भिन्नता

  • तुम्वेहाङ लिम्वू

दुःखमान एउटा गरीबको छोरा हो
धनमान एक इज्जतदार मालिक,
दुःखमानको बास सानो गाउँमा छ
धनमान शहरमा राज गर्छ ।
दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ
धनमान त्यसलाई रोमान्स्को आभूषणले श्रीङ्गर्छ
हुन त यी दुवै मान्छे नै हुन्
तर ….
धनमानले गिलासमा सुःखको सेतो दूध पिउँदा
दुःखमानले आम्खोरामा दर्दको रातो फिका चिया पिउँछ
सुःखको सुकिलो कमेज धनमानले लाउँदा
पीडा र चोटले रक्तरंजित भोटो
दुःखमान लाउँछ
डिस्टेम्परले धनमानको घर टिलिक्क हुँदा
रातोमाटोको घुम्टोबाट दुःखमानको घर मुस्कुराउँछ
धनमानको अट्टालिकामा एजिलिया र क्यामेलियाले वैंश पोख्दा
दुःखमानको करेंसोमा लालुपाते रमाइरहेको हुन्छ
फरक यति मात्र हो ……
धनमानको घर बहुतले आलिशान भवन छ
दुःखमानको एउटा चुहुने छाप्रो छ
धनमानलाई बसी-बसी मस्ती गर्न पुग्छ
दुःखमानलाई आजीवन खटेर पनि अभाव सहनु पर्छ
धनमान महिलालाई भोग-विलासको साधन देख्छ
दुःखमान जीवनरथको सहायक पांग्रा सोच्छ
धनमान वैंशको प्यालामा
भावना र कल्पनाको चिकनरोष्ट खान्छ
दुःखमान जिन्दगीको कचौरामा
आँसु र पीरको पिरो सुप घुटकी लाउँछ
हुन त दुवैको शरीरमा रगत रातै छ
यद्यपि दुःखमानको रगतमा सहनशीलता
अनि धनमानको रगतमा अहम् बढी छ
मात्रात्मक हिसाबमा अचेल धनमान अगाडि छ
तर गुणात्मक हिसाबमा दुःखमान धेरै श्रेष्ठ छ
धनमान त वास्तवमा कठपुतलीमात्र हो
संसारको कालिगढ त दुःखमान नै हो
श्रम र शक्तिको अजेय खानी
विकास र परिवर्तनको (मूल) निर्णायक कडी ।।
हाम्रा दुःखमान ।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *