टुक्रिएको सपना

धर्मेन्द्र तिम्सिना “क्षितिज”- अमेरिका

कथाकार
कथाकार

असरल्ल भुइँमा छरिएका प्रमाणपत्रहरुलाई समेट्दै एउटा प्लास्टिकको पोकामा राखेर रमेश आज पनि काममा हिँड्यो । सानो छँदा धेरै जेहेन्दार अनि मिहिनेती भएकाले सधैं विद्यालयमा धेरै अंक ल्याएर प्रथम हुँदै सबैभन्दा अगाडि हुने गर्दथ्यो । गुरुहरुको प्रिय शिष्य अनि विद्यालयका अतिरिक्त क्रियाकलापहरुमा सधैं उसको नाम अगाडी आउँने गर्दथ्यो ।

उसले कक्षा १० को फलामे ढोका एसएलसि सकेर उच्च शिक्षा पनि विज्ञान विषयमा डिग्री सम्म गर्यो ।

अब उसको लक्ष्य भनेको डाक्टर बनेर बिरामीको सेवा गर्नु थियो । यहि सपना बोकेर, आफ्नो सपना साकार पार्नलाइ तेस्रो देश पुनर्स्थापना भएर अमेरिका आउने निर्णय गर्यो । सानो झुप्रोमा कष्टकर जिन्दगी बिताउनुपर्दाको पीडा सम्झिँदै उसले शरणार्थी जस्तो दयनीय जीवनबाट मुक्त भएर एउटा स्वतन्त्र नागरिक भएर बाँच्ने निर्णय गरी सन् २०१० मा आइओओएमको सहयोगमा पुनर्स्थापना भई अमेरिका आइपुग्यो ।

अनौठो ठाउँ, अनौठा मान्छे, अनौठो रहनसहन, अनौठो संस्कार अनि अनौठो परिवेशमा आइपुगेको रमेशलाई सुरुसुरुमा यहाँको समाजमा घुलमिल हुन धेरै गाह्रो भयो । चारैतिर रंगबरिंगका मान्छे । कोही हाइ ! भन्ने गर्दथे अनि कोही ह्वेलकम टू अमेरिका भन्थे । दुईचार दिनमा उसले उजस्तै पुनर्स्थापना भएका भूटानीहरुलाई भेट्ने मौका पायो अनि एउटा आफ्नै पीडा बोकेको परिवारसँग बस्न थाल्यो ।

आफ्नो सपना साकार पार्न भोलिपल्ट कलेज जाने निर्णय गरेर ओछ्यानमा ढल्किएको मात्र थियो । एउटा छिमेकी साथी एकैछिन बजार जाउँ न भन्दै आएपछि त्यो साथिसँग रमेश बजारतिर लाग्यो । बजार पुगेर सौदा किन्दै गर्दा एउटा सानो लगभग दुई वर्षको नानी मम् मम् भन्दै रुँदै उसको अगाडि आएर लड्यो । त्यो सानो बच्चा लडेको देखेपछि रमेशले मन थाम्न सकेन अनि त्यो बच्चालाई उठाएर बोक्यो अनि “स्टप क्राइङ” भन्दै बजारमा उसका बाबा आमा खोज्न थाल्यो । करिब पाँच मिनेटपछि एकैचोटि उसलाई आएर पुलिसले समातेर हतकडी लगायो । विचरा ! रमेशलाई किन हतकडी लगाइयो भन्ने कुराको पत्तोसम्म भएको थिएन । पछि थाहा भयो उसमाथि त्यो बच्चाका बाबाआमाले बच्चा चोरीको आरोप लगाएका रहेछन् । अमेरिकाको कानून अनुसार कसैको बच्चालाई अनुमतिबिना छुन पनि पाइँदैन । यहि भयो रमेशलाई पनि ।

रमेशले आफू निर्दोष भएको र एकचोटिलाई माफ दिन हज्जारौं विनती गर्यो तर, उसको केही लागेन । अन्तमा अदालतले तीन वर्षको जेल सजाय सुनायो । विचरा रमेशको जेल जानुबाहेक अरु कुनै उपाय नै थिएन । तीन वर्षको जेलपछि उ सन् २०१३ मा जेलमुक्त त भयो तर, अहिलेसम्म आफ्ना सपनाहरुलाई सपनामै सीमित राखेर जिउन बाध्य छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *