‘पत्रकार हौँ’नभनेको भए रामधुलाई खाइन्थ्यो

विद्यापति मिश्र
काठमाडौँ

बडा दशैँको पञ्चमीको रात लगभग दश बजेको थियो । भोलीपल्ट बेलडाँगीमा उदय र मनिला सोताङको भव्य सांगितिक कार्यक्रको आयोजना गरिएको थियो । साथी मनोरथ पोख्रेल र म दिउसैबाट दमकतिरै थियौं । त्यो रात हामी दमकमै बस्नु पर्ने काम थियो । तर, प्रायजसो  साथीभाइको खचाखच् देखिने प्रकाश आंदाम्बेको डेरामा सुत्ने ठाउँ भएन र रात छिपिए पनि हामी बाटो लाग्यौँ । अनि खर्खरे पुगेर एउटा साथीकोमा सुत्ने सल्लाह भयो र अघि बड्यौँ । मैंले चोकको रबीन दाइको पान पसलमा बाइक रोकें । पान खाँदै खर्खरे जाने सुरमा हामी थियौं । मैंले दुईवटा पानको अडर दिएँ । प्रकाशजीको डेरामा जस्तै त्यो पान पसलमा पनि धेरै भीडभाड थियो । तुरून्तै हाम्रो पालो आउलाजस्तो भएन ।

त्यहाँ एउटा अचम्मको दृष्य रहेछ । रविन दाइले बालेको सि.एफ.एल चिममा लाखौँ किराको जथ्था देखियो,एकैक्षण त्यो दृष्य हेरेँ । बडा रमाइलो लाग्यो । गोजीबाट आइफोन झिकेर त्यसको दुई वटा तस्विर खिचेँ । मनोरथजीले पनि आफ्नो मोबाइल झिकेर किराको जथ्थाको तस्वीर खिच्न थाल्नु भयो । त्यतिकैमा कानमा एक्कासी एउटा आवाज आयो ।

“ओए साला, किन फोटो खिचिस् हँ?”

एउटा नशामा चुर्लुम्म ढुबेको जिरिखिम्टे त्यसो भन्दै मेरो नजिक आयो । मातेको मान्छेसंग के लफडा गर्नु भनेर मैंले नम्र स्वरमा बोल्ने सोच बनाएँ ।

“भाइ, हामीले किराको फोटो खिचेको । मान्छेको हैन ।” सोचें, त्यसपछि ऊ चुपचाप लागेर जान्छ होला भनेर । मेरो उत्तर झर्ने वित्तिकै त्यो जिरिखिम्टे अझ नजिक आयो र झन चर्को स्वरमा गर्जन थाल्यो ।

“तँलाई किराको फोटो कस्ले खिच्नु भन्यो? साला, हानीदिऊ? ”

त्यो झम्टेको देखेर होला दुई–तीन जना अपरिचित मानिसहरू पनि जम्मा भए । उनीहरू त्यो केटो विनाकारण झम्टेको तर ऊभन्दा मस्तान देखिने हामी दुबै नम्र स्वरमा बोलेको देख्दा होला चुपचाप रहेर नियालिरहे । त्यसले भने नाना थरी प्रश्न–प्रति प्रश्न गर्न थाल्यो ।

मेरा नम्र तर ठाडो उत्तर सुनेर होला, त्यसले मेरो छाती समात्यो । यतिको उमेर हुँदासम्म कसैले मेरो छाती समातेर धम्क्याको याद थिएन । त्यो जँड्याहा नै ममाथि आइलाग्ने पहिलो प–यो ।

“यसले मेरो छाती त समात्यो । अझै के–के गर्ने हो । यदि, मलाई हिर्काएछ भने मेरो दाइने हातको ह्यालमेटले यसको टाउकोमा बजार्छु र त्यसपछि पुलिस थानातिर जान्छु,” भन्ने मनमनै सोचेँ अनि आफ्नो तयारीमा बसेँ ।

रविन दाइलाई पनि त्यसको व्यवहार असहझ लाग्यो होला ।“अघि नबढ भाइ मान्छे चिन्नु पर्छ, तिम्रो घरबार उठीबास होला नि फेरि,” भन्नुभयो ।

त्यतिकैमा मनोरथजीले “भाइ हामी पत्रकार हौं, तस्विर खिच्न तिमीलाई सोध्नुपर्छ ?” भनेको के सुनेको थिएँ, त्यस जिरिखिम्टेले मेरो छातीबाट उसको हात हटायो । सायद संचार माध्यमको भूमिका राम्ररी बुझेको जँड्याहा रहेछ क्यार । बिस्तारै पछि स–यो र मेरो मुखमा टुलुटुलु हेरिरहयो ।

त्यसको क्षणभरमै अन्दाजी ३५–४० वर्षको हल्का बोके दाह्री पालेको अर्को जँड्याहा मेरो नजिक खडा भयो, सायद त्यो हामीले नदेखिने गरी बसेको थियो होला ।

“तपाईँको क्यामरा ल्याउनोस् त सर किरा कि मान्छे खिच्नु भएछ ।”

जिरिखिम्टेभन्दा अलिकक नमातेको जस्तो थियो यो खान्तलासी गर्ने पार्टी चाहीँ । मैंले सहजै उसलाई सबै तस्बिर देखाइदिएँ । मेरो आइफोन फिर्ता दियो । तर, मनोरथजीले खिचेका तस्बिर भने हेर्ने चेस्टा गरेन ।

“तपाई साँच्चै पत्रकार हो त सर? परिचयपत्र छ ?”

हामी दुबै जना शरणार्थी पत्रकारितामा लागेको एक दशक भएको छ । हामी आँफैलाई ‘पत्रकार हौं’ भनेर हिँड्छौ तर अहिलेसम्म पनि हाम्रो सही पहिचान र परिचयपत्रको खाँचो छ । हामीसंग पत्रकार भएको देखाउने कुनै कागजपत्र नै थिएन । तर पनि मैँले त्यसलाई दरिलो भएर पेल्ने प्रयास गरेँ ।

“हामी पत्रकार नै हौ दाइ । तर, पत्रकारको परिचयपत्र जो भन्यो त्यसलाई देखाउन मिल्दैन ।”

मनमा केही डर भए त पनि त्यस पछि मैँले आफ्नो स्वर अलिक चर्को पारेँ । तर, पनि पत्रकार नै हुन् भन्ने उसको नशालु दिमागले स्वीकार्न सकेन । त्यसपछि, परिचयपत्र नदेखाए पनि दमकका दशजना पत्रकारको नाम भन्न उसले आग्रह ग–यो, मानौ त्यस जँड्याहाले सबै पत्रकार चिन्दछ भनेर । मैंले पनि उसको आग्रहलाई खासै कन्जुस्याइ गरिन । तर, मैंले उच्चारण गरेका रामे, श्यामे….कुन–कुन पत्रकार परे, त्यो भने दैव नै जानून् । मतमग्न नशामा ढुबेको त्यो अर्धबैँसेले अनि बल्ल हामीलाई पत्रकार नै रहेछन् भन्ने उसको परिभाषामा चिन्यो ।

“सर, त्यो भाइलाई मैले तपाईलाई समा भनेर पठाको हो । यहाँहरू सही मान्छे पर्नुभएछ, माफ गरिदिनोस्, मेरो गल्ति भयो” जिरिखिम्टेको नाइकेले बिन्ती बिसायो ।

म एकैक्षण चुप लागें । त्यसले जिरिखिम्टेलाई पनि माफी माग्न लगायो । आफ्नै सहोदर भाइले दाजुलाई माफी मागे जसरी हाम्राखुट्टा छुँदै, “दाइ नरिसाइदिनोस् मेरो गल्ति भयो” भन्न थाल्यो ।

हामी पनि रीस नउठे जसो गरेर “केटा–केटी त्यस्तै हो । यो उमेरमा हामी पनि त्यस्तै थियौं । फेरि दशैँ लागेको छ सबैलाई, बेलाबखत यस्तो भइहाल्छ नि । हामीलाई केही पनि भएको छैन,” भन्न थाल्यौं । कुनै पनि पत्र–पत्रिकामा नलेखिदिनु र भोलिबाट त्यो सबै कुरा बिर्सिदिन उनीहरूको बारम्बारको आग्रह पनि हामीले सुन्यौं । त्यसमा पनि हाम्रो सहमति नै रह्यो । रविन दाइले पनि सोही प्रकारको कुरा गरिदिनुभयो ।

त्यो बेलासम्ममा हाम्रो पान तयार भएछ । मनोरथजीले पानको पैसा दिनलाई गोजीबाट झिक्न लागेको देखेर जिरिखिम्टेले “हामी दिन्छौ दाइ” भनेर बिन्ति बिसायो । तर, नशाको भारी त्यस जिरिखम्टेले पानको बीस रूपैँया तिर्नको सट्टा रक्सी पिउछ होला भन्ने सोचेर क्यार मनोरथजीले नै पानको पैसा दिनुभयो । अनि,  त्यसै घटनाको बारेमा कुरा गर्दै हामी खर्खरेतिर लाग्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *