घर

शिवलाल दाहाल
केन्टकी, अमेरिका

तिमी त्यही सिकुवाको डिलमा बसेर
हेरिरहेका थियौ
पश्चिम आकाश र थाँदोखा डाँडो
जहाँबाट भरखरै भागेर कोही गएको थियो
खेत बारीभरि बेग्रल्ती शीतका दानाहरू बिच्छ्याएर
उही झुप्रे पुरानो घर
तर अलिकति रङले पोतिएको छ
रातो माटो र कमेरोले

आँगनका डिल-डिलमा मनमोहक फूल फुलेका छन्
सयपत्री र मखमलीहरू
तिहारलाई भाकेर

तिमीलाई ढुङ्गाको गाह्रे घर बनाउने खुब रहर थियो
तिमीले घर बनाउन भनेर
फुटाएर राखेका ढुङ्गा अहिले पनि पानीधारा छेउमा
उसै पल्टिरहेका छन्
उही आकाशका ताराहरू हेरेर

अब त संसारको भोग गरिसक्न लागेँ
म पनि उतै आउँला
तिमी सक्दो ताराहरू बटुली रहनु
अनि बनाउँला उतै एउटा गाह्रे घर

हेरौँला उसी गरी आँगनका डिलमा बसेर
पश्चिम आकाशमा अस्ताएको जून
र थाँदोखाको डाँडाबाट बिस्तारै खस्तै गरेको
बिहानको घामका रोगनहरू

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *