अदृश्य रेखाहरू

 

पदम विश्वकर्मा
कोलोराडो, अमेरिका

कुनै नक्सामा नदेखिने
तर मनहरूमा कोरिएका
ती अदृश्य रेखाहरू—
हामीलाई छुट्याइरहेका छन्।
एउटै सूर्यको उज्यालो,
तर झ्यालहरू फरक–फरक,
कतै पर्दा खुलेका,
कतै उज्यालो छिर्नै नदिने।
एउटै आकाश मुनि
उडिरहेका चराहरूले
कहिल्यै सोधेनन्—
“तिमी कुन जातका हौ?”
बगिरहेका नदीले सोधेनन्
तिमी कुन जात हौ भनेर
हावाले पनि सोधन
तिमी के थरी भनेर !
तर भुइँमा टेकिएका पाइतालाहरूलाई
सिकाइएको थियो—
कुन बाटो हिँड्ने,
कुन ढोकामा रोकिने।
धाराको पानी
ढुङ्गाहरूबीच बाँडिएको,
कतै तीर्थ भनिएको,
कतै स्पर्शले नै अपवित्र।
एउटै रूखका पातहरू,
तर हावाले छुट्याएर
कसैलाई हरियो,
कसैलाई बिटलो बनायो ।
कसैले बनायो नियम—
माटोभन्दा ठूलो,
मानवता भन्दा कठोर,
र सत्यभन्दा अन्धो।
तर समय—
त्यो मौन विद्रोही,
बिस्तारै मेट्दैछ
ती रेखाहरू।
एउटा बच्चा
रेखाको अर्थ नबुझी
दुवै पारि खेल्न थाल्यो,
र त्यही खेलमा
सीमाना हराउँदै गयो।
अब,
हावाले बोकेको सुगन्ध
सबैतिर फैलिन्छ,
र उज्यालोले
कसैलाई छान्दैन।
शायद,
एक दिन—
यी अदृश्य रेखाहरू
पूर्णतः हराउनेछन्,
र हामीले महसुस गर्नेछौं—
रेखा कहिल्यै थिएनन्,
हामीले मात्र कोरेका थियौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *