नेपाली नागरिकता भएका एक ‘भूटानी शरणार्थी’
विद्यापति मिश्र
आजभन्दा ठिक छ वर्ष अघिको कुरा हो । नजिकैको रेडियो सेटमा सुमधूर सङ्गीत ‘फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा…’ घन्किरहेको थियो । म भने विछ्याउनामा पल्टेको थिएँ । मेरो मोबाइलको घण्टी बज्यो । मेरो मोबाइल सेटमा आएको त्यो नम्बर अपरिचित थियो । मैले पहिलो कल उठाउन मन गरिन । घण्टी फेरी बज्यो । अनि, मैले रेडियो सेटको आवाजलाई कम बनाएँ, फोन उठाएँ । सानो स्वारमा एकजना नामबाट परिचित तर प्रत्यक्ष भेट नएका व्यक्तिको फोन रहेछ । करिब १५ मिनेट जति कुरा भयो । लगत्तै भोलि पल्ट उनको डेरामा ठिक १० बजे भेट्ने कुरा भयो । मैले अर्जुन प्रधानलाई साथमा लिएर उनको डेरामा आउने पक्का गरेँ । त्यसपछि मैले अर्जुन भाइलाई फोन गरेर भोलीका लागि तय भएको कुराकहानीको बारे जानकारी गराएँ । बिहान साढे नौ बजेतिर बेलडागीबाट दमक झर्ने कुरा भयो । त्यसपछि म सुतेँ ।
भोलिपल्ट विहानै अर्जुन भाइ मेरामा आए । दुवैले खाना सँगै खायौँ । जुवाइको पुरानो आर–एक्स् बाइक केही दिनदेखि मसंगै थियो । त्यसैमा जाने निधो भयो । बाङ्गे बजारबाट दुई खिली पान किनेर हामी पान खाँदै दमकतिर लाग्यौँ । अर्जुन भाइले चलाएको बाइक डा. भम्पा राईको डेरा नजिकै सुंगुरको मासु पसल सामुन्ने पुगेर रोकियो । “दाजु, उत्रनोस् त,” अर्जुन भाइले मलाई भने । म बाइकबाट उत्रेँ । त्यसपछि, सानो बाटोबाट त्यो बाइक नजिकैको काठे घरतिर अगिबड्यो । म पछि–पछि हिन्दै गएँ ।
एउटा आठ–दश जना युवाको जमात त्यस घरबाट बाहिर निस्कियो । अर्जुनका लागि सबै परिचित थिए । सबैले उनीसंग हात मिलाए, अर्जन जुत्ता खुलेर भित्र छिरे । मसँग भने सबैको परिचयको कुरा सुरु भयो । हात मिलाउदै नामभन्दै म अघि बढेँ । “नमस्कार विद्याजी, स्वागत छ यहाँलाई । म प्रकाश आङदाम्बे,” एक जना सोच्दै–नसोचेको चेहेरा भएको व्यक्तिले मलाई भने । “धन्यवाद प्रकाशजी,” मैले पनि तुरुन्तै उत्तर दिएँ । त्यसपछि, हामी प्रकाशको कोठाभित्र छि–यौँ । विश्व विद्यालयको पढाइका लागि किर्तिपुरमा डेरामा बसेका केही साथीभाइको जस्तो डेरा रहेछ प्रकाशको । जतातै किताब र पत्रिकाराहरू । एउटा सानो कोठा, उत्तिनै सानो झ्याल । कोठामा आट्नेभन्दा दोब्बर मान्छे । दुई वटा साधारण पलङ, त्यसमाथि राजधानीका डेरावाल विद्यार्थीको कोठामा झैँ मैलाले कटमरिएका बेडसिट, तकियाहरू । कोठाको एक साइडमा एउटा खुट्टा भाँचिन लागेको कुर्सी । अनि, सेतो रङ्ग खुइलेर कालो हुँदै गएको कोठाका भित्तामा भने केही आकर्षक तथा सुन्दर तस्बिरहरू । क्षणभरमै मैले ती सबै नियाल्न पुगेँ । “मन–मनै प्रश्न गरेँँ, त्यत्रो ख्याती कमाएको साहित्यकारको कोठाको हालत पनि यस्तो?” प्रकाशसंग ठुला–ठुला सहकार्यका योजनाहरू छल्फल् गर्न भनेर त्यहाँसम्म पुगेको थिएँ म । त्यसप्रकारका प्रश्न मेरा लागि स्वाभाविकै थिए । फेरी मभित्रको घमण्ड पनि निकै उचाइमा पुगेको रहेछ क्यारे । “यस्तो मान्छेसंग योजनाका के कुरा गर्ने होला र ?” फेरी आफैँलाई अर्को प्रश्न गरेँ ।
त्यसपछि, प्रकाशको मुख फुट्यो । बिस्तारै उनको आवाजले गति लियो । तर्कहरू एक–पछि अर्कोहुँदै आउन थाले । दर्शन, साहित्य, सञ्चार, कला, रंगमञ्च, फोटोग्राफी, समाज सेवा हुँदै जीवनका बारेमा प्रकाशका कुरा अघिबढे । कोठाका सबै चुप्चापलागेर उनीतिर नियाली रहे । म पनि त्यसो नगरी रहन सकिन । उनको अनब्रत भाषणले मलाई धेरै कुरा सिकाइरहेको मैले बिस्तारै बुझ्न थालेँ । प्रतिभा व्यक्तिको शारीरिक वनावटबाट प्रदर्शित हुन्न भन्ने कुरा मेरा लागि एउटा सुन्दर पाठ सिक्ने मौका थियो । बिस्तारै आफ्नो घमण्डप्रति घृणा बढ्न थाल्यो । प्रकाशका तर्कहरू अघि बढिरहँदा मैले बेलाबेला बोल्ने प्रयात्न गरेँ । “हजुर विद्याजी भन्नु न,” मीठो स्वारमा प्रकाशले मलाई घरीघरी मेरो विचार राख्न अनुमति दिए । आँफैलाई मैले समम्यामित बनाएर प्रतुत भएँ । प्रकाशको सामु मेरा अधिकांश कुराहरू फुस्स्रा भए जस्तो बेलाबेला मलाई भान भइरहेको थियो । समय बितेको पत्तै भएन । दिउसोको तीन बजिसकेको थियो । त्यो दिनको नास्ता त्यही खाएर नियमित सम्पर्कमा रहने बाचा गर्दै अर्जुन भाइ र म शिविरतिर लाग्यौ । “कस्तो छ त साहित्यकार दाजु?” अर्जुनले बाटोमा मलाई प्रश्न गरे । त्यस प्रश्नको मेरालागि ठिक उत्तर थिएन । तर पनि मैले आफ्नो दाहित्व पुरा गरे – “धेरै पहिला परिचय भएको भए राम्रो हुने थियो भाइ । यस्ता मान्छेहरू संसारमा विरलै जन्मन्छन् ।” अर्जुनले पनि मेरो कुरामा सहमति जनाए ।
करिब १५ मिनेटको यात्राभरी मेरो मनमा प्रकाशको एउटा तर्कले सारै छोयो । उनले दुईपटकसम्म दो–याएर भनेका थिए, “म पनि तपाईँजस्तै व्यक्ति हुँ । फरक यही छ मसँग नेपाली नागरिक्ता छ, तपाईसंग त्यो छैन ।” धेरै दिनसम्म प्रकाशको त्यो भनाइले मभित्र ठुलो खुल्दुली मचायो । हुन पनि उनको निकष्र्श सही थियो । भौगलिक परिधि र राष्ट्रिय सिमानाले प्रकाश नेपाली र म भूटानी हुनु परेको ययार्थ छ । प्रकाशको जीवन शैली र आर्थिक अवस्था मेरोभन्दा कुनै फरक छैन । बरु अझ तल होला । नेपाली भूमिमा उनी शरणार्थी बन्न मिल्दैन, तर उनकै भूमिमा म शरण लिइरहेको छु । उनी एक पहिचान सहितको व्यक्ति भएर बाँचेका छन् । म भने पहिचानका लागि लगाइमा छु । र, मेरो पहिचानको लागि उनको सहयोग र सहकार्यको आवश्यकता छ ।
काठमाण्डौको महगो बसाइमा पनि म दाल, तेल र चामल किनिरहेको छु । प्रकाशको डेरामा भने दैनिक जसो शिविरमा उपलब्ध हुने दाल–चामल पाक्छ । मेरा लागि शिविरको छाप्रो अलिक टाढा छ, जुन छाप्रोमा प्रकाश दिनहुँ जसो पुग्छन् । म जस्ता शरणार्थीको कुनै पनि नेपाली भूमिमाथि स्वमित्व छैन् । प्रकाशको पनि हालत त्यसतैछ । प्रकाशलाई सुकुमबासी साहित्यकार भन्दा कुनै फरक पर्दैन ।
परिवार, मनेरञ्जन र व्यक्तिगत जीवनबाट माथि उठेर दैनिक भूटानी साथीभाइको लागि मरिमेट्ने मान्छे नेपाली भूमिमा कोही छ भने, त्यो व्यक्ति केवल प्रकाश आङ्दाम्बे मात्र छ । सयौँ भूटानी साथी–भाइहरूले प्रकाशबाट ‘जीवन जिउनका लागि अति आवश्यक सीपहरू’ सिकारका छन् । त्यसको लेखाजोखा तपाई–हामी भूटानीले गरेको छैन । भविष्यमा पनि गर्ने छनक देखिदैन । मजस्ता सयौँ भूटानी युवाहरूले प्रकाशको डेरामा चिया, खाजा र भात खाएका छन् । अहिले पनि धेरैको बसोबास उनकै डेरामा हुन्छ । खासै भन्नुपर्दा प्रकाशको डेरा एकीकृत (माओवादी) को भातृ सङ्गठन वाइसियलको कार्यलयजस्तै व्यस्त रहन्छ । प्रकाशको वाइसियल जमात चानचुने छैन् । निकै शक्तिशाली छ । उनको सानो डेरामा दर्जनौ भूटानी युवा–युवतीको जम्घट हुनेक्रम अझ पनि जारी छ । शिविर रहेसम्म भोलि पनि यो क्रम चलिरहनेछ ।
पान पसलदेखि सुन पसलसम्म प्रकाशको पहुँच उत्तिकै छ । खल्तिमा पैसा नएकाबेला हजमको सैलुनमा पनि प्रकाशलाई फोन गराएको म आँफैले सुनेको छु । दर्जनौ रात त्यही विताएका भूटानी साथीहरूलाई धेरै महिनासम्म प्रकाशको डेराभाडा तिर्न सक्ने अवस्था नभएको कुरा पनि थाहाँ छ । साथी–भाइ र आगन्तुकलाई सत्कार गर्नमा कहिल्यै पनि पछि नसर्ने प्रकाशले आफ्नो त्यो प्रशम्सनीय कामलाई जारी राखेका छन् । आकल–झुकल उनको डेरामा पुग्ने, धेरै समय उनीसंगै विताउने वा मीठो–मीठो खान पाइन्छ भनेर त्यहाँ धाउने सबै युवाहरू प्रकाशका लागि समान हुन्छन् । युवा मात्र हैन, विद्यालयमा पढ्नेदेखि युवा मैत्री केन्द्रका किसोरीहरू पनि प्रकाशको व्यक्तित्वबाट प्रभावित भएका छन् । उनका डेरामा पुग्दा चिया, नास्ता वा खानको चाँजोपाँजो मिलाउने यिनै युवा–युवती हुन्छन् । भेला भएका सबै केही न केही काममा व्यस्क्त देखिन्छन् । पढ्ने, लेख्ने, सङ्गीत सृजना गर्ने, फेसबुकमा समय विताउनेदेखि जम्मा भएर गफचुट्नेहरू सबै देखिन्छ । त्यहीबिचमा सित्तैमा पाएको खाना पेटभरी ढाडिएर मस्त निदाउनेहरू पनि हुन्छन् । यसरी भन्नुपर्दा प्रकाशको डेरा एक प्रकारको विचित्रको स्थलको रूपमा लिनसकिन्छ ।
पाठकमा यहाँ एउटा भ्रम पर्नसक्छ । प्रकाशले लेखिदिनु भनेर मैले उनको बारेमा लेखेको हाइन । कसैले ‘मेरोबारेमा लेखिदे’ भन्दा खुरूक्क मान्ने मेरो स्वाभाव पनि छैन । फेरी आँफैलाई पत्रकार भनेर अरूलाई चिनाउन रूचाउने मेरो पेशागत धर्म पनि होइन । शीर्षकले जनाए झैँ प्रकाशलाई ‘भूटानी शरणार्थी’ भन्ने मेरो कुनै अधिकार पनि छैन् । यो परिस्थितिले जन्माएका दुई अलग राष्ट्र भएका भूटानी र नेपालीको सम्मिलन र सहकार्यको यथार्थ मात्र हो । र, अझ स्पष्टरूपले भन्दा ‘म पनि नेपाली नागरिक्ता भएको भूटानी शरणार्थी हुँ’ भन्ने प्रकाशको भनाइले कुनै पनि मानिसलाई भौगोलिक सिमानाले मात्र अलग बनाएको हुन्छन्, अन्य हिसाबले सबै उस्तै हुन्छन् भन्ने कुरा बुझाउछ । रमाइलो कुरा त हामीलाई झापा र मोरङका हजारौँ नेपालीले ‘यी खान नपाएर भूटानबाट नेपालपसेका भतुवाहरू’ भनिरहदा, ‘म पनि तपाईँ जस्तै शरणार्थी हुँ’ भन्ने प्रकाशजस्ता मान्छे कहाँ पाउनु र । यहाँ, उनको महानताको कदर गर्नै पर्नेहुन्छ । अरूले नगरे पनि म चाहिँ पक्का गर्दछु ।
प्रकाशलाई राम्ररी थाहा छ उनी नेपाली हुन भनेर जसरी म ‘भूटानी हुँ’ भनेर हिँडेको छु । म भोलि पनि भूटानी नै रहन्छु । उनी नेपाली नै रहनेछन् । राष्ट्रियता भनेको किनेर परिवर्तन हुन्न । नत्र, नेपाली नागरिक्ताका लागि मोटो रकम लगानी गर्ने सयौँ भूटानी शरणार्थीहरू किन ‘भूटानी’ नै भएर पुनर्वाशमा गए? त्यस्तै नागरिक्ता किनेकै कारण हाल कारागार जीवन विताइ रहेका प्रिय मित्र जितेन मुस्कान पनि भूटानी नै हुन, नेपाली हैनन् । यहाँ बुझ्नु पर्ने कुरा के छ भने पैसामा किनेको पराइको देशको राष्ट्रियताले कुनै पनि मानिसलाई पूणरूपमा त्यस देशको नागरिक वनाउदैन । तर, प्रकाशसंग जोडिएको र धेरैलाई थाहाँ नभएको एउटा कुरा चाहिँ यहाँ भन्नै पर्नेहुन्छ । उनी भूटानी शरणार्थीका ‘जुवाइ’ बन्ने कुरा पक्का–पक्की भएको छ । अब उनी असल मित्र मात्र हैन, ‘असल मित्र–जुवाइ’ बन्दैछन् । निस्स्वार्थ सेवा र सहकार्यका लागि ‘प्रकाशजी’ लाई बधाई ।
बिधापती जी . तपाइँको कुराले म आफुले आफैलाई फर्केर हेर्दैछु, के म तपाइँहरुको प्रसंसाको लायक छु, जे होस् धन्यबाद
I agree with your fine article vidyapati sir,he is such and extra-ordinary multi-talented personality of the human kingdom i have ever met in my life.
बिध्यपति जिउ को भनाइमा सत्यता छ,तर यहाँ आउने धेरै योउङ्ग पुस्ताहरुमा एउटा भ्रम अझै छ, उनीहरु आफुलाई भुटानी भन्नु भन्दा नेपाली नै भन्न रुचाउछन. सत्य के हो भने,कुनै देसको नागरिकता नभएका पुस्ताहरु को राष्टियता आफ्ना बाबा आमाको जे हुन्छ उनीहरुको पनि तेही नै हुन्छ.
म पार्काश सिर लै सदै भरि समान गर्छु ,हे इस रेअल्ल्य ग्रेअत गुय्स,एंड अल्वाय्स चोम्मित्तेद तो चोन्त्रुबितुएद फोर भुतानेसे सोचिएत्य .
राम्रो लेखनको र प्रवृति परिचयको यो मेलो मलाई रमाइलो लाग्यो | तर मलाई लाग्छ यो केवल व्यक्ति प्रसंसा मात्र होइन होला |
बिद्या जी सचाई मन् छुने लेख्नु भएको छ ……जब सम्म यो संसार लै पर्खाल ले टुक्रा परिन्छा तब सम्म हामी सबै मनुस्य जाति लाई येही पिडा भोग्नु पर्छ …………..तर दुख नमन्नुस एक दिन यो संसार एक हुनेछ आशा गरौ…………..
विद्या दाजु,
प्रकाश आन्देम्बे जी लाई सारै मजाले चिनाई भएकोमा मुरी मुरी धन्यबाद! साथै प्रकाशजी जस्ता महान व्यक्ति प्रति मेरो हार्दिक नमन!