तुम्बेहाङ्का कविताको सन्दर्भ 

शिवलाल दाहाल 
केन्टकी, अमेरिका
(कवि तुम्बेहाङकाे अक्षरहरूकाे ध्रुवीकरण कवितासंग्रहकाे विमाेचनमा राखिएकाे मन्तव्यकाे पूर्णपाठ जस्ताकाे तस्तै यहाँ प्रस्तुत गरिएकाे छ -सम्पादक)

कतिवटा वसन्त बितिसकेपछि
फेरि म अतीतको प्राङ्गणमा आएँ
न मन लाग्दै पनि चोरेर अलिकति
एउटा दिव्य सयपत्रीमा नजर लगाए ।
…………………….. 

कति वटा वसन्त बितिसकेपछि
फेरि म अतीतको प्राङ्गणमा आएँ
दलित शोषित बिचरी सयपत्रीलाई
अझ पनि-
भग्न पर्खालको माझमै पाएँ ।।
 (भग्न पर्खालको सयपत्रीबाट) 

दुई दशकभन्दा अघि कविले देखेको यो रूप र अहिलेमा के फरक छ ? उबेला भत्केको देश, समाज र प्रकारान्तमा देशविहीन भएर मानिसले बाँच्नु पर्दाको पीडा र अभिघातको मापन गर्न सक्ने केही कुरा छ ?  

भूटानको सन्दर्भमा सन् १९९० इतिहासको एउटा निसाना हो । त्यसवर्ष उत्कर्षमा पुगेको राजनीतिक तरङ्गले इतिहासको बाटो बदलिदियो । त्यहीँबाट देशको झण्डै एक चौथाइ जनता देश बहिर्गमनमा पर्यो, उत्छेदित भयो । यद्यपि त्यो राजनीतिक भूकम्पले उत्पन्न गरेका पराकम्पहरू अझै पनि थामिएका छैनन् । वास्तवमा सन् १९९० को प्रजातान्त्रिक आन्दोलन नेपालीभाषी भूटानीहरुप्रति लक्षित पक्षपाती नीति–नियम, लामो समयदेखि राज्यसत्ताले गरेको अन्याय र विभेदपूर्ण व्यवहारको परिणति थियो । यो नै भूटानमा परिवर्तनका लागि चलाइएको पहिलो संघर्ष पक्कै थिएन । खास गरी भारत, ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएसँगै भूटानमा पनि परिवर्तनका लागि संघर्षहरू चालिएका थिए । ती सङ्घर्षहरूलाई सम्बोधन गर्न केही सुधारका कामहरू भए, जस्तो कि सन् १९५४ मा संसद्को स्थापना । त्यसो त सन् १९९० को एक दशकपछि भूटानमा तथाकथित प्रजातन्त्र पनि घोषित छ । तर त्यहाँ राज्यले चालेका यस्ता कदमको श्रेय जनताले चलाएका सङ्घर्षलाई होइन राजाको निगाहलाई जान्छ । फेरि भूटानसँग भूटानमात्रै छैन, भारत पनि छ । भूटानको सुरक्षा, आर्थिक र परराष्ट्र नीतिमा भारतले प्रत्यक्ष प्रभाव र सरोकार राख्छ, साझेदारी गर्दछ । यस अर्थमा भूटानलाई भारत निरपेक्ष राखेर हेर्न मिल्दैन । 

सन् १९९० को आन्दोलनपछि जनताको न्याय, स्वतन्त्रता र मुक्तिका लागि निर्भीकताका सात काव्यिक वकालत गर्ने तुम्बेहाङ् कान्तिकारी र विद्रोही कवि हुन् । उ बेला तुम्बेहाङ्मा रिस थियो, आवेग थियो, क्रान्ति र विद्रोहको रन्को थियो । उनले कवितालाई जनतामा जोस, जाँगर र शौर्यको भावना जागाउन र नेतृत्वलाई पनि हौस्याउने र सुर्याउने साधनको रूपमा लिए । तर बिस्तारै आन्दोलन हराउँदै गयो, नेतृत्व पनि सेलाउन र पलायन हुन थाल्यो । त्यसैले उनले नेतृत्व र जनता दुवैलाई कर्तव्य सम्झाउन थाले, असन्तुष्टि र विद्रोहको वाणले घोच्न थाले । एक प्रकारले तुम्बेहाङ्ले भूटानको राज्य व्यवस्था, त्यहाँको शासन सत्ताभित्रको शोषण, दमन र विभेदको पर्दा उघारेर बाहिर ल्याए कवितामार्फत । यो एउटा नदेखेको, नलेखेको, नदेखाइएको भूटानकाे राजनीतिक तर काव्यिक आविष्कार थियो ।  

रित्तो टिन र ढुङ्ग्रो टकटकाएर
खटनको खुराकमा बाँच्नुपर्दा
तिम्रो पेटले स्वअधिकार खोजेन तिमीलाई
आफ्नो खून र पसिनाले भिजेको माटोमा
भर्खरै श्रद्धाञ्जली दिएर आ’को शिशुको यादले
कुनै दिन पनि स्वदेश फिर्ने अधिकार मागेन तिमीलाई
(नत्र सयौँचोटि थुक्ने छ तिमीलाई)बाट 

अहिले हामी कहाँदेखि कहाँसम्म आइपुग्यौँ ?
सारा देश, माटाे र घरबार लुटिएकाे यथार्थता के अहिले नै विलयन भइसक्याे त ? नागरिक हक, स्वतन्त्रता र मानवीय मूल्यका लागि गरिएकाे संघर्षकाे कुनै आैचित्य नै थिएन / छैन त ? अरूकाे भाेलिका लागि आफ्नाे आजलाई उत्सर्ग गर्ने याेद्धाहरूकाे बलिदानकाे कुनै स्थापत्य नै छैन त ?  तुम्बेहाङ्का कविताले त्याे देशमा भएकाे अन्याय, शाेषण र दमनकाे विरूदमा उठेका स्वतन्त्रता र न्यायकाे खाेजीका निम्ति चलेकाे संघर्षकाे लिग्यासी (विरासत) खाेजेका छन् । न्याय र सुनुवाइ बिना समाधिस्त भएकाे इतिहासकाे खाेजी गरेर तुम्बेहाङ्ले एक चाेटी विगतलाइ काेट्याउने प्रयात्न गरेका छन् । भूटानी आन्दाेलन जन्मेदेखि नै चेतना र नेतृत्वकाे अभाव अनि बाैद्धिक चिन्तनकाे रूग्णताबाट ग्रसित छ । जसरी तिब्बतीहरूले देश खाेसिएकाे ६० वर्षसम्म पनि अन्तराष्टिय स्तरमा वैचारिक आन्दाेलनलाई निरन्तरता दिइरहेका छन्, त्यसताे गर्न सक्ने बाैद्धिक क्षमता र अग्रसरता हामी कहाँ छैन कि भन्ने लाग्छ । अथवा भएर पनि त्यसपटि काम गर्ने इच्चा शक्ति हामी कहाँ छैन कि ?
एक थरी देशमा परिवर्तन ल्याउनका लागि संघर्षमा हाेमिएका मान्छेहरू ३० वर्षसम्म कालकाेठरी भित्र जीवनकाे  भिक्षा मागिरहेका छन् । एक थरीले तेस्राे देशलाई हाम्राे गन्तव्य हाे भन्न थालेका छन् । तुम्बेहाङ्का कविता यही त्रासदीक समय, यथार्थ र कटुतापूर्ण भाेगाइहरूका साक्षी हुन् । हारेकाे इतिहास र नसर्माएकाे वर्तमानका शाब्दिक चित्र  र बिम्ब हुन् ।
उनकाे लेखनमा एक प्रकारकाे चिन्तन र विचारकाे प्रधान्यता छ- शुरूदेखि अहिलेसम्म नै  । त्याे चिन्तन भनेकाे माक्सर्वादी दृष्टि हाे । कवि तुम्बेहाङ्मा, उ बेलाको क्रान्ति र परिवर्तनको धाेकाे र धङ्धङे अझै पनि मेटिएको छैन ।  तुम्बेहाङ् भित्रको न्याय, मुक्ति र परिवर्तनको आकांक्ष कुण्ठित त भएकाे छ नै, तर मरेको छैन । भग्न पर्खालकाे सयपत्रीमा उनले विश्व इतिहास र क्रान्तिका याेद्धाहरूलाई आलम्बनकाे रूपमा ग्रहण गरे पनि अधिकांश कवितामा भूटानकाे राजनीतिक घटना, देशकाे निरङ्कुश शासन व्यवस्था र मानव अधिकारकाे हननका सन्दर्भहरूलाई काव्यिक स्वरूप दिएका थिए । ती कवितामा नारा पनि थियाे  र लालीत्य पनि थियाे । पछिल्ला दुईवटा कृतिका कविता चाहिँ अलिक सांकेतिक, पराेक्षा र बिम्बपरक छन् । तर उही वैचारिक धरातलमा उभिएका छन् , उही न्याय, स्वतन्त्रता र वर्गीयमूक्तिको अभिष्ट बाेकेर हिँडेका छन् । उनी निरङ्कुशता, अकर्मणीयता र भाेकका विरूद कविताकाे मसाल लिएर निस्कन्छन् ।
तुम्बेहाङ्का कवितामा राजनीतिक चेतना र अग्रगामी समाजिक रूपान्तरणकाे दृष्टि छ । उनले  सामाजिक विसङ्गति र राजनीतिक बेइमानीलाई आलाेचनात्मक  ढङ्गले  प्रस्तुत गरेका छन् । व्यङ्ग्यात्मकता, कटाक्ष र तार्किकता उनका काविताका  विशेषता हुन् । एउटा उदाहरण –

 सन् १९९० मा
कुन ब्राण्डकाे मदिरा पिलाउनुभाे मालिक ?
घरेलु  कीरा परेकाे निघार ?
कि छिमेकीले बक्सिएकाे उपहार ?
यत्तिका साल बितिसके
तर, त्यसकाे ह्याङ्ओभरले न मलाई छाड्याे !
न हजुरलाई !
यस धङ्धङी मेटाउनलाई
यस्साे, हल्का लाउँ कि, एक ट्वाक फेरि ?लागिरहेछ हरदम
       (ह्याङओभर)बाट
राष्टियता, इतिहास र भूगाेल विश्वका अन्य साहित्यमा आए जस्तै नेपाली साहित्यमा अनेक प्रकारले आएकाे छ, सम्प्रेषित भएकाे छ । भारतीय नेपाली साहित्यमा पनि त्याे आएकाे छ । भूटानी सजर्कहरूमा पनि त्याे नआउने कुरा भएन तर भूटानलाई वास्तविक रूपमा भाेगेर, बुझेर लेख्नेहरू अत्यान्तै कम छन् । त्यसमा तुम्बेहाङ् एक हुन् । याे कवितासंग्रह पढ्दा त्यसकाे अनुभूति हुन्छ, कतिपय सन्दर्भहरू आम पाठकले बुझ्न पनि सक्तैनन् कि भन्ने लाग्छ । भूटानमा प्रयाेग हुने जाेङ्खा भाषाका शब्दहरू, स्थान र तथ्यहरूकाे प्रयाेगले नेपाली साहित्यका आम पाठकलाई फरक भूगाेलका कविता पढेकाे अनुभूति दिने छ । याे स्थानीयताभन्दा पनि पृथक पहिचान हाे ।
तुम्बेहाङ्का कविताकाे उद्देश्य चेतनाकाे विस्तार हाे । चेतनाकाे विस्तार गरेर नै जनमत तयार हुन्छ र त्यसबाट नै परिवतर्नका लागि संघर्ष हुन् सक्छ । अन्याय र विभेदमा पर्नेहरूलाई कसरी हामी माथि अन्याय र विभेद भइरहेछ भन्ने कुरा थाहा भएन भने त्यहाँ कसरी परिवर्तनका लागि संघर्ष हुन सक्छ ? सन् १९९० काे भूटानकाे आन्दालन एउटा आकस्मिकता जस्ताे थियाे,न जनता जागरूक थिए न नेतृत्वमा राजनीतिक ज्ञान र अनुभव थियाे । त्यसलाई सरकारले पूँजीकृति गर्दै आन्दाेलनमा संलग्नहरूलाई ङाेलाेक्पा (देशद्राेही) काे रूपमा परिभाषित गरेर अन्य समुहलाई सत्ता अनुकुल प्रयाेग गर्याे । भूटानकाे समस्या एउटा मात्रै समुदाय वा वर्गकाे हाेइन । त्यहाँ त ‘एक राष्ट्र एक जनता’ नीति अन्तर्गत  सार्छाेप्पाहरू, डाेयाहरू, बाेराेक्पाहरू पनि अन्याय र विभेदमा परेका छन्  । त्यसकारण सबै समुदाय, जाती र वर्गकाे सहभागिता र जागरूकताबाट मात्रै भूटानमा आमुल परिवर्तन सम्भव हुन्छ भन्ने दृष्टिकाेणले कविकाे राजनीतिक सुझबुझ र सचेतालाई देखाउँदछ । ओवाई लेबे’, ‘ङालुङ फूल’ जस्ता कविताले यस कुरालाई देखाउँदछन् ।
तुम्बेहाङ कसरी सामान्य कुराहरूलाई पनि कविताकाे फरक वैशिष्टाय दिन सक्छन् भन्ने कुरा ‘लुताे र कनाइ’, ‘खाेरेँत’ ‘ट्याटु’ जस्ता कविताले पुष्टि गर्दछन् ।  

मेराे देशकाे भविष्यकाे निधारमा
पाखुरामा, नाडीमा, ढाडमा, छातीमा जताततै
चार, पाँच, सात नम्बर आदिकाे ट्याटु खाेपिदिएपछि
ट्याटुकाे जमानामा सित्तैमा ट्याटु पाएर
फुरूक्क भएकाे फुच्चेजस्ताे
कति विघ्न रमाउन सकेका हाेलान्
यस श्रापित माटाेका ट्याटुवालाहरू
(ट्याटु)बाट  

अघिलाे कविता संग्रह भग्न पर्खालकाे सयपत्रीमा समावेश भएकाे ‘त्यही दमित जनता’बाट एउटा पङ्ति –

तिमी जस्तै, अन्यायले पिल्सिएकाे
अत्याचारले लत्किएकाे
म पनि चाककाे पिलाे त हूँ’
तुम्बेहाङ्का कविता बिम्ब र प्रतीकमय छन् । बिम्बका स्राेत अनेक छन् -इतिहास, भूगाेल, पुराकथा, राजनीति, समाज र भाेगाइहरू । धेरै जस्ताे बिम्बहरू चाहिँ भूटानकाे राजनीति, इतिहास र भूगाेलबाट आएका छन् । चाख लाग्दाे कुरा चाहिँ के छ भने उनी जता छुँदा पनि भूटानलाई छुन र छाम्न पुग्दछन्, कहिले माटाेकाे मायाले भिजेर, कहिले सत्ताकाे राफले पिराेल्लिएर, कहिले परिवर्तनकाे आकांक्षले  बिथाेलिएर त कहिले अतीतकाे घाउकाे डाहाले आहत भएर । सारमा भन्नु पर्दा उनका कविता ‘भूटानमय’ छन् -प्रयाेगले, भावले र विस्तारले ।
तुम्बेहाङका हरेक कविताका बारेमा चर्चा गर्न सकिन्छ । तीनकाे छुट्टै विशेषता र अर्थ छ तर त्यसाे गर्नु मेराे उद्देश्य हाेइन । यहाँ मैले उनका कविताकाे सार मात्र खाेज्न खाेजेकाे छु । एक एक कवितालाई पढ्ने, हर्ने, बुझ्ने र मुल्याङ्कनकाे तराजुले मापन गर्ने काम पुस्तक पाएपछि पाठकले गर्ने नै छन् भन्ने लागेकाे छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *