देशका नागरिकहरु थिए सबैको अगाडि टेबलमा नेम ट्यागहरु राखिएका थिए जुन ठुला गद्दाद्वारा बनाइएका थिए र सादा थिए | त्यसमा हामी सबै सहभागीहरुले आ-आफ्नो देशको नाम र आफूलाई मन पर्ने चित्र बनाउनु पर्ने थियो | सबैले सोही गरे | मैंले पनि आफ्नो नाम लेखे अनि ठूलो हिमालको चित्र बनाए जुन टाढाबाट पनि स्पष्ट देखिन्थ्यो | सबैभन्दा अगाडिको लाइनमा म थिएँ |

यसै क्रममा होटेलका नाइकेहरु परिचय दिन र लिन त्यहाँ उपस्थित भए परिचयको क्रम शुरु भयो | उनीहरुले परिचय दिएपश्चात हाम्रो पालो आयो तर म के उभिएर बोल्न मात्र लागेकी थिएँ सबैको नजर मेरो हिमालको चित्रमा पर्‍यो | त्यहिबिचमा होटेलका जेनेरल मेनेजरले भने ”ओ ! यु आर फ्रम नेपाल माउन्टएभ्रेस्ट कन्ट्री ?” मैंले हर्षको साथ जवाफ दिएँ ”यस आइ एम् फ्रम नेपाल ”त्यति बेलामात्र मैंले मेरो जन्मभूमिलाई मनभित्र पाएँ |
रचना – २००८

Leave a Reply

Your email address will not be published. Required fields are marked *